गृहपृष्ठ बिचार फर्जी शङ्कराचार्य ~मनोज भण्डारी 

फर्जी शङ्कराचार्य ~मनोज भण्डारी 

प्रकाशित मिति:
 
                                            लेखक -मनोज भण्डारी 
फर्जी शङ्कराचार्य -मनोज भण्डारी
कुनै पनि संस्था/धर्म/राष्ट्र लाई खुकुलो र शक्तिहीन बनाउन त्यसको आधिकारिक एवं उच्च पदमा अनधिकृत व्यक्ति रहनुको महत्त्वपूर्ण हात रहन्छ । सृष्टिको सुरुवातदेखि चल्दै आएको सनातन धर्म यो प्रहारबाट मुक्त छैन । हिन्दू धर्मको सर्वोच्च पद मानिने शङ्कराचार्य पदमा नेपालकी चेली स्वामी हेमानन्दगिरि अभिषिक्त भएको खबरले यस्तै सङ्केत दिएको छ ।
यस लेखमा शङ्कराचार्य गद्दी “ज्योतिर्मठ” र त्यसमा अभिषिक्त भनिएकी स्वामी हेमानन्द गिरिको कुनै पनि साइनो नरहेको कुराको स्पष्टीकरण दिन खोजिएको छ ।
शङ्कराचार्य कस्तो पद हो ?
विद्वानहरूका अनुसार करिब ७८८इसवीय संवतमा भारतको केरलप्रदेश जन्म लिएका भगवत्पाद शङ्कराचार्यलाई सनातन धर्मको संरक्षण गर्नका लागि भगवान शिवले लिएको मानवअवतार मानिन्छ । वैदिक धर्मको उजागर गर्दै , यसमा उत्पन्न अनेक सम्प्रदाय र उनीहरूले फैलाएको विकृतिलाई नाश गर्न उद्यत शङ्कराचार्य वेदान्तदर्शनका परमज्ञाता थिए ।
अाठ वर्षमा ४ वेदको समग्र अध्ययन , बाह्र वर्षमा सबै शास्त्रको अध्ययन , १६ वर्षमा ब्रह्मसूत्र उपनिषद् गीता आदिको भाष्यलेखन गरी ३२ वर्षमा उनको शरीर पूरा भएको थियोे । शास्त्रार्थको माध्यमले पूरा भारतवर्षमाथि विजय गरी वेद-वेदान्तको पुन: प्रचार गर्ने शङ्कराचार्यले आफ्नो अन्तिम समयमा आफ्ना चार शिष्यहरूलाई चारवटा क्षेत्रमा रहेर धर्मरक्षा शास्त्ररक्षाको आदेश दिएर छाडेको र ती चारवटा पदमा रहने संन्यासीलाई पनि शङ्कराचार्य भन्ने गरेको पाइन्छ ।
हिन्दुधर्मको मूल वेद हो । वेदको मूल तत्त्व वेदान्त हो । त्यस वेदान्तको अध्ययन गरेर अध्यापन गरेर सुयोग्य बनेका वीतराग संन्यासी नै यस पदमा रहने व्यवस्था छ ।
ज्योतिर्मठको शङ्कराचार्य ?
आदि शंकराचार्यले वैदिक सनातन धर्मको संरक्षण र प्रचार प्रसारका लागि चार मठ चार वेदको हिसाबले स्थापना गरेका थिए ।
ती यस प्रकार छन् :
१)पूर्व गोवर्धन मठ(पुरी) प्रथम मठाधीश : स्वामी पद्मपादाचार्य वर्तमान मठाधीश: स्वामी निश्चलानन्द सरस्वती वेद=ऋग्वेद। महावाक्य= प्रज्ञानं ब्रह्म।
२)पश्चिम शारदामठ (द्वारिका) प्रथम मठाधीश: स्वामी हस्तामलकाचार्य वर्तमानमा : स्वामी स्वरूपानन्द सरस्वती वेद = सामवेद।महावाक्य=तत्त्वमसि।
३)उत्तर ज्योतिर्मठ(जोशीमठ बदरिकाश्रम) प्रथम मठाधीश: स्वामी तोटकाचार्य। वेद=अथर्ववेद। महावाक्य=अयमात्मा ब्रह्म। वर्तमान मठाधीश: स्वामी स्वरूपानन्द सरस्वती
४) दक्षिण वेदान्त ज्ञानमठ श्रृगेंरी(रामेश्वरम्) प्रथम मठाधीश: स्वामी सुरेश्वराचार्य। वेद=यजुर्वेद। महावाक्य= अहं ब्रह्मास्मि। वर्तमान मठाधीश :स्वामी भारतीकृष्ण तीर्थ महाराज।
यहाँ स्वामी हेमानन्द गिरिको नाम कहाँनेर छ ? पाठकले नजर लगाउन सक्छन् । हल्लाको सुरुवात शङ्कराचार्यको पदमा आसीन व्यक्तिले आफुपछिको उत्तराधिकारी कुनै सुयोग्य शिष्यलाई नियुक्त गर्ने प्रावधान छ । केही गरी नियुक्त नगर्दै शङ्कराचार्यको निधन भएको खण्डमा चाहिँ त्यो नियुक्तिका लागि अधिकार विद्वान् हरूमा सुम्पिइन्छ । उत्तराखण्डमा अवस्थित ज्योतिर्मठको शङ्कराचार्यको पदका लागि स्वामी वासुदेवानन्द सरस्वती र स्वामी स्वरूपानन्द सरस्वती दुवैले दाबी गरेपछि इलाहवाद हाइकोर्टले दुवैको दाबी खारेज गर्यो र ३ महिनाभित्रमा नयाँ शङ्कराचार्य चुन्न आदेश दियो । अखिल भारत धर्म महामण्डल र काशी विद्वत्परिषद् का विद्वान् मिलेर शङ्कराचार्य चुन्नका लागि न्यायालयले आदेश दियो । त्यस बीचमा शङ्कराचार्य पदका लागि थुप्रैले आवेदन दिए । आवेदन दिने हजारौं मान्छेहरूमध्ये एक हेमानन्द गिरि पनि थिइन् । यत्ति कुरालाई बढाएर यति चाँडै नेपालभरि व्यापक गरियो कि ठूलाठूला मिडियाले पनि बिना खोजखबर उनलाई शङ्कराचार्यकै रूपमा उपस्थित गरायो ।
नेपालका ठुलाठुला मिडियाका सुप्रसिद्ध कार्यक्रममा अन्तर्वार्ता लिइयो । उनी रातारात चर्चाको शिखरमा पुगिन् । हेमानन्दगिरिलाई शङ्कराचार्य कसले बनायो ? हेमानन्द गिरि ज्योतिर्मठको शङ्कराचार्य बनेको हल्ला मिडियाले प्रचारप्रसार गरिरहँदा उता ज्योतिर्मठमा स्वामी स्वरूपानन्दको अभिषेक भएको कुरा भारतीय मिडियाले बजाउन थालेपछि अवस्था गडबड हुन गयो
नेपालका ठुलाठुला मिडियाका सुप्रसिद्ध कार्यक्रममा अन्तर्वार्ता लिइयो । उनी रातारात चर्चाको शिखरमा पुगिन् ।
हेमानन्द गिरिलाई शङ्कराचार्य कसले बनायो ?
हेमानन्द गिरि ज्योतिर्मठको शङ्कराचार्य बनेको हल्ला मिडियाले प्रचारप्रसार गरिरहँदा उता ज्योतिर्मठमा स्वामी स्वरूपानन्दको अभिषेक भएको कुरा भारतीय मिडियाले बजाउन थालेपछि अवस्था गडबड हुन गयो । कहानीले अर्को मोड लियो । त्यसको केही समयमै काशी-विद्वत्परिषद् का विद्वान्हरूले उनलाई शङ्कराचार्य घोषणा गरेको समाचार पढ्न पाइयो । बनारस प्राचीन कालदेखि नै विद्या र धर्मको केन्द्र रहँदै आएको हो । यहाँका विद्वानहरूको “श्रीकाशीविद्वत्परिषद्” नामक संस्था विश्वभरकै हिन्दुहरूको निम्ति निर्णायक संस्था मानिन्छ । यो संस्थाका अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षसँगको प्रत्यक्ष भेटपछि थाहा भयो कि त्यो संस्थाका विद्वान्हरूलाई आउने जाने हवाइ सुविधा एवं “दिव्य-दक्षिणा”का नाममा बोलाइएको भए पनि शङ्कराचार्य पद कसैले चाहेर दिन नमिल्ने भएको हुनाले संस्थागत रूपमै अस्वीकार गरिएको थियोे । उनलाई शङ्कराचार्य पद दिने संस्था “अखिल-भारतीय-विद्वत्-परिषद् ” रहेछ । उक्त संस्थाले गरेको सम्मान संस्कृतभाषामा छ । परम विद्वान्हरूद्वारा प्रदत्त दुई वाक्यको उक्त सम्मान पत्रमा आधा दर्जनभन्दा धेरै अशुद्धि छैनन् । उक्त सम्मान-पत्रमा नेपाल राष्ट्रमा महान् धर्मकार्य गरेकी महामण्डलेश्वर हेमानन्दगिरिलाई “पशुपति मठ”को शङ्कराचार्य घोषणा गरिएको रहेछ । नेपाल-भारत-श्रीलंका-भुटान कहीं नभएको पशुपतिमठको शङ्कराचार्य गद्दीको स्वामित्व उनलाई कसरी मिल्यो ? अस्तित्वमै नरहेको मठमा कसले कुन उद्देश्यले कहाँबाट प्रेरित भएर अभिषिक्त गर्यो? अनुसन्धान जरुरी छ ।
                                         हेमानन्द गिरी – तस्बिर वेव
पशुपति मन्दिर आसपासका कुनै मठमा यस “काल्पनिक “पदको दुष्प्रभाव नपर्ला भन्न सकिन्न । यसमा जनसमुदाय सचेत हुनु जरुरी छ ।
हेमानन्द-गिरि शङ्कराचार्य हुन् ?
हेमा ढुङ्गानाको धार्मिक अनुवाद हेमानन्दगिरि यस अनुवादमा उल्था हुनुअगाडिका जीवनबारेमा थुप्रै खुलासाहरू बजारमा आइरहेका छन् । ती सबैलाई विश्वास गर्ने यथेष्ट आधार छैन । तर हेमानन्दगिरि शङ्कराचार्यका चारै पीठमध्ये कुनैमा अभिषिक्त नभएको र हुँदै नभएको मठमा नेपाल नदेखेका एकाध भारतीय  “विद्वान्”हरूले भन्दैमा शङ्कराचार्य भन्न नसकिने हुँदा उनी शङ्कराचार्य होइनन् भन्न निर्धक्क सकिन्छ । यसबाहेक उनको महामण्डलेश्वर आदि पदवीका बारेमा चाहिँ लेखक अनभिज्ञ छ। नेपालमा उनी शङ्कराचार्य बनेको हल्लाले भारतका विद्वान्हरूले स्पष्ट शब्दमा निर्णायक जवाफ दिएका छन् । हालै नेपालमा पशुपति परिसरकै शङ्कराचार्य मठमा आयोजित राष्ट्रिय विद्वत्सम्मेलनले पनि उनको शङ्कराचार्य पदको खण्डन गरेको छ ।
“काशी पण्डित सभा ” एवं काशी-विद्वत्परिषद्” दुवै संस्थाले यसको भर्त्सना गरेका छन् । विना अध्ययन समाचार छाप्ने बानी परेका नेपाली मिडियामा भने अझै पनि ” बाह्रसय पचास वर्षको इतिहासमा पहिलो नेपाली महिला शङ्कराचार्य: नेपालका लागि गौरव” भन्दै समाचार छापिरहेका छन् ।

सम्बन्धित् समाचार