गृहपृष्ठ कला/साहित्य आत्मा, पुनर्जन्म र रसायन विद्या -कवीन्द्र लम्साल

आत्मा, पुनर्जन्म र रसायन विद्या -कवीन्द्र लम्साल

प्रकाशित मिति:

आत्मा, पुनर्जन्म र रसायन विद्या

लेखक -कवीन्द्र लम्साल

रातको अन्तिम प्रहरले विहानीतर्फको उडान भर्दै थियो । बाहिर आकाशले एकतमासले इन्द्रावती वर्षाइरहेको थियो । झरी परेको समयमा सिरक ओढेर सुत्नुको आनन्द बेग्लै हुन्छ । म चिर-निद्रामा मस्त थिएँ, शेषनागमा आसीन ‘कमलनयन’ जस्तै ।

“ढक् ढक् ढक्” बाहिरबाट कसैले ढोकामा मुड्की बजारेको झैं सुनेँ । झसङ्गिँदै जागेँ । सोचेँ, हावा रिसाएर मेरै कोठामा बज्रिन आयो । त्यही सोचेर पुनः निदाउनेतर्फ लागेँ । करिब तीन मिनेटपश्चात् पुनः ढोकामा “ढक् ढक्” को आवाज आयो । त्यसपटक पनि सोचेँ, हावाकै ठक्कर हुनुपर्छ ।
फेरि निदाउन तर्फ लागेँ ।

एकैछिनपश्चात् पुनः ढोका बेस्सरी करायो । खङ्ग्रङ्ग्र हुँदै उठेँ । मनमा डरले परेड खेल्न थाल्यो । यति राती को ढोका ढक्ढक्याउन आयो भनेर मनमा त्रासको सञ्चार हुन थाल्यो । घाँटी सुक्यो । निधारबाट पसिनाले हाम हाल्न थाल्यो ।

उठेर बिजुली बाल्ने हिम्मत समेत जुटेन । त्यसदिन कोठामा एक्लै थिएंँ ।

बाहिरबाट पुनः चौथोपटक ढोका ढक्ढक्याएको आवाज आयो । मनमा अनौठो डरले गहिरो किला गाड्दै गयो ।
“ढोकामा को हो?” डरैडरै तीन शब्द रुद्रघण्टीबाट माथि उक्लिए ।
कुनै प्रतिक्रिया आएन । पुनः ढोका “ढक् ढक् ! ढक् ढक् !!” गरिरह्यो ।

जे पर्ला पर्ला भनेर ढोका उघार्न गएँ ।

जब बिस्तारै ढोकाको चुकल तल झारेर ढोका खोलेँ, “आमा !” भन्दै म चिच्याएँ । पुनः ढोका लगाउन खोजेँ, हात नै चलेनन् । प्यारालाइसिस भएको बिरामी जस्तै मेरो शरीर नै अचल भएको अनुभूति भयो ।
ढोकामा पारदर्शी/सेतो छायांँ उभिएको थियो ।
म पुनः “भूऽऽऽत” भन्दै चिच्याउन थालेँ ।
त्यो सेतो छायाँ बिस्तारै भित्र प्रवेश गर्‍यो ।
म डरले झन्झन् अतालिएँ । जसै छायाँ भित्र प्रवेश गर्‍यो, ढोका आफैं बन्द भयो ।
मलाई एकतर्फ सपना देखिरहेको भान हुन थाल्यो भने अर्कोतर्फ कुनै डरलाग्दो फिल्म “Horror Movie” हेरिरहेको भान हुन थाल्यो । तर त्यो पल ती दुवै थिएन । मैले सामना गरिरहेको त्यो क्षण वास्तविक घटना थियो ।
………
“नडराऊ कवि ! म भूतात्मा केही होइन ।”
छायाँबाट एक्कासी उपर्युक्त आवाज आयो । त्यो आवाज स्त्रिलिंगी थियो । म झन् झसङ्गिएँ । यो आत्मालाई मेरो नाम कसरी थाहा भयो? मैले तनिक पनि अड्कल काट्न सकिनँ । म द्विविधाको भूमरीमा रुमल्लिएँ ।

छायाँ:- “मलाई आत्मा या भूत केही नसम्झ कवि ! म तिम्रै अनुज्ञा हुँ ।”

म (डरैडरै):- अनुज्ञा ? को अनुज्ञा ?
अनुज्ञा:- कवि ! तिमीलाई पो तनिक पनि याद छैन किन्तु मलाई सबैथोक याद छ ।

म:- तिम्रो कुरालाई विश्वास गर्ने आधार के छ?

अनुज्ञा:- मैले हजारौँ वर्षदेखि तिम्रै प्रतीक्षा गरेर बसेकी थिएँ । पूर्वजन्ममा तिम्रो र मेरो अमर प्रेम कहानी अधुरो रह्यो । पूर्वजन्ममा म तिम्री हुन सकेकी थिइनँ । तिमीले बाध्यतावश मलाई त्यागेर अर्कीसङ्ग विवाह गरेका थियौ । त्यसपछि………………।

उसका कुराले मलाई थप द्विविधातिर घचेट्यो । उसले के भन्दैछे, मेरो बोधो मस्तिष्कले भेउ पाउन सकेन ।

म:- त्यसपछि ?

अनुज्ञा:- त्यसपछि मैले आत्महत्या गरेँ । आत्महत्या गर्नुपूर्व एउटा प्रण गरेकी थिएँ, “अर्को जन्ममा जसरी पनि म तिम्रै हुनेछु ।”

उसका कुरामा मलाई खासै विश्वास लागिरहेको थिएन । तर उसका कुरामा सत्यताको अंश अवश्य थियो ।

म:- अनि यो जन्ममा चाहिँ तिमी आत्मा बनेर सताउन आएकी मलाई ? जाऊ तिमी । मलाई एक्लै छोडिदेऊ ।

अनुज्ञा:- कवि ! तिमी किन डराएको? म तिमीलाई तर्साउन र सताउन आएकी होइन । म त अब उपरान्त तिम्रै समीपमा रहन आएकी हुँ ।

म (डरले काँप्दै):- मसङ्गै रहन रे? तिमी आत्मा मसङ्ग बस्ने?

अनुज्ञा:- हो कवि ! अब म सधैंको लागि तिमीसङ्ग बस्ने हो ।

म:- म तिमी आत्मासङ्ग बस्न चाहन्नँ । तिमी जाऊ अब यहाँबाट ।

अनुज्ञा:- न आत्तेऊ कवि तिमी ! म तिमीबाट टाढा जान होइन, यो जुनीमा सङ्गै बस्न आएकी हुंँ ।
तिमीलाई एउटा रहस्यमय कुरा गर्छु, ध्यान दिएर सुन ।

म (आश्चर्य मान्दै):- के कुरा?

अनुज्ञा:- पल्लो घरमा बस्ने, जसलाई तिमी काकी भन्छौँ, भगवती काकी गर्भस्थ हुनुहुन्छ । त्यो तिमीलाई थाहै छ । म वहाँकै गर्भमा प्रवेश गर्छु । जुन कन्या जन्मिने छिन्, त्यो म नै हुनेछु ।

म:- कस्तो कपोकल्पित कुरा गरेकी तिमी ! तिमी, आत्मा, ती काकीको गर्भमा प्रवेश गर्ने? किन नचाहिने कुरा गरेर मलाई हैरान बनाइरहेकी छौ?

अनुज्ञा:- कवि ! म जे भनिरहेकी छु, त्यसमा तनिक पनि असत्यता छैन । अब केही दिनमा काकीले शिशुलाई जन्म दिनुहुनेछ । म आजै पूर्णिमाको रात पारेर वहाँको गर्भमा प्रवेश गर्नेछु । र, सुन्दर कन्याको रूपमा जन्म लिनेछु ।

म:- ल मैले मानेँ कि तिमीले जन्म लियौ रे ! त्यसपछि तिमी त बच्ची हुन्छ्यौ । अनि के गर्नू?

अनुज्ञा:- हो म बच्ची नै भएर जन्मन्छु । तर म छिट्टै यौवनावस्थामा पुग्नेछु ।

म:- छिट्टै यौनवास्थामा? कसरी? तिमी यौनवास्थामा पुगुञ्जेल त मलाई प्रौढावस्थाले अङ्गालिसक्दछ ।

अनुज्ञा:- कवि ! म जन्मेपछिको प्रथम पूर्णिमाको रातमा तिमीले विशेष कार्य गर्नुपर्नेछ । त्यसपछि म यौनवास्थामा पुग्नेछु, तत्क्षण ।

म (थप आश्चर्यचकित हुंँदै):- कसरी सम्भव हुन्छ यस्तो?

अनुज्ञा:- कवि ! तिमीलाई महाभारतको थोरै अंश सुनाउँछु, त्यसपछि तिमी स्वयंले बुझ्नेछौ ।

तिमीलाई थाहा छ, शिवजीको तपस्या भङ्ग गरेपछि शिवजीको तेस्रो नेत्र खुल्दा कामदेव भस्म भएका थिए । पुनः शिवजीकै वरदानस्वरूप कामदेवले द्वापर युगमा श्रीकृष्ण र रुक्मिणीको गर्भबाट “प्रद्युम्न” को रूपमा जन्म लिए, यसको प्रयोजन असुर राज शम्ब्रसुरको वध गर्नु थियो ।
तर श्रीकृष्णकै लीला बमोजिम प्रद्युम्नलाई जन्मसाथ माता भानुमतीले हुर्काइन् । सानो बालक प्रद्युम्नलाई भानुमतीले तत्काल युवावस्थामा परिणत गराएकी थिइन् ।

म:- हो माता भानुमतीले “रसायन विद्या” को प्रयोग गरेर प्रद्युम्नलाई केही समयमै युवावस्थामा परिणत गराएकी थिइन् । त्यो कालचक्रको विरुद्धमा थियो ।

अनुज्ञा:- हो, म तिमीलाई त्यही रसायन विद्याको बारेमा स्मरण गराउन गइरहेकी थिएँ । अब तिमीले त्यही रसायन विद्याको प्रयोग गरेर मलाई पनि प्रद्युम्नलाई जस्तै छिट्टै यौवनावस्थामा परिणत गराउने छौ ।

म:- तर मलाई त्यो रसायन विद्या ज्ञात छैन । कसरी प्रयोग गरूँ?

अनुज्ञा:- त्यसका लागि तिमी धन्दा नमान । त्यो विद्या मैले सिकेकी छु । तर विडम्बना ! म स्वयंले त्यो विद्या प्रयोग गरेर आफैंलाई साकार रूपमा प्रकट गराउन सक्दिनँ ।
अब तिमी सुत ! तिमी जसै निदाउनेछौ, सपनामा तिमीलाई म त्यो विद्याबारे जानकारी गराउनेछु ।

(त्यसपछि म सुतेँ । उनी सपनामा आएर मलाई रसायन विद्या सिकाइन् । उनी पल्तिर भगवती काकीको गर्भमा प्रवेश गर्न गइन् ।)
……………
अर्को पूर्णिमाको रात उनको जन्म भयो । उनको अनुहार दिव्य थियो । पूर्णिमाको रातमा जन्मेकी उनको अनुहारमा कान्ति चम्किँदै थियो ।
अद्वितीय कन्याको जन्म भएपछि उनको दर्शन गर्न छिमेकीहरूको घुइँचो बढ्दै गयो ।

म भने पुनः अर्को पूर्णिमाको प्रतीक्षामा थिएँ । रसायन विद्याको प्रयोग गरी उनलाई शिशुबाट सुकुमारी कन्या बनाउनु थियो । पुनर्जन्ममा उनको नाम अनुज्ञा भएकाले यो जन्ममा पनि घुमाउरो पारामा यिनको नाम अनुज्ञा राख्नुपर्ने जिकिर गरेँ मैले, काकीसङ्ग ।
…………
मेरो प्रतीक्षाको घडीको आयु समाप्त भयो ।
पूर्णिमाको रातले धरतीमा अवतरण गर्‍यो । हृदयमा खुसीले ढल पिटिरहेको थियो । अनुज्ञालाई रसायन विद्याको प्रयोग गरी यौवनावस्थामा परिणत गर्ने अन्तिम तयारीमा जुट्दै थिएँ ।

मेरो प्रतीक्षाको घडीको आयु समाप्त भयो ।
पूर्णिमाको रातले धरतीमा अवतरण गर्‍यो । हृदयमा खुसीले ढल पिटिरहेको थियो । अनुज्ञालाई रसायन विद्याको प्रयोग गरी यौवनावस्थामा परिणत गर्ने अन्तिम तयारीमा जुट्दै थिएँ ।

म त्यस रात पल्तिर काकी कहाँ नै थिएँ ।
“काकी हजुरकी सुपुत्री दिव्य कन्या हुन् ।” काकीलाई बारम्बार यही भनेर मख्ख बनाइरहन्थेंँ ।
“बाबु ! एकैछिन अनुज्ञालाई हेर है । म शौचालय गएर आउँछु ।” ‘के खोज्छस् काना, आँखो’ भने झैं काकीको शौचालय गमनले मेरो योजनालाई थप सहजता प्रदान गर्‍यो ।
काकी शौचालय गइन् । अन्य सदस्यहरू भान्सातिर व्यस्त थिए । काकीको कोठामा अब सानी अनुज्ञा र म मात्रै भयौं । अनुज्ञाको बालरूप धीत मरुन्जेल हेरेँ । सोचेँ, यति सानैमा त यति सुन्दर छिन् भने अझ यौवनवस्थामा झन् कति सुन्दर होलिन्? आहा……… ।
म विलम्ब नगरी रसायन विद्याको मन्त्र जप्न थालेँ ।
मन्त्र जप्दै जाँदा योगशक्तिले एउटा भरी घडा उत्पन्न भयो । उक्त घडामा रासायनिक जल थियो । उक्त रासायनिक जलले उनको शरीर स्नान गराउनु थियो । म पुनः विलम्ब नगरी त्यो घडाको रासायनिक जल उनमा खन्याइदिएँ, बिस्तारै बिस्तारै । जसै घडाबाट उक्त जल उनमा पर्दै गयो, उनको शरीरको कद बिस्तारै बढ्दै गयो ।
घडाको जलको समाप्तिसङ्गै उनी यौवनावस्थामा प्रकट भइन् ।

आहा ! कुनै पौराणिक कथामा पढेको उर्वशी-अप्सराभन्दा पनि सुन्दर प्रतीत हुने कन्याको रूपमा प्रकट भइन्, अनुज्ञा ।
उनको शरीर कान्तिमय थियो ।
चट्ट मिलेको जिउडाल !
धपधप बलिरहेको अनुहार !
गहिरा आँखा !
गुराँस फुलाइरहेका लालुपाते ओठ !
शृङ्गारै-शृङ्गारले सजिएकी !
वाह अनुज्ञा ! म एक टकले उनलाई हेरिरहेँ ।
यो जन्ममा अनुज्ञा मेरै लागि प्रकट भएर आइन् ।

सम्बन्धित् समाचार