गृहपृष्ठ ज्योतिष /वास्तु आज ईन्द्रजात्रा मनाईदै, यसको लोकमान्यता एवं धार्मिक विश्वाश,

आज ईन्द्रजात्रा मनाईदै, यसको लोकमान्यता एवं धार्मिक विश्वाश,

प्रकाशित मिति:

८ असोज २०७५, सोमबार – प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने ईन्द्रजात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ भने यो पर्वले नेपालको ऐतिहासिक पृष्ठभुमि पनि ओगटेको छ। खासगरी वर्षा र सहकालका देवताको रुपमा  देवराज इन्द्रको पूजा–आराधना गरी  इन्द्रजात्रा पर्व मनाउने चलन रहेको छ।

ईन्द्रजात्रा सँग जोडिएको छुट्टै कथाहरु पनि सुन्न पाईन्छ भने नेपालको ईतिहासमा महत्त्वपूर्ण घटनाको दिनको रुपमा पनि लिईएको छ। नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले किर्तिपुर माथी विजय हासिल गर्ने क्रममा ईन्द्रजात्राको अवसरको प्रसङ्ग पनि आउने गर्छ।   स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालार्इ वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारीजातको फूल र कर्कलो चोर्न मानव रूप धारणगरी काठमाडौं शहरमा आएर बगैंचाको मालीलार्इ सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढालेपछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोककथन पनि पाईन्छ। र आज पनि काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।

यसरी आफ्नो खातिर काठमाडौंवासीले बन्धनमा पारेका छोरा इन्द्रलार्इ त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरेकि थिईन् र स्थानीय राजी भई ईन्द्रलाई स्वर्ग फिर्ता पठाएका थिए भन्ने किंवदन्ती सुन्नमा पाईन्छ यहि प्रशङ्गसँग जोडिएर यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने विश्वास  पनि जनजिब्रोमा जीवितै छ। यसैगरी  इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहिआएको छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। उक्त लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ।यसैगरी  शत्रुको रूपमा राजा ईन्द्र  पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त हुने विश्वास पनि जनमानसमा रहि आएको छ।

यसअघि तान्त्रिक विधिद्वारा बोकालाई पूजा गरी काभ्रेको नालास्थित जंगलमा  छोडिन्छ र उक्त बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। रूख काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउनका लागी पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरीन्छ ।

मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ भने यसअघि  राजतन्त्र रहुञ्जेल राजाबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने  परम्परा रहेको थियो र यहि परम्परा आज पनि राष्ट्रपति द्वारा निरन्तरता दिईएको छ। इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिङ्ग ठडाएपछी  आश्विन कृष्ण चौथीका दिनमा  ‘इन्द्रध्वज पातन’ गर्ने  विधान पनि रहेको छ। यतिमात्र नभई ज्योतिषीय सहयोग लिई चन्द्रमाको नक्षत्रको आधारमा शुभ समय हेरि पातन अर्थात लडाउने गरिन्छ। खासगरी आकाशमा चन्द्रमा भरणी नक्षत्रमा हुँदाको रातमा लिङ्ग ढ्लाउने शास्त्रीय मान्यता पनि छ जसलाई शास्त्रानुसार, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको पनि पाईन्छ। यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ।

यसैगरी भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ भगवान् विष्णु को पूजा आराधना पनि गरिन्छ। यसैले यस दिनलाई अनन्त चतुर्दशीको  नामले मानिने गरिन्छ र  चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास रहिआएको छ।

सम्बन्धित् समाचार