गृहपृष्ठ कला/साहित्य रेल, ह्विल चेयर र लगौंटी !!

रेल, ह्विल चेयर र लगौंटी !!

प्रकाशित मिति:

बिरामी आमालाई ‘ह्विल चेयर’मा राखेर
‘अपरेशन थियटर’ तिर लैजाँदै गर्दा
ठूलो आवाजमा ‘हर्न’ बजायो रेलले !
शोकको बेला ‘जोक’ सुन्ने कान
नदिएको भएर होला पशुपतिनाथले,
अटेर गरेंछु !

‘समृद्धिको रेल’ रोकेर
लगौंटी लगाएका चालकले
बेस्सरी झपारे,
‘ओए केटो देख्दैनस्,
आँखा छैन तेरो ?
ओए केटो सुन्दैनस्,
कान छैन तेरो ?!’

अंग-अंग छामी हेरें,
न मेरो कान छ
न मेरो आँखा छ
न म संग अभिमान छ
न कुनै अभिलाषा छ !
ठीक भन्यौ ड्राइबर दाई
म संग ‘भिजन’ नै छैन !
ठीक भन्यौ लंगौटीलाल
खासमा म संग धड्कन नै छैन !

त्यसो त कुनै दिन,
सबथोक ठीकठाक थिए बाबाका !
आँखा तगडा-कान तगडा
शरीर झनै तगडा
अझ तगडा थियो उनको इरादा !
कमरेडहरुका कुर्शीलाई टेको लाउँदा
ढल्यो त्यो तगडा शरीर !
छेंडियो उनको बलियो छाती !
सायद..
प्रत्येक सत्ता संग
धेरै बलियो हतियार हुन्छ क्यार
हाम्रा सबै अंगहरु छेंड्नलाई
सपनाका रंगहरु लुट्नलाई !
बाबा ढले देखि
शिथिल बनेका छन मेरा सबै अंग
ड्राइबर दाई,
छैन छैन, कुनै ‘भिजन’ छैन म संग !

आमा अझ क्रान्तिकारी थिइन !
कंसिलो मुट्ठी पारेर
बाबाको निधारमा
विजयको तिलक लगाइदिन्थिन !
अहिले पनि हेर्नू त,
मेरी आमाले
तिम्रा कमरेडको कुर्शीको खुट्टोलाई
सिंदूरको समर्पण दिएर अड्याइरहेकी छिन
अनि
आफू चाहिं
तिम्रा मसीहाहरुले दिएको
सपनाको ‘ट्रेङकुलाइजर’ लिई,
‘प्यारालाइसिस’लाई प्यार गरी
मौनताको सिरान हाली
‘ह्विल चेयर’मा मस्त निदाइरहेकी छिन !
आमा नै निदाए पछि
सन्तानको दृष्टि जीवित कहाँ रहन्छ र ?
हो ड्राइबर दाई,
म संग भिजन नै छैन !

‘ठूले’ डाक्टर बन्छ
‘साने’ इन्जिनियर..!
सबथोक तगड़ा देखेरै होला
देख्नेहरु सबै त्यसै भन्थे !
तर
जवाफ भित्र भित्रै
चुहिने छानो र नभरिने मानोले दिइरहन्थे !
अभावको विश्वविद्यालयमा पढेको
मेरो ‘इन्जिनियरिंग’ले आज
‘ह्विल चेयरको ह्विल कसरी बन्यो’ भनेर खोज्दैन !
‘किन छिटो घुम्दैन यो?’ भनेर चिढ्चिढ् मात्र गर्छ !
सायद,
आमाको सासको गति र तोकिएको मिति
व्हिल चेयरको ह्विल भन्दा
ज्यादा रफ़्तारमा घुम्दै छ क्यार
ड्राइबर दाई,
सायद तिम्रो
रेल-रफ्तार भन्दा पनि बढी !

मलाई थाहा छ
त्यो ‘अपरेशन थियटर’ भित्र
म मेरी आमाको ‘ठूले’ डाक्टरलाई भेट्न सक्ने छैन
र..सायद..
त्यही ‘ठूले’ले खाडी बाट पठाएको
दुई चार मुट्ठा घाँस-पात फालेर
आमालाई बँचाउन पनि सक्ने छैन !
महँगो समाजवादका
आलीशान अस्पतालमा
तगडा सन्तान पैदा गर्ने आमाहरु
यसरी नै मर्छन क्यार !
दुई छाकका सपना माथि डोजर चलाएर
पटरी बिछ्य्याउन लगाऊ
ड्राइबर दाई,
सरकारलाई म झुपडी बैना गरिदिन्छु !

यो एक्लो अंग संग
निर्मम नागरिक हुनुको नियतिमा बाँचेको
म यस्तो विकलांग संग
कान हुन्छ र सुनूँ ?
आँखा हुन्छ र देखूँ ?
मन हुन्छ र महसूस गरूँ ?
प्राण हुन्छ र पटक पटक मरुँ ?
सरकार,
म संग भिजन नै छैन !
छैन छैन म संग केही छैन !

अनि..
सुन न प्यारा ड्राइबर दाई,
तिम्रो लगौंटी र मेरो लगौंटीको
रंग मात्र फरक छ,
नसीब फरक छैन !!

-हेमन्त गिरी,टोकियो !

सम्बन्धित् समाचार