फकिर, गब्बर र फिरोज खान
बाबु त्रिपाठी
आज उसको नामचैँ सोधेरै छाड्छु ।
बाको फोन आयो–“कस्तो छ ?”
मैले भनेँ–“बा, मलाई ठीक छ ।”
बाले उताबाट भन्नु भो–“तँलाई कस्ले सोध्या छ । छोरीलाई कस्तो छ भनेको ?”
“ठीक छ बा ।”
बाले “जय होस्” भन्नु भो । सुइले गर्दा छोरी रुने कुरा चैँ
बासँग गरिनँ ।
घोडाको टापमा जसरी फलाम बस्छ । उसले बोकेको लौरोमा पनि उसै गरी फलाम बसेको हुन्छ । अग्राठको लौरो समाउँछ र अलिकति निहुरिन्छ ट्याक्सी स्ट्याण्ड लेखिएको बोर्डनिर आएर । फेरि सिधा हुन्छ । आँखा भासिएको छ उसको । को हो ऊ ?
कहाँबाट आयो ? मलाई उसको नाम जान्नु छ । काँ बस्छ ? के खान्छ । बेलुकी ठीक आठ बजे ट्याक्सी स्ट्याण्ड लेखिएको बोर्ड नजिक आएर ऊ किन एकछिन सुस्ताउँछ ? हातमा किन चारवटा घडी लाउँछ ? ऊ दारी किन कहिल्यै काट्दैन । किन त्यति दुब्लो भाको हो ? यसरी जम्मा गरेका कार्टुन काँ लगेर बेच्छ ? दिनभरि काँ जान्छ ? यो सबै जान्नु छ । तर ऊसँग बात गर्ने अवसर मिलेको छैन ।
मेरो दोस्त छ एउटा फकिर । उसलाई सोधेथेँ ऊ रिसायो र भन्यो –“त्यो मुजीको कुरा नगरम त ।”
“मुख नछाड न । किन नि ?”
त्योसँग मेरो पहिल्यै झगडा परिसकेको छ । यति भन्यो । तर के कारण भो त्यो चैँ भनेन । मेले पनि सोधिनँ ।
“साले बाल बच्चा भएको फकिर । तँ फकिर चैँ कसरी ? फकिरका त कोही हुन्नन् ।”
सहज जवाफ दियो– “म सबै भएको फकिर ।” यति भनेपछि खल्तीबाट चुरोट निकाल्यो र हातमा खेलाउन थाल्यो ।
त्यो दिन पनि उसले सोलमारी लगाइसकेको थियो । ह्वास्स गनायो । ऊ सोलमारी बहुत मन पराउँछ । मलाई पनि सोलमारीको बानी पारिदियो बजियाले । आफूले नलाएको बेलामाचैँ अरुको
मुखबाट आएको गन्ध पनि वाक्क लाग्ने ।
सार्क सम्मेलन ताका भारतका प्रधानमन्त्री आउने भएपछि बाटोका डिभाइडर सप्पै हटायो पुलिसले क्रेन लगाएर । त्यो डिभाइर अचेल चिया पिउनेहरूको चिया पिइसकेपछिको कप राख्ने ठाम भाछ । डिभाइडर हटाएर सरकारले बाटोलाई अझै चौडा बनायो । तर दुर्घटनालाई अझ निम्त्यायो । त्यो बाटामो अचेल गेर लगाइ लगाइकन मृत्युहरू कुद्छन् । जाऊँ जाऊँ गुरुजी ।
सधैँझैँ यतातिर दुई युवती र उसकी आमा कित्लीमा चिया राखेर चिया बेच्न बसेका छन् । अगाडि नगरपालिकाको थोत्रो योजना उभिएको छ खाम्लाझैँ गरेर । चियाको कित्ली चलाइरहेकीको नाम कञ्चन । गिलास पखाली रहेकीको नाम मृदुला । मृदुलाभन्दा कञ्चन बढी हँसिली छिन् । उनी चिया पसलमा उभिदाँ अझ सुन्दर बनेर उभिन्छिन् । कञ्चनसँग महँगो मोबाइल पनि छ ।
उनी बाचाल पनि छिन् । सधैँ झैँ फकिरले कञ्चनको नाम लिएर दुई कप चिया माग्यो । तर चिया बोकेर मृदुला आइन । फकिरले “धन्यवाद” भन्यो । उनी मुस्कुराइन मात्र ।
उतातिर आमा र बुहारी । पहिला स्वस्तिका थिइन् । त्यहीँ चिया पिउन आउने ठीटोसँग स्वस्तिकाको लव प¥यो । उडाइदियो बजियाले । उजाड बनाइदियो चिया पसल । त्यो दिनदेखि उताको चियाको स्वाद पनि खल्लो भो ।
फकिरले भन्यो–“बर्बाद भो ।”
ठिटोको घरमा पहिल्यै श्रीमति भाको कुरा स्वस्तिकाले पछि चाल पाइन । यो कुरा कताकताबाट फकिरले पनि चाल पायो । यो कुरा मलाई भन्ने पनि फकिरनै हो । पछि उनका आमा बाबुले चाल पाए । अनि त्यो ठिटोसँग छुटाइदिए स्वस्तिकालाई र अर्कै केटासँग बिहे गरेर पठाइदिए । त्यसदिनदेखि मैले स्वस्तिकालाई देखेको छैन । फकिरले पनि देखेको छैन । नत्र देखेँ भन्थ्यो मसँग ।
पहिला यी दुबै चिया पसल टाँसिएर बसेका थिए । गिलास राख्ने तरिका एउटै । ग्याँसको सिलिण्डर बस्ने ठाम उस्तै । चिनी राख्ने भाँडो उस्तै । चियाको कित्ली उस्तै । स्टोभ उही । बसेर
चिया पिउने ठाम उही । एउटा पसलको नमुना हेरेपछि अर्कोलाई हेर्न पर्दैनथ्यो मलाई लाग्थ्यो फोटो कपी ।
डिभाइडरनिर नाङ्लोमा चुरोट, पान पराग बेच्न एक जना आमा बसेकी छिन् । अन्दाज गर्दा उनको उमेर लाग्छ साठी ।
मैले फकिरसँग भनेँ–“अरे यार ती आमाको नाङ्लो पसलमा भएको सबैको दाम लगाउने हो भने पनि चार सय कट्दैन तीनले कति बेच्छिन् र कति फाइदा लिन्छिन् ?”
“तँ मुर्ख होस् । यो बजारमा बिहानदेखि बेलुकासम्म बस् अनेक दृष्य देख्न पाइन्छ । त्यो नाङ्लो पसल त ती आमाको देखाउने दाँत हो । तीनको चपाउने दाँत अर्कै छ ।”
“मतलब ।”
“मतलब साफ छ । उनी चुरोट र पान परागको बाहानामा गाँजा बेच्छिन् । मैले पनि तिनीसँग किन्ने हो । खान्छस् गाँजा ।”
“दिम्सै ।”
“ऊ त्यो लजमा अस्ती पुलिसले रेड हान्यो ।” उसले नदेखिएको लजतिर आफ्नो चोर औँला देखायो ।
“तँलाई सबै थाछ हगी ?
“घाटघाटको पानी खाछु ।”
साँझको पाँच बजेपछि सडकको उपल्लो पेटीमा झेलाबाट पुराना तथा टल्केका जुत्ताहरू फुत्त फुत्त बाहिर निस्किन्छन् ।
”ओइ दिदिनै यत्तिका पुराना जुत्ता कहाँबाट आउँछन् ?”
”यो चोरीको जुत्ता हो । मठ मन्दिरहरु के का लागि त ।”
”कलंकीदेखि बसपार्क र बसपार्कदेखि चढेका पाकेटमारहरूको ओर्लने ठाम पनि यही हो । उक्लने ठाम पनि यही हो” –फकिरले यो पनि भन्यो ।
छेउमा लहरै स्थायी बसोबास गरेर बसेका छन् पूर्व जाने डिलक्सका टिकट काउन्टरहरू ।
ट्याक्सी स्ट्याण्ड लेखेको नजिक अन्दाजी तेइस वर्षको लक्का जवान गाडामा चटपट, मकै, भटमास, बदाम बेचिरहेछ । उसको अनुहार नियाल्दा गुरुङ जस्तो लाग्छ । उसको घर चैँ सिन्धुपाल्चोक । रातो आँखा पारेर एउटा फटाहा गाडामा अडेस लगायो र बदामको सानो मानातिर औँला देखाउँदै भन्यो– ”यो तुरी जत्रो मानामा राखेको बदामको चैँ कति नि ?”
उसले आफ्नो धर्म निभायो र भन्यो– ”बीस रुपियाँ ।”
”बीस रुपियाँ, खान्न मुजी” सात दाना जति झिक्यो रहिँड्यो ।
”जड्याहा साले । जाँड खान पैसा हुन्छ ।” ऊ मकै भुट्न थाल्यो ।
हरियो केराउ र आलु राखेर उसले बनाएको चटपट बहुत मनपर्छ । भुजा हालेको चटपट मलाई पनि मन पर्दैन । फकिरलाई पनि । पीरो अमिलो पनि ट्वाक्क बनाउँछ । फकिरलाई झन् मनपर्छ । गाँजा खान्छ नि त । चालीस रुपियाँको चटपट बजायौँ हामीले । मलाई पीरो भो ।
मैले उसलाई एकदिन सोधेको थिएँ–दिनमा कति कमाउनु हुन्छ–मकै भुट्दै उसले भन्यो “दिनको एक हजार । मलाई कतार र मलेसिया यहीँ भाछ ।” यति भनिसक्दा उसले मलाई हेर्न पनि भ्याएको थिएन । यति भन्न नपाउँदै अर्को ग्राहक मकै भनिहाल्छ बीस रुपियाँको नोट देखाएर ।
रातको नौ बजेपछि एउटी अर्धवैँशे महिला र एकापटीको आँखा अलि सानो भएको एउटी युवतीलाई म बारम्बार त्यहाँ देख्छु । बात मारिरहेका भेटिन्छन् युवाहरू । के बात होला दिन्दिनै पनि । बात मार्ने युवाहरू चैँ बदलिरहन्छन् ।
छेउमा चाउमिन बसिरहेको गाडा छ । गाडावाला दुई जना हेर्दा बाउ छोराजस्ता लाग्छन् सोधेको छैन । उनीहरू सबैभन्दा ढिलोसम्म त्यहाँ गाडा राख्छन् । रोटी पकाउँछन् । रोटीलाई पत्रिकामा बेर्छन् र त्यहीँभित्र काटिएको बन्दाको टुक्रा हाल्छन्, अचार हाल्छन् र खान आउनेलाई दिन्छन् ।
तारेको माछा पसल हुन्छ छेउको गाडामा । आज नबिकेको माछा के गर्लान् यो सोचिरहेछु वर्षौँदेखि । तर सोधेको छैन । तातो तेलमा उफ्रिरहेको हुन्छ अलि उता पुरी । कराइमा हुन्छ तरकारी र एउटा भाँडामा हुन्छ । अचार । उतापटी । अलि उता चटपटसँग सिजन सिजनको चीज बेच्छ सप्तरीको पतेन्द्र ।
उतापटी अर्को ठेलामा अन्टा फ्राइ गरिरहेका भेटिन्छन् बाराका मृत्येश्वर ।
टुथपेष्ट देखि मोजासम्म एउटै पसलमा राखेर बेच्छे धनुषाकी जुलिमा ।
देश छाडेर जान आत्तुरहरूको भीड दिनदिनै बाक्लिन्छ । दलालहरू र जानेहरूको संख्या बराबरी । हातमा पासपोर्ट च्यापेका त कत्ति हो कत्ति । पासपोर्ट च्याप्नेहरू बढी तराई मूलकै छन् । हामी यो दृष्य म वर्षौदेखि देखिरहेका छौँ । क्रमश यो दोहोरिरहन्छ ।
यहाँ सबथोक पुरानो छ तर एउटा कुरा अनौठो छ । ऊ ठीक बेलुकीको आठ बजे आइपुग्छ । चाउचाउका कार्टुन देखि लिएर भएभरको भेटेको कार्टुन जम्मा पारेर ल्याउँछ र ट्याक्सी सट्याण्ड लेखेको बोर्ड निर आएर आफ्नो भारी बिसाउँछ । लौरो चैँ हत्तपत्त बिसाउँदैन । केही बोल्दैन । चिया पसललेले चियाका गिलास धोएर भरि बनाएको बाटालाई जुरुक्क उचाल्छ र अलिपरतिर लगेर खन्याएर आउँछ र एक कप चिया खान्छ । यो दृष्य पनि निरन्रत दोहोरिहन्छ । त्यो दिन फकिर आइपुगेको थिएन ।
मैले भनेँ–“तपाइँको नाम के हो ?”
हातमा लौरो टुटेको थिएन । उसले आफ्नो नाम “गब्बर बतायो ।”
उसलाई एक कप चिया मगाइदिएँ ।
“गब्बर त त्यो शोलेको खुङ्खार डाँकुको नाम हैन र ?”
“हो, म पनि त खुङ्खार हुँ । मेरो हुलिया हेर्नुस् र गब्बरलाई हेर्नुस् । गब्बर पनि फोहोरी थियो म पनि फोहोरी छु । ऊ पनि सुर्ती खान्थ्यो म पनि सुर्ती खान्छु । गब्बर पनि दारु पिउँथ्यो । म
पनि दारु पिउँछु ।”
“गब्बरले दारु पिएको त देखिन त मैले शोलेमा ?”
“के कुरा गर्नुहुन्छ ? तु बहारौँ से निकला, चाँद सितारोँ से निकला गीतमा हेलेनलाई नचाएछ गब्बरले दारु पिएर । अझ अर्को कुरा, ऊ कितने आदमी थे भन्थ्यो । यता म पनि त्यही भन्छु ।
फरक यत्ति हो मैले जस्तो चार वटा घडी चैँ गब्बरले लगाउँदैनथ्यो ।
“घर काँ नि तपाइँको ?”
“गब्बरको पनि घर थिएन । मेरो पनि घर छैन ।”
उसले पहिला चार वटा घडी लगाएको आफ्नो दुईटा नाडी देखायो । तर चार वटै घडी बिग्रिएको । बिग्रिएको घडीले पनि दिनमा दुईपल्ट सही समय दिन्छ ।
“तपाइँ गुन्डा हो र ?”
मेरो यो प्रश्नको उत्तर नदिइकन गब्बर अर्को चिया पसलको पानी फाल्न गयो ।
ऊ कहाँ सुत्छ, कहाँ खान्छ कसैलाई पनि थाहा छैन । उसको साथी छ एउटा कुकुर । कालो वर्णको छ कुकुर पनि ।
ऊ कुकुरलाई औधी माया गर्छ । ऊ त्यो चिया पसलमा आएपछि कुकुर पनि कता कताबाट आइ पुग्छ । कैलेकाहीँ चैँ आमा गाली दिन्छ त्यो कुकुरलाई ।
फेरि आयो र भन्यो– “अझ सुन्नुस् गब्बरको खास आदमी छ साम्भा । मेरो पनि खास छ यो कुकुर यसको नाम पनि साम्भा हो ।”
“लौरो चैँ किन बोक्या नि ?”
“सुरक्षा ।”
“तपाइँ र गब्बरमा अरु के परक छ त ?”
“एउटा फरक छ गब्बर र ममा । गब्बर टाइ लगाउँदैनथ्यो । म टिसर्टमा पनि टाइ लगाउँछु ।”
“गब्बर त सुरक्षाको लागि बन्दुक बोक्थ्यो । तपाइँचैँ लौरो बोक्नुहुन्छ, मिलेन नि त ।”
“मेरो यो लौरोले बन्दुकको काम गर्छु ।” उसले आफ्नो बन्दुकअरुलाई पनि देखायो । दशैँताका गब्बर हरायो ।
……………………………….
दशैमा फकिर र मैले खसीको भुटन र सोलमारी लगायौँ । उसले पहिल्यै लगाइसकेको रहेछ । उसको हातमा चुरोट टुट्दैन । उसको मुख मलाई चिम्नी लाग्छ ।
मैले फकिरलाई भनेँ– “उसले त आफ्नो नाम गब्बर बतायो मलाई ।”
“त्यसकै पछि लाग ।”
उसको कुरा सुन्न ऊ मान्दैन ।
साँझ प¥यो । छेउको लजमा दुई युवा र युवती गए । लजको ढोकानिर लौरो बोकेर सुरक्षाको लागि प्रहरी दाइ उभिनु भएको घण्टौँ भैसक्यो । अचेल सुन्छु त्यो लजमा जुवा पनि खेल्छन् रे । “छापा मार्नु नि हो । जुवा चैँ खेल्न दिन त भए न नि ।”
फकिरले भन्यो– “दिन दिनै पनि कहीँ रेड हुन्छ भन्या । यसरी दिनदिनै रेड गर्ने हो भने नेपालभरका लज बन्द गरिदिए हुन्छ । धेरैको रोजगारी चट् हुन्छ ।”
उसको कुरालाई समर्थन जनाएँ ।
बस बिसौनीनिर मोजा बेच्ने र पुरी बेच्नी महिलाबीच एक्कासी हानाहान चल्यो । के कारण हानाहान भो कसैले चाल पाएनन् । हानाहान हेर्नेहरूको अर्को बजार लाग्यो । महिला हानाहान बीच उनीहरुकै पुरुषपुरुषबीच हानाहान चल्यो । केहीछिन सम्म चलिरह्यो । कारण पत्ता लगाउन नजिकै जान सकिएन । कारण पनि खोजेनौँ । त्यहाँ फुर्सद भएकाहरू रौँझैँ गुजुल्टिरहे ।
त्यो ठाउँको अर्को विशेषता भनेको गाली चैँ मज्जा मज्जाका सुन्न पाइन्छन् । हिन्दी र नेपालीमा ।
…………………………..
आँखा अगाडि उही दृष्यहरू घुमिरहेका छन् । मलाई त्यहाँ भएका मान्छेहरू चार वर्ष अघि देखेकै मान्छे लाग्छन् । तर हैन । अनुहार फेरिएको छ । मैले अन्दाज नलगाएको । चार वर्ष अगाडि देखिएका अनुहार त यतिबेला खाडीमा छन् । यी अनुहारहरू खाडी जाने तयारीका लागि उभिएका हुन् । पासपोर्ट हातमा बोकेर । दलाललाई कुरी बसेका हुन् ।
छोरीकी आमाको फोन आयो । उनले एकाएक भनिन्–“लौन छोरीले त औँला चुस्न पो थाली ।”
मैले भनेँ–”कतिखेर देखी ?”
उसले भनी “भर्खर । चार वटा औँला मुखमा हाल्छे त ।”
मैले भनेँ–“छोरी ठूली भई ।” फोन काटेँ ।
अस्ती छोरी खुब रोइ सुइ लगाएपछि । ज्वरो पनि आयो निक्कै । औषधीले छोएन । छोरी रोएपछि उसकी आमा पनि रोइ ।
अघिल्लो महिना पनि उसै गरी रोए आमाछोरी ।
मलाई अस्ती हवाइजहाजदेखि खुब रिस उठ्यो । सुइले गर्दा एकातिर छोरी रोइरहेकी छ । अर्कोतिर बल्ल बल्ल फकाएपछिछोरी निदाउन खोज्छे तब ठूलो आवाज गरेर जहाज छोरी निदाएकै माथिबाट आउँछ र जान्छ । आवाजले छोरी फेरि बिउँझिन्छे र रुन्छे । हैन मैरै छोरी निदाउने बेलामा जहाज आउनु पर्ने ?
…………………………..
तिहार लगत्तै मैले गब्बरलाई फेरि सोही भेषमा देखेँ र भनेँ–“के छ गब्बर ?”
उसले भन्यो– ”को गब्बर ? ”
मैले भनेँ–“तपाइँ ।”
“मेरो नाम फिरोज खान हो” –उसले भन्यो
“फिरोज खान, अस्ती नै त गब्बर भन्या हैन र ?”
“काँ भनेँ ?”
“फिरोज खान ऊ बेलाको सदावहार नायक । अलि अगाडिको वेलकम फिलीमको गुन्डा । आर.डि.एक्स. ।”
“हो म फिरोज खान ।”
“बिहे भो तपाइँको ?”
“भै सक्यो । मेरा चार वटा स्वास्नी छ ।”
पुरानो फाटेको ज्याकेटको भित्रिखल्तीबाट फोटो निकाल्यो र भन्यो– “यी मेरा दुईटी स्वास्नीको फोटो । दुईटी चैँ घरमा राखेको छु ।”
नियालेर फोटो हेरेँ । एउटा तस्बीर थियो रेखाको अर्को तस्बीर थियो माधुरी दिक्षितको ।
“अर्को दुईटीको नाम भन्न मिल्छ ।”
ऊ नबोली फर्कियो ।
अब मलाई फिरोज खानसँग अझै बात मार्न मन लाग्यो । उ गएकै तिर गएँ र भनेँ–“फिरोज खान चिया पिउने हो, म पिलाउँछ ।”
“उसले भन्यो नाइँ ।”
“दारु पिउने त ?”
“नाइँ । फिरोज खान दारु पिउँदैन ।”
चिया पसल्नीले भन्नु भो– “यो पागलसँग के कुरा गरिरहनु भएको । यसले त दिनमै आफ्नो नाम बदल्छ । भोलि अर्कै भन्छ । पागल हो यो । हिर्काउला ध्यान दिनू ।”
रात परिसकेको थियो । फिरोज खानले मौन भो । तर उतापटी गएर फत्फताइरह्यो । नौ बज्यो फिरोज खान कार्टुन बोकेर हिँड्यो ।
फकिरलाई अर्को दिन भनेँ– “उसले त आज आफ्नो नाम फिरोज खान पो भन्यो त । स्वास्नीको कुरा ग¥यो । स्वास्नी भन्दै फिलीमको नायिकाको फोटो देखायो ।”
“दिनदिनै नाम बदल्छ सालेले ।”
“भन्न चैँ आफूलाई फकिर भन्नी, अनि यसरी मुख छाड्नी ।”
फकिरले खल्तीमा हात लग्यो । मलाई लाग्यो चुरोट झिक्न लाग्यो ।
त्यो दिन म फकिरसँग बिदा भएर हिँडे । त्यसपछि फकिरसँग मेरो भेट भएन । न रिसायो कि मसँग । ऊ बेपत्ता भएको पनि धेरै दिन भो । लाग्छ न कहीँ सोलमारी लगाएर पो बसिराछ कि । न गाँजाको ध्याउन्नमा पशुपति कुटीतिर पो छ कि ? मलाई उसको अभाव भैरह्यो ।
फिरोज खानलाई भेट्न भोलिपल्ट अलि चाँडै गए । ऊ आएको थिएन । साउनीसँग सोधेँ –“साउनी फिरोज खान आएको छैन ?”
“को त्यो पागल । आज त आछैन । आउँदै होला ।” नौ बज्यो फिरोज खान आएन ।
मनमा एउटा थक्थकी लागिरह्यो । फिरोज खानको अर्की दुईटी स्वास्नी कुन नायिका होलिन् । कुन नायिकाको फोटो देखाउँथ्यो होला उसले । अजिबको पात्र । दिनहरू बिते । फकिर पनि आएन । गब्बर पनि आएन । फिरोज खान पनि आएन । बजार उसै गरी चलिरहेछ ।
…………………
चटपट, पानीपुरी, पुरी, तरकारी, अचार, जुत्ता, मोजा, टुथपेष्ट, चाउमिन, मम, चिया, माछा, उसै गरी बिक्रि भैरहेका छन् । हातहातमा पासपोर्ट बोकेर उसैगरी उभिएका भेटिन्छन् अहिले पनि । जहाज आइरहन्छ । गैरहन्छ ।