गृहपृष्ठ विविध नक्कली नोट छाप्ने प्रचलन थिएन, चलचित्रमा यसरी देखाइन्छ पैसाको बन्डल

नक्कली नोट छाप्ने प्रचलन थिएन, चलचित्रमा यसरी देखाइन्छ पैसाको बन्डल

प्रकाशित मिति:

चलचित्र निर्माता माधव वाग्ले २ करोड ५२ लाख रुपैयाँ नक्कली नोटसहित बुधबार पक्राउ परे । यो घटनाले चलचित्र क्षेत्रलाई नै तरंगित तुल्याएको छ ।

निर्माता वाग्लेले प्रहरीसँगको बयानमा आफूले चलचित्र ‘चङ्गाचेट’का लागि यो नक्कली नोट छाप्न लगाएको बताएका छन् । चलचित्रमा ३ करोडभन्दा बढी रकम चोरिएको दृश्य देखाउनुपर्ने भएकाले नक्कली नोट छाप्न लगाइएको उनको दावी छ । चलचित्रका लागि नक्कली नोट ४ वटा प्लेटमा छापिएको छ । तर, नोट छाप्नका लागि कतैबाट पनि अनुमति लिएको देखिदैन ।

यस सम्वन्धमा निर्माता संघले एक विज्ञप्ति जारी गरी वाग्लेको बचाउ गरेको छ । विगतमा पनि धेरै पैसा देखाउनुपर्ने दृष्यमा यसैगरी नक्कली नोट छापिने गरेको उक्त विज्ञप्तिमा उल्लेख छ । तर, चलचित्रमा यसरी पैसाका बन्डल देखाउन नक्कली पैसा छाप्नुपर्ने वाध्यता हुँदैन । विभिन्न उपायबाट यस्ता नोटको बन्डल देखाउने गरिएको अभ्यास छ । हामीले केही चलचित्रकर्मीसँग यस्ता दृष्य कसरी छायांकन गरियो भनेर बुझेका छौं ।

विगतमा पनि यसैगरी नक्कली नोट छापिन्थ्यो भनेर दावी गर्ने निर्माता रोज राणाले आफ्नै चलचित्र ‘दादागिरी’को एउटा गीतमा बारमा पैसा उडाउने दृश्य खिचेका थिए । तर, त्यसका लागि उनले नक्कली नोट बनाएका थिएनन् ।

उनी भन्छन्, ‘हामीले, सो दृश्यका लागि केही पैसा फोटोकपी गरेका थियौ । सादा कागजमा हजारको नोटको एक साइडको फोटोकपी गरेका थियौ । जसलेगर्दा, एक साइड पैसा जस्तो देखिएतापनि अर्को साइडमा केही पनि हुदैन । चलचित्रका लागि यति नै काफी हुन्छ ।’

चलचित्र ‘जात्रा’मा एक बोरा पैसा खन्याएको दृष्य छ । यत्रो, पैसा देखाउनका लागि के गरिएको थियो ? चलचित्रका निर्माता तथा प्रोडक्शन म्यानेजर यादव भट्टराइले भने-‘हामीले २ सय पिस पैसा फोटोकपी गरेका थियौ । सक्कली पैसाको फोटोकपी एक साइड मात्र गरेर माथि-माथि राख्यौ । तल, सबै कागजहरु राखिएको थियो । चलचित्रको छायांकन सकिएलगतै हामीले जलाएर नष्ट गर्‍यौ ।’

चलचित्रमा थोरै पैसा देखाउनु छ भने सक्कली नै देखाउने गरिएको र धेरै देखाउनु छ भने फोटोकपीको सहारा लिने गरिएको भट्टराइले बताए । यस्तै, धेरै चलचित्रमा प्रोडक्सन डिजाइनर भएर काम गरिसकेका अनन्त तिमिल्सिना भन्छन्-‘ हजारको नोटको फोटोकपी गरेर त्यसकै साइजमा काटिन्छ । त्यसपछि, माथि त्यो पैसा राखेर तल कागज राखिन्छ ।’

चलचित्रमा धेरै पैसा देखाउनु परेमा हजार र पाँच सयका नोटको फोटोकपी गरेर देखाउने प्रचलन थियो । तर, यसपटक चलचित्र ‘चङ्गाचेट’का लागि भने निर्माता माधव वाग्ले र उनको टिमले सक्कली नोट जस्तै देखिने पैसा छाप्न किन लगाए भन्ने प्रश्न उठेको छ । त्यसमाथि सबै नोटहरुमा ‘नक्कली’ नलेखिएकाले पनि वाग्ले फँसेका छन् ।

निर्देशक भन्छन्, मेरो आइडिया होइन
चलचित्रका कुन दृष्य कसरी खिच्ने भन्ने निर्देशकको हातमा हुन्छ । तर, ‘चंगाचेट’का निर्देशक दिपेन्द्र के खनालले नक्कली पैसा छाप्नेबारे आफूसँग सरसल्लाह नभएको बताए । उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘सुटिङका लागि आवश्यक सरसामानहरु कसरी बन्दोबस्त गरिएका हुन्छन भन्ने सबैकुरा निर्देशकलाई थाहा हुँदैन । नक्कली पैसा छाप्ने आइडीया मेरो होइन ।’

उनले फिल्ममा ओरिजानिलिटी देखाउनका लागि निर्माताले पैसा छापेको हुन सक्ने बताए । ‘फोटोकपी गरेर पनि गर्न सकिन्थ्यो होला, तर सकेसम्म दुरुस्त देखाउनका लागि यो गरिएको हेाला,’ उनले भने ।

सम्बन्धित् समाचार