गृहपृष्ठ खबर भान्साको फोहोर करेसालाई मल ! महानगरले नगरेको आँट यी स्थानीयले गरे !

भान्साको फोहोर करेसालाई मल ! महानगरले नगरेको आँट यी स्थानीयले गरे !

प्रकाशित मिति:

खरीबोट

काठमाडौं । सानो तर महत्वपूर्ण काम जसलाई अभियानकै रुप दिने योजना छ काठमाडौं महानगरको ३ नं. वडाका स्थानीयको । काठमाडौं महानगरको ठूलो समस्या भन्नासाथ फोहोरमैला पहिलो नम्बरमा आउँछ । अहिले वर्षायाम चलिरहँदा महानगर गल्ली गल्लीसम्म पुगेर फोहोर व्यवस्थापन गर्न असफल भएको छ । तर संगम टोललाई भने महानगर आओस्, नआओस् कुनै चिन्ता छैन अर्थात् उनीहरु आफ्ना घरवरपरबाट निस्किने फोहोर व्यवस्थापनमा आफैँ जुटेका छन् ।

ल्याण्डफिल्ड साइड सिस्डोल भरिएपछि महानगरको फोहोर व्यवस्थापन गाडी १५-२० दिन नआइदिँदा चोक र गल्लीमा फोहोर थुप्रिएको थियो । यो केही समयअघिको हो भने कतिपय स्थानमा अझै पनि यो समस्या उस्तै छ । जसले गर्दा वातावरण नै दुर्गन्धित बनाइरहेको छ भने मानिसहरु बिहानै फोहोर फाल्ने र दिउँसो, बेलुका नाक समाउँदै घर-कोठमा पस्ने गरेका छन् । तर महानगरकै ३ नं. वडास्थित संगमटोलमा भने फोहोर व्यवस्थापनको नयाँ आयाम सुरु गरिएको हो । यहाँका स्थानीय आफ्नो भान्साबाट निस्केको फोहोर व्यवस्थापन गर्न लागिपरेका हुन् ।

कामपा ३ स्थित संगम अर्गानिक लाइफ कृषि समूह अहिले कम्पोष्ट मल बनाउन लागिपरेको छ । महानगरमा फोहोर व्यवस्थापनमा समस्या भएपछि त्यसलाई मध्यनजर गदै संगम अर्गानिक  लाइफ कृषि समूहको स्थापना भएको बताउँछिन् समूहकी अध्यक्ष राधा नेपाल । उनका अनुसार महानगरको फोहोर व्यवस्थापनलाई नै मध्यनजर गर्दै संगम अर्गानिक लाइफ कृषि समूहको स्थापना भएको हो । उनले आफ्नै घरको फोहोरलाई मल बनाएर गमलामा खुर्सानी, टमाटर, करेला, धनियाँ, लट्टेको साग फलाएकी छिन् । मानिसले आफ्नो जिम्मेवारी नभुल्ने हो भने र दायित्व सम्झेर काम गर्ने हो भने काठमाडौंका हरेक घरमा तरकारी फलाउन सकिँदो रहेछ भन्ने उदाहरण उनले पेस गरेकी छिन् ।

त्यसो त उनी घरमा मात्रै नभई पूरै वरपर टोलमै फोहोरलाई मोहोर बनाउने अभियान नै जगाइरहेकी छिन् । एक वर्षअघि संगम कृषि समूहको स्थापना गरिएको भए पनि विगत छ महिनादेखि समूहले फोहोर व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएको छ । फोहोर संकलनको गाडी समयमा नआउने र मानिसले लुकीलुकी जताततै सडकमा फोहोर फाल्नाले दुर्गन्ध भएको देख्दा आफ्नो घर र भान्साबाट निस्केको फोहोर आफैँले व्यवस्थापनमा गर्नसके सिस्डोल लाने फोहोरको मात्रा कम हुने र टोलको फोहोर आफैँले व्यवस्थापन गरेर मल बनाउन सकिन्छ भन्ने लागेर यसैको खोजीमा लागिपरेको र जब (अर्गानिक लाइफ संस्था सञ्चालक ) दिपक लोहनीसँग भेट भएकाले उनकै सहयोग र सहकार्यमा टोलको फोहोर व्यवस्थापनमा जुटेको नेपालले खरीबोटलाई जानकारी दिइन् ।

३ दिनमै फोहोरलाई मल बनाउन सकिने भएपछि उनमा हौसला थपियो र संगम महिला बचत समूहलाई नै संगम समूह बनाइएको उनले बताइन् । यसमा इच्छुकलाई तालिम दिएर फोहोर व्यवस्थापन र मल बनाउन लागिपरेको उनको भनाइ छ ।

घरैघरले भरिएको काठमाडौँ महानगरमा मल बनाउने ठाउँ खोज्न समस्या भए पनि सुरुमा थोरै ठाउँमा नै मल कारखाना सुरु गरिएको तर तरकारीखेती गर्ने ठाउँ नभएको उनले बताइन् ।

समूहले निःशुल्क तालिम दिने, मल बनाउने र उक्त मल समूहले किन्ने भनेर सुरु गरिएको भए पनि समूहमा त्यसरी मल जम्मा नहँुदा आफूले उत्पादन गरेको मल सबैले आफैँ प्रयोग गरेको उनले बताइन् । हाल जैविक फोहोर संकलन गर्न समूहले घरघरमा कुहिने र नकुहिने फोहोर राख्न डस्टबिन समेत वितरण गरेको छ । तर समूहले सोचेजस्तो सहज रुपमा फोहोर संकलन गर्न नसकिएको नेपालले बताइन् । उनले भनिन्, “जबसम्म मान्छेको ब्रेनवाश हुँदैन र आफ्नो घरबाट निस्केको फोहोर आफैँले व्यवस्थापन गर्नुपर्छ वा फोहोर व्यवस्थापनमा मैले पनि सघाउनुपर्छ भन्ने सोचिँदैन, तबसम्म फोहोर व्यवस्थापन गर्न सकिँदैन ।”

फोहोर छुट्याइदिनु भन्दा कसले छुट्याउँछ ? एकै ठाउँमा राखे फोहोरले लान्छ भन्ने सोचाइले गर्दा जताततै फोहोर बढेको उनको भनाइ छ  । जनचेतना र कडा कानुन बनाए आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न कुनै समस्या नहुने उनले बताइन् । १५ दिन फोहोर संकलनमा नआउँदा बाँच्नै गाह्रो भन्नेलाई उनले एक पटक सिस्डोल घुम्न जान समेत आग्रह गरिन् । फोहोर व्यवस्थापनको तालिम दिने संस्थाले सहयोग गरे कौसीखेती प्रभावकारी हुन्छ भन्ने लाग्छ उनलाई । यसमा सरकारले पनि नागरिकलाई सिकाउनुपर्ने उनले बताइन् ।

विभिन्न कौसीखेती तालिम, प्लाष्टिकको प्रयोग घटाउने र पुनप्र्रयोग गर्न सक्नेलाई प्रयोग गर्ने, साथै बायो ग्यासको अवधारणा ल्याउन सरकारले पहल गर्नुपर्ने उनको राय छ ।
त्यसो त उक्त समूहले फोहोर नफाल्न र घरमै व्यवस्थापनको लागि राति अबेरसम्म ड्युटी समेत बस्ने गरेको उनले सुनाइन् । कुहिने फोहोरबाट प्रांगारिक मल बनाउन सकिने भएकाले उनीहरुले वरपरबाट उक्त प्रकारका फोहोरहरु संकलन समेत गर्ने गरेका छन् ।

भुस, ढुटो, पातपतिङ्गर, काठको धूलो, खरानी, माटोलगायत मिलाएर बनाएको जोडनमा कुहिने फोहोर राखेपछि मल बनाउन सकिने तालिम समेत समूहले दिँदै आएको उनको भनाइ छ ।  काठमाडांैको बजारमा थाईल्याण्डको मल ६५ रुपैयाँ किलो पर्छ भने समूहले उत्पादन गरेको मल लागत हेरेर ३० देखि ५० रुपैयाँसम्म पर्छ ।

फोहोर व्यवस्थापनमा सक्रिय रुपमा लागेको संगम अर्गानिक कृषि समूहले आफ्नो घरबाट सुरु गरेको फोहोर व्यवस्थापनको कार्यलाई उनीहरुले अब टोलभरी र छिमेकी टोलमा समेत लाने सोच बनाएका छन् । तर अहिले संगमटोलमा कुहिने फोहोर व्यवस्थापनमा लागेको भए पनि भोलिका दिनमा नकुहिने फोहोरको समेत व्यवस्थापन गर्ने र टोलमै फोहोर संकलनको गाडी प्रवेश निषेधमा लाग्ने योजना रहेको उनले बताइन् । सबैले यस्तै सोचाइ राखेर अघि बढ्ने हो भने सरकारले फोहोर संकलनको लागि कुनै डम्पिङ साइड खोज्नु नपर्ने उनले बताइन् ।

सम्बन्धित् समाचार