बौद्ध सङ्घको विस्तार र विकासमा प्राचीन कपिलवस्तुको योगदान
दीपक प्रसाद आचार्य, पिएचडि
बौद्ध संस्कृतिको पृष्ठभूमि सँग परिचित हुनका लागि कपिलवस्तुको संस्कृति र इतिहास सँग परिचित हुनु अत्यन्त आवश्यक छ । प्राचीन कपिलवस्तु आफ्नो अभूतपूर्व सांस्कृतिक वैभव, प्राकृतिक सौन्दर्य तथा जीवन्त आध्यात्मिक स्पन्दनका लागि सदा सर्वदा सबैको आकर्षणको केन्द्रको रूपमा रहेको पाइन्छ ।
कपिलवस्तुको भौगोलिक परिदृश्यमा दृष्टि दिने हो भने भूगोल सदा स्थायी रहँदैन, सदैव परिवर्तनशील रहेको पाइन्छ । तसर्थ, कपिलवस्तुको भूगोल पनि राजनैतिक, ऐतिहासिक तथा सांस्कृतिक कारणले गर्दा परिवर्तन भएको पाइन्छ । प्राचीन कपिलवस्तु राज्य विशाल रहेको र आजको कपिलवस्तु जिल्लामा मात्र सीमित नरहेको ज्ञात हुन आउँछ । प्राचीन कपिलवस्तु गणराज्यको सीमा पूर्वमा रोहिणी नदीदेखि पश्चिममा राप्ती नदीसम्म फैलिएको र उत्तरमा हिमालयदेखि दक्षिणमा भारतीय भू–भाग कुशीनगर र पावासम्म तराईको विशाल भू–भाग ओगटेको देखिन्छ ।
बौद्ध धर्मको इतिहासलाई अध्ययन गर्दा बौद्ध सङ्घको इतिहास गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसके पश्चात् बनारस नजिकै रहेको ऋषि पतन मृगदावन, सारनाथमा आफूसँगै पहिले ध्यानमार्गमा संलग्न पाँच साथीहरूलाई चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको उपदेश दिए पश्चात् उनीहरूको बौद्ध सङ्घमा भएको आबद्धताबाट सुरुवात भएको मानिन्छ । यसरी सङ्घमा आबद्ध हुने व्यक्तिहरू दिनानुदिन तीव्र रूपमा बढ्दै गई बुद्धको सङ्घ एउटा विशाल समूहको रूपमा नेपाल, भारत लगायतका देशहरूमा शान्ति, अहिंसा, करुणा, समानताको सन्देश फिजाउँदै हिँडेको इतिहास भेट्न सकिन्छ । यसको गौरवमय इतिहास साथै बौद्ध व्यवस्थापन आजको अशान्ति, भय, त्रास, निराशा र पृथ्वीको विनाशतर्फ लम्केको अवस्थाबाट निकास पाउनका लागि अध्ययन, चिन्तन–मनन र प्रयोग गर्नु सान्दर्भिक हुँदै गएको छ ।
प्रथम बौद्ध सङ्घको स्थापनामा कपिलवस्तुको योगदान .
घरबार त्यागी ज्ञानको खोजीमा घुमफिर गर्ने व्यक्तिलाई परिव्र्राजक भनिन्छ । यिनीहरूको उद्देश्य विविध दार्शनिक तथा विद्वानहरू सँग भेटी सत्य, ज्ञान, दर्शन, अध्यात्म आदि विषयमा प्रवचन सुन्नु, वादविवाद गर्नु रहेको देखिन्छ । बौद्ध भिक्षुहरू पनि एक प्रकारका परिव्राजक नै थिए जो घरबार त्यागी यत्रतत्र घुमफिर गर्दथे भनिएको पाइन्छ । प्राचीन भारतीय उपमहाद्वीपमा परिव्राजक परम्परा गौतम बुद्धभन्दा पनि पहिल्यैदेखि चलि आएको देखिन्छ । त्यस समयमा विभिन्न प्रकारका परिव्राजकहरू विद्यमान थिए जसमा कोही कुनै योग्य गुरु फेला नपर्दासम्म एक गुरुको अधीनस्थ भई अध्ययन गर्दथे भने कोही कुनै गुरुको अधीनमा नरही स्वतन्त्र रूपले ज्ञानको खोजीमा यत्रतत्र घुमिरहने ज्ञात हुन आउँछ । स्त्री परिव्राजिकाहरू समेत हुने गरेको देखिन्छ । यस्ता परिव्राजकहरूको कुनै सङ्घ, नियम–उपनियम र निश्चित आदर्श भने थिएन । बुद्धले यसको विपरीत निश्चित आदर्श र सञ्चालन सम्बन्धी नियम सहितको सङ्घ स्थापना गरेको देखिन्छ ।
बुद्ध, धर्म र सङ्घलाई त्रिरत्नका नामले चिनिन्छ । यी त्रिरत्न बुद्ध धर्मको महत्वपूर्ण आधार स्तम्भहरू हुन् । सिद्धार्थ गौतम न्याग्रोध वृक्षको मुनी तपस्यारत थिए । आफ्नो भाकल अनुरूप यश नामक छोरा जन्मेकाले सेनानी कुलकी पुत्री सुजाताले मुलेठीको वनमा चराइएका गाइहरूको दूध पुनः आठ गाईहरूलाई खुवाइन । त्यस्ता गाईहरूबाट बाच्छा तथा बाच्छीहरूले नखाइकन दूध दुहेको तथा तताउँदा धुवाँ समेत आएन र उम्लदा समेत पोखिएन । त्यसरी बनेको क्षीर भोजन तपस्यारत सिद्धार्थ गौतमलाई वरदेवता सम्झी चढाइन । सुजाताको क्षीर भोजन र महापरिनिर्वाणको अघि चुन्दको भोजनदानलाई अति उत्तम भनी वर्णन पाइन्छ ।
गौतम बुद्धले हालको भारत देशको विहार राज्यमा अवस्थित बोध गया भन्ने स्थानमा वैशाख शुक्ल पूर्णिमाको दिन बुद्धत्व प्राप्त गरे । त्यसपछि उनलाई त्यो ज्ञान अरू मानिसहरूलाई बाडुँ वा नबाडौँ भन्ने अलमल भई अन्ततः बाँड्ने दृढ निश्चय गरी ज्ञान प्रदान गर्न सत्पात्रको खोजीमा निक्लँदा भारतको बनारस समीपमा अवस्थित सारनाथको मृगदावनमा कोण्डन्य, वप्पि, अस्सजी, महानाम, भद्दिय नाम भएका पाँच साथीहरूलाई भेटी चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको उपदेश गरे र यी पाँचजनाले बुद्धसँग प्रवज्या र उपसम्पदा माग्दा “यही भिख्खु, स्वाक्खातो धम्मो चरं ब्र≈मचरियं सम्म दुख्खस्स अन्त किरियाय” अर्थात् “भिक्षुहरू, आऊ, सुआख्यात (राम्रोसँग भनिएको) धर्ममा ब्र≈मचर्यको पालन गरी दुःख मुक्त होऊ” भनी सबैलाई भिक्षु बनाए पछि भिक्षु सङ्घको आरम्भ भएको मानिन्छ । यो घटना बुद्ध इतिहासमा …धर्मचक्रप्रवर्तन’का नामले प्रसिद्ध भई आएको छ । यी बुद्धका प्रथम पाँच शिष्यहरूलाई …पञ्चभद्रवर्गीय भिक्षु’ भनिन्छ । यसरी पाँच भिक्षुहरूबाट सुरु भएको सङ्घमा मानिसहरू शरणागत हुने क्रमले तीव्रता पायो । इतिहासमा प्रथम पटक तथागतले आफ्ना भिक्षुहरूको एक सङ्घ बनाए, त्यसको व्यवस्थाको लागि सङ्घको नियम बनाए र सङ्घका सदस्यहरूका माझमा एक निश्चित आदर्श प्रस्तुत गरेको देखिन्छ ।
वाराणसी देशका धनाढ्य महाजन तथा सुजाताका एक यश नाम गरेका पुत्र र उसका चवन्न साथीहरूको सङ्घमा प्रवेशसँगै दुई महिनामा सङ्घको आकार साठी नाघ्न पुगेको देखिन्छ । यशकुमारको प्रवज्यासँगै उनका पिता पनि स्रोतापन्न भई उपासकत्व ग्रहण गरेकाले उनलाई बुद्ध शासनको पहिलो …त्रैवाचिक उपासक’ भनिन्छ । त्यसै गरी, बुद्धको उरुवेला प्रस्थानमा तीन काश्यप दाजुभाइ उरुवेला काश्यप, नदी काश्यप र गया काश्यप र उनीहरूका पाँच सय, तीन सय र दुई सय चेला समेत सङ्घमा प्रवेश गरे पश्चात् सङ्घको सदस्य सङ्ख्या एक हजार पार गर्न पुगेको देखिन्छ ।
राजा बिम्बिसारलाई दिएको वचन पूरा गर्न एक हजार जटिल शिष्यहरू सहित गौतम बुद्ध राज गृह नगरतर्फ प्रस्थान गरे र यसको खबर पाई राजा बिम्बिसार लाखौँ ब्रा≈मण र गृहपतिहरू सहित लिई तथागत विश्राम गरेको यष्ठीवनोद्यानमा आएको देखिन्छ । तथागत द्वारा चतुरार्य सत्यको उपदेश भएको पाइन्छ । यसबाट बिम्बिसारका प्रमुख परिषद्का बाह्र भागमा एघार भागलाई निर्मल चर्मचक्षु लाभ भयो भने एक भागले उपासकत्व ग्रहण गरेको बुझिन्छ । राजा बिम्बिसारले पनि त्रिरत्न शरणागतीलाई स्विकारे र वेणुवन समेत बुद्ध सङ्घलाई दान दिए जुन सङ्घको प्रथम अचल सम्पत्ति थियो । भिक्षु सङ्घको प्रथम विहार त्यही वनमा स्थापना भएको देखिन्छ ।
कपिलवस्तुमा बौद्ध सङ्घ
कपिलवस्तुका राजा शुद्धोधनले सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको र बिम्बिसारद्वारा प्रदत्त वेणुवन उद्यानमा धर्मदेशना गरिरहेको खबर पाई छोरालाई ल्याउन प्रतिनिधि मण्डल पठाए । एक हजार सिपाही सहित गएको टोली बुद्धको धर्मदेशना सुनी आफूहरू गएको उद्देश्य बिर्सी धर्मोपदेशले प्रव्रजित भए र कपिलवस्तु फर्केनन् । यसै प्रकारले नौ पटकसम्म पठाएका दूतहरू फर्केनन् । अन्ततः कालुदायी नामक मन्त्री एवम् बुद्धका बालसखालाई उनले राखेको प्रव्रजित हुन पाउने सर्त मानी पठाइए । एक हजार सिपाही डफ्फा समेत गएका कालुदायी धर्मोपदेश सुनी प्रव्रजित भए र शाक्यमुनि बुद्धबाट उपसम्पदा समेत ग्रहण गरेको देखिन्छ ।
कालुदायीले शुद्धोधनको सन्देशलाई सम्प्रेषण गरेपश्चात् फाल्गुण पूर्णिमाको दिन तीन सय भिक्षुहरू सहित गौतम बुद्ध राजगृहबाट कपिलवस्तुतर्फ प्रस्थान गरेको देखिन्छ । ठुलो सङ्ख्यामा रहेका भिक्षुहरूलाई बसोबासका लागि राजा शुद्धोधनले निग्रोध शाक्य उद्यानमा एउटा विहार बनाउन लगाए जसको नाम …निग्रोधाराम’ रहन गएको र हाल त्यो …कुदान’ भएको अनुमान गरिएको छ । नेपालमा निर्माण भएको विहारहरूमा …निग्रोधाराम’ पहिलो विहार भएको अनुमान लगाउन सकिन्छ । बुद्धको भिक्षा पात्र समाती बुद्ध र सारीपुत्रसँगै …निग्रोधाराम’ पुगेका गौतम बुद्धका भाइ नन्दले प्रव्रज्या ग्रहण गरेको सन्दर्भ र लौकिक उत्तराधिकार खोज्न यशोधराद्वारा पठाइएका सात वर्षे बालक राहुल बौद्ध सङ्घमा प्रवेश गरेको रोचक प्रसँग भेटिन्छ । नन्द पछि राहुलको भिक्षुत्त्व ग्रहणबाट दुखित राजा शुद्धोधनले बुद्धलाई गुनासो पोख्न पुगे भने बुद्धले उनीहरूले दुःख मुक्तिको मार्गतर्फ अग्रसर हुने सुअवसर पाएको बताई उनलाई आश्वस्त पारको देखिन्छ । साथै अबदेखि नाबालकले प्रव्रज्याभन्दा अघि अभिभावकको आज्ञा लिनु पर्ने नियम बनाइयो । प्रव्रज्या लिने क्रम बढ्यो । त्यहाँ पाँच सय गृहस्थहरूले भिक्षुत्व ग्रहण गरे भने सामान्य उपासक उपासिकाको त गन्ती नै नभएको ज्ञात हुन आउँछ ।
राजा शुद्धोधनले राजकुमार सिद्धार्थ गौतमले उपभोग गर्ने गरेको राजधानीदेखि उत्तरमा अवस्थित ग्रीष्मकालीन दरबारका साथै उद्यान सङ्घलाई दान दिएका थिए, जसमा विहार निर्माण भयो र धर्म–प्रचार कार्यलाई टेवा पु¥यायो ।
गौतम बुद्धले कपिलवस्तु छोडेपछि शक्कोधन शाक्यका दुई पुत्रहरू महानाम र अनिरुद्ध नामक युवकहरूमा आपसमा पहिला को प्रव्रर्जित हुने भन्ने विषयमा वादविवाद भएको पाइन्छ । अनुरुद्धले प्रव्रजित हुने निश्चयका साथ आमासँग अनुमति मागे तर सोझै नपाएको देखिन्छ । तर भद्दीय (भद्रीय) शाक्य प्रव्रजित नहुने विश्वासका साथ उनी भएमा मात्र प्रव्रजित हुन पाउने सर्त अघि सारेको देखिन्छ । राजघरानाका सदस्य र उच्च पदस्थ सरकारी कर्मचारी भद्दीयका साथै सुप्रबुद्धका पुत्र देवदत्त, अमृतोधनका छोरा आनन्द, भगु शाक्यकुमार र किम्बिल समेत प्रव्रजित हुने निश्चय गरी कौशल राज्यको सीमासम्म पुगेको देखिन्छ । उनीहरूमा राजकीय वस्त्राआभुषण त्याग गरी गरिबलाई दिने सल्लाह अनुरूप उपालि नामक तल्लो जातको गरिब हजामलाई वस्त्रमा पोका पारी दिएको पाइन्छ । उपालीले त्यो पोका खोल्दा वस्त्राभुषण देखी राजकुमारहरूले त सम्पूर्ण भौतिक सम्पत्ति त्याग गरेको स्मरण गरी सोही मार्ग अनुसरण गर्ने मनसाय राखी उनीहरूको पछि लागेको भनिएको छ । बुद्ध रहेको अनुप्रिया नगर वनमा पुगी पहिले उपालिको प्रव्रज्या भयो भने त्यसपछि अरू छ शाक्य युवाहरूले प्रव्रज्या ग्रहण गरेको देखिन्छ । त्यसै गरी निगण्ठ नाटपुत्रका उपस्थापक तथा शिष्य रहेका शाक्यमुनिका काका वप्प शाक्य बुद्ध कपिलवस्तुमा रहेको समयमा महामौद्गल्यानसँग कुराकानी गरिरहँदा आई धर्मोपदेश सुनी उपासकत्व ग्रहण गरे । पछि स्रोतापन्न भए ।
बौद्ध सङ्घमा महिलाको प्रवेश
बौद्ध सङ्घको इतिहासलाई सिंहावलोकन गर्दा महिला प्रवेशको रोचक प्रसँग भेटिन्छ । बुद्धले पहिले त महिलाको सङ्घमा प्रवेशलाई रोक लगाएको तर आफ्नी सानी आमा तथा आफूलाई बाल्यकालमा पालन पोषण गर्ने महामाया प्रजापतिको दृढ प्रतिज्ञा र आनन्दको विशेष आग्रहमा महिलाका लागि केही थप विशेष नियमहरू बनाई सङ्घमा प्रवेश दिएका थिए ।
कष्टकर पिडादायी पैदल यात्रा, सडकपेटीको बास, भिक्षा टन गर्दे कपिलवस्तुदेखि बैशाली सम्मको प्रन्ध्र दिवसीय यात्रा पश्चात् महाप्रजापति गौतमी एकाउन्न सदस्यीय महिला टोलीको नेतृत्व गर्दे गौतम बुद्ध विहार गरेको कुटीद्वारमा देखा परिन् । उनको अवस्था हेर्न लायक थियो । खुट्टाहरू लामो यात्राको कारण सुन्निएको थियो भने खुट्टाहरूबाट रगत बगिरहेको थियो । उनीहरू सबैले कपाल मुण्डन गरेका थिए भने राम्रा वस्त्र आभुषाणादिबाट मुक्त भई गैरिक चीवर धारण गरेका थिए । यस्तो अवस्था देखी सरोवरबाट सबेरै पानी ल्याउन गएका आनन्दले महाप्रजापतिलाई पहिचान गरी आउनाको कारण सोधे भने महाप्रजापतिले प्रव्रज्या ग्रहण गर्ने तीव्र इच्छा अभिव्यक्त गरिन् । आनन्दले आफूले लागे पुगेसम्म सहयोग गर्ने आश्वासन दिए ।
वस्त्र धारण गरिरहेका बुद्धको कुटीमा आनन्द प्रवेश गरी महाप्रजापतिको सम्पूर्ण अवस्थाको वृतान्त सुनाए र तथागतले मौन रही श्रवण गरेको पाइन्छ । आनन्दले बुद्धलाई महिलाहरूले धर्ममार्गमा लीन भई अर्हत्वसम्मका फल प्राप्त गर्न सक्छन् वा सक्दैनन् भनी सोधेको प्रश्नमा बुद्धबाट निश्चय नै प्राप्त गर्न सक्ने उत्तर आयो । त्यसपछि बुद्धलाई आनन्दले महिलालाई सङ्घमा प्रवेश दिन पहलपूर्ण आग्रह गरेको देखिन्छ । बुद्धले मान्य सारिपुत्र, मौद्गल्यायन, भद्दिय र महाकाश्यपलाई सल्लाहका लागि डाक्न पठाए । आपसमा विचार विमर्श पश्चात् महिलाहरूलाई पनि केही थप नियमहरू बनाई सङ्घमा प्रवेश दिएमा विरोधको सामना गर्न नपर्ने निर्णय भयो । महिलाहरूको प्रवेशका लागि निर्मित थप आठ नियमहरू जसलाई …अष्टगुरुधर्म’ भनिन्छ, ती निम्नानुसार प्रस्तुत छन्–
(क) प्रत्येक भिक्षुणीले आफ्नो तुलनामा कम उमेर र साधना समय भएको भिक्षुलाई समेत वन्दना, सम्मान र सत्कार गर्नुपर्ने ।
(ख) भिक्षुणीहरू वर्षावास बस्दा उनीहरूको सल्लाह र निर्देशनका निमित्त उपयुक्त दुरीमा भिक्षु सङ्घ हुनुपर्ने ।
(ग) प्रत्येक महिनामा दुई–पटक भिक्षुणीहरूले भिक्षुसङ्घको पर्यषण (प्रार्थना) गर्नुपर्ने ।
(घ) वर्षावास पछि भिक्षुणीहरूले दुवै सङ्घमा (भिक्षु र भिक्षुणी) प्रवारणा (याचना) गर्नुपर्ने ।
(ङ) गुरु धर्म प्राप्त भिक्षुणीहरूले दुवै सङ्घमा पक्षमानता लिनुपर्ने ।
(च) भिक्षुणीहरूले पूर्ण उपसम्पदाका लागि दुई वर्षको परीक्षण काल पुरा गर्नुपर्ने ।
(छ) भिक्षुणीहरूले भिक्षुहरू समक्ष आक्रोश प्रकट गर्न वा भिक्षुहरूको व्यवहारका सम्बन्धमा कुनै प्रकारको टीकाटिप्पणी गर्न नपाइने ।
(ज) भिक्षुहरूले भिक्षुणीहरूको सम्बन्धमा टीकाटिप्पणी र प्रश्नहरू गर्न पाउने ।
यी माथिका …अष्टगुरूधर्म’लाई स्वीकार गरेमा प्रव्रज्या दिने खबर आनन्द मार्फत गौतम बुद्धले महाप्रजापति समक्ष पठाए, जसलाई महाप्रजापति लगायत एकाउन्न जनाले सहर्ष स्वीकार गरेपछि प्रथम पटक महाप्रजापति सहितका महिलाहरूले महिला बौद्ध सङ्घ खडा गरी नयाँ इतिहास रच्न सफल भएको भेटिन्छ ।
सबै किसिमका विभेदहरूको विरुद्ध बिगुल फुक्दै हिँड्ने बुद्धले महिलाहरूको प्रवेशलाई किन अस्वीकार गरी करपूर्वक स्वीकार्र्नुपरेको थियो र तथागतको शासनमा स्त्री जातिलाई प्रव्रज्या प्राप्त नभएको भए श्रेष्ठ ब्र≈मचर्यशासन हजार वर्षसम्म चिरस्थायी हुने थियो भन्दै अब सङ्घको आयु महिला प्रवेशले अचिरस्थायी हुने भो भनी चिन्ता गरेको सन्दर्भ स्मरणीय छ । राजमहलको सुखलाई त्यागी यशोधरा पनि शाक्य र कोलिय महिलाहरूको भीड लिई प्रव्रजित भइन् । यशोधराको प्रव्रज्याका सम्बन्धमा विवाद देखिन्छ कतै महाप्रजापति गौतमीसँगै र कतै उनीभन्दा पछि प्रव्रज्या भएको उल्लेख भेटिन्छ । त्यसै गरी अम्बपाली नामक नगरबधूको निमन्त्रणलाई पनि गौतम बुद्धले स्वीकार गरी उनलाई धर्मलाभको अवसर दिनु भई उनी समेत सङ्घमा सामेल भएको देखिन्छ । धनी, गरिब, दुःखी, गणिका, नगर बधू लगायत अनेक तरहका महिलाहरूको समूहले सङ्घमा प्रवेश गरेको पाइन्छ ।
बौद्ध सङ्घमा विविध वर्गको प्रवेश
बुद्ध सङ्घमा श्रावस्तीको अनाथपिण्डक, कोशलराज प्रसेनजित र महारानी मल्लिका साथै बिम्बिसार साथै उनका पुत्र अभय राजकुमार, राजगृहका राज वैद्य जीवक जस्ता थुप्रै विशिष्ट व्यक्तिहरू मात्र नभएर समाजमा अछुत, तल्लो वर्ग, दुःखी, व्यभिचारी भनिएका वर्गको समेत प्रवेश पाई विविधताले स्थान पायो र यसले समाजमा अद्भुत नमुना मात्र प्रस्तुत गरेन समाजका तथाकथित संभ्रान्त र धर्मका ठेकेदारहरूलाई चुनौती समेत दिएको पाइन्छ । त्यस समयको नीचमा पनि नीच भनिएका अछुत चण्डालको हातबाट पानी खाएका आनन्दप्रति माया प्रेम गर्न खोज्ने प्रकृति नामक केटी देखि लिएर सडक बढारिरहेको तल्लो पोडे वर्गको सुनित नामको व्यक्ति पनि सङ्घमा सामेल भई प्रव्रज्या ग्रहण गरेको पाइन्छ । यसरी थुप्रै अस्पृश्य भनिएका शोषित–पीडित र समाजबाट सताइएकाहरूले सङ्घमा प्रवेश पाएको देखिन्छ । त्यसै गरी धनी व्यापारीकी पत्नी किसा गौतमी छोरा मरेको सन्तापबाट पागल सरह भई लास बोकी बुद्ध कहाँ गइन् । बुद्धबाट कोही मृत्युविहिन घरबाट एक मुठी तोरी ल्याउन सकेमा बचाइदिने आश्वासन पाई हिँडेकी उनले मृत्यु नभएको घर फेला नपारी त्रिरत्नमा शरणगत भइन् । त्यसै गरी धनाढ्य व्यापारीकी छोरी पटाचारा नोकरसँग प्रेमालाप गरी दूर देशमा भागिन् । माइत आउन लाग्दा बाटामा ठुलो प्रलय भई दुई छोरा र पतिको मृत्युबाट पागल भएकी उनी पनि बुद्धको शरणमा गई प्रव्रज्या ग्रहण गरिन् । त्यसै गरी थुप्रै गणिकाहरू पनि बुद्धको शरणगत भई आफूलाई अहोभाग्यशाली बनाए । कोशल जनपदको डाँकु अङ्गुलिमाललाई प्रव्रज्या दिई भिक्षुमा रूपान्तरण गरियो साथै राज गृह पर्वतमा रहने ५०० डाँकुहरूको समूहलाई परिवार सहित उपासक बनाइयो । राज गृह नजिक निवास गर्ने जनावर मारेर सिकार गर्ने १२२ मानिसहरूको समूहले पनि उपासकत्व ग्रहण गरेको देखिन्छ । यसरी बुद्धको सङ्घ विविध सामाजिक वर्गको समस्थान भएको अनुकरणीय र नवीन संस्थाकोको रूपमा देखा पर्यो ।
अन्त्यमा.
समग्रमा बौद्ध धर्म र सङ्घको विस्तारमा कपिलवस्तुको अहम् भूमिका रहेको पाइन्छ । गौतम बुद्धको सारनाथमा भएको प्रथम धर्मचक्रप्रर्वतनमा सम्मिलित पाँच भिक्षुहरू कपिलवस्तुका ब्रा≈मणहरू थिए भने प्रथम प्रव्रजित महिला सिद्धार्थ गौतमलाई पालन–पोषण गर्ने माता प्रजापति गौतमी पनि कपिलवस्तुकै थिइन् । प्रथम श्रामणेर बन्ने राहुल पनि कपिलवस्तु कै थिए । साथै, बौद्ध साहित्य त्रिपिटकलाई सङ्ग्रह गर्नका लागि भएको प्रथम सङ्गायनामा सूत्रपिटक आनन्द र विनयपिटक उपालिबाट सङ्ग्रह गर्नमा महत्वपूर्ण योगदान पुग्नुले कपिलवस्तुको गरिमालाई उच्च बनाएको देखिन्छ । थुप्रै कपिलवस्तुका मानिसहरूले बुद्धको देशनालाई अघि बढाए । तसर्थ बुद्ध, धर्म र सङ्घको प्रसँग उठाउँदा कपिलवस्तुलाई सदा स्मरण गर्नु पर्दछ । इतिहासको गरिमालाई कपिलवस्तुले कायम गर्न नसकेको प्रसँग लाई बुझी कपिलवस्तुलाई पुनः ऐतिहासिक कपिलवस्तु र बौद्ध धर्मको यत्र–तत्र–सर्वत्र चर्चा परिचर्चा हुने कपिलवस्तुका रूपमा विकास गर्नु आवश्यक हुन गएको छ ।
भवतु सब्ब मंगलम्