गृहपृष्ठ राजनीति – नेपाली काँग्रेसभित्र पार्टी नेतृत्व कब्जा गर्ने रणनिति

– नेपाली काँग्रेसभित्र पार्टी नेतृत्व कब्जा गर्ने रणनिति

प्रकाशित मिति:

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र पार्टी नेतृत्व कब्जा गर्ने रणनिति बनाउने दौडधुप सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले गत साता पार्टीको उपसभापति पदमा विजय गच्छदारलाई नियुक्ति गरेपछि काँग्रेसभित्रको विवाद फेरी बढेको छ।

यसै बीच काँग्रेस नेता रामचन्द्र पौडेलसहित नेतृत्वसँग असन्तुष्ट नेताहरुको भेला सोमबार बसेको छ । त्यस्तै नेविसंघको महाधिवेशन समयमा गर्न नखोजेको भन्दै महामन्त्री कुन्दन राज काफ्लेलगायतका असन्तुष्ट समुहले विधिवत महाधिवेशन गर्न आग्रह गरेको छ भने टिके प्रथाबाट नेतृत्व चयन गर्न खोजे पार्टी नेतृत्वविरुद्ध नै संघर्ष गर्ने चेतावनी दिएका छन्।

अहिले संघीय संरचना अनुसार पार्टीको विधान बनाउन जुटेको काँग्रेसले आफु अनुकुल बनाउने प्रयासमा लागेको देखिएको छ। त्यस्तै अर्को तिर गुट-उपगुटमा विभाजित काँग्रेस सभापति देउवाविरुद्ध अन्य समुह एकजुट हुनसक्ने देखिएको छ। निर्वाचनमा पराजय पछि विक्षिप्त बनेको काँग्रेस पार्टी भित्रको आन्तरिक बबण्डरले झन् कम्जोर हुनसक्ने विश्लेषण राजनीतिक विश्लेषकहरुले गरिरहेका छन्।

प्रतिपक्षी दलको भूमिका काँग्रेसले सहीरुपमा खेल्न नसकेको आरोप लागिरहेका बेला काँग्रेस फेरी आन्तरिक झगडामा फस्दै जाँदा यसको फाइदा सरकार र सत्तारुढ दल नेकपालाई हुने विश्लेषण पनि गर्न थालिएको छ। पार्टीलाई मनोमानी ढंगले चलाएको र पछिल्लो पटक गच्छदारको नियुक्तिले काँग्रेसमा ठुलो बबण्डर ल्याउने र सभापति देउवालाई अप्ठारो पर्ने संकेत पछिल्ला घटनाक्रमले देखाएको छ।

सभापति देउवालाई कम्जोर बनाउन कोइराला परिवारका नेताहरुसहित रामचन्द्र पौडेल, प्रकाशमान सिंह अर्जुननरसिंह केसी र रामशरण महत एक ठाउमा उभिनुले देउवाका विरोधीहरु एक ठाउमा हुने वातावरण बन्दै गएको देखिएको छ। यसको असर मङ्सिरमा हुने पार्टीको महासमिति बैठकमा पनि देखिन सक्ने बताइन्छ।

सुजाताको घरमा भेला :

काँग्रेस नेतृ सुजाता कोइरालाको निवासमा सोमबार बिहान भएको बैठकमा रामचन्द्र पौडेलसहित शेखर कोइराला, सशांक कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी सहभागी थिए ।

अनौपचारिक रुपमा बसेको यस बैठकमा सभापति देउवाले गच्छादारलाई उपसभापति बनाएको विषय जोडदार रुपमा उठेको बताइएको छ। सुजाताले उपसभापतिमा विजयकुमार गच्छदारलाई नियुक्ति गर्नु आपत्तिजनक काम भएको विषय उठाएकी थिइन् । अन्य नेताहरुले समेत सभापतिको निर्णयमा असन्तुष्टि व्यक्त गरेका बताइएको छ ।

यसअघि पनि सुजाता कोइरालाले पार्टीको आन्तरिक विवादबारे छलफल गर्न भन्दै शेखर र सशांक कोइरालालाई एक बिहान आफ्नै निवासमा बोलाएर छलफल गरेकी थिइन् ।
साथै बैठकमा अर्का नेता अर्जुन नरसिंह केसीले देउवाले विधान र प्रक्रिया मिचेर गच्छदारलाई नियुक्त गरेको भन्दै गच्छदारलाई उपसभापति बनाउने बिषयमा कुनै विवाद नभएपनि प्रक्रिया पूरा गरेर जानुपर्ने सुझाव दिएका थिए।

बैठकमा रामचन्द्र पौडेल, रामशरण महतलगायतका नेताहरुले आफ्ना धरान राखेपनि महामन्त्री डा.शशांक कोइरालाले कह्सै केहि नबोलेको बताइएको छ । बैठकमा महासमिति बैठक, नेविसंघ विवादलगायत विषयमा पनि छलफल भएको थियो।

नेविसंघमा विवाद :

नेविसंघको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो ।

नेविसंघ केन्द्रीय समितिको बहुमतको आधारमा उमेरहद हटाउने प्रस्ताव ल्याए पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले उमेरहद लगाउने निर्णय गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । त्यसपछि कार्तिक २० गते बसेको केन्द्रीय समितिको बैठकले भातृ संगठन व्यवस्थित गर्नका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समिति पनि गठन गरेको भएपनि त्यसले ठोसरुपमा काम गरेको देखिएको छैन ।

वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ गते सकिएको भए पनि तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गतेसम्मका लागि म्याद थपिएको थियो ।

नेविसंघले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।

पार्टीका नेताहरु नै नेविसंघको उमेरहद र विधानमा विवादित बनेका कारण नेविसंघले कात्तिक १६ देखि १८ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेको हो ।

नेविसंघका अध्यक्ष महर नेविसङ्घको केन्द्रीय समितिले तोकिएकै समयमा महाधिवेशन गर्नका लागि विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले फाइनल नगर्दा निर्वाचन गर्न नसकिएको बताउछन् । पार्टीले विधान र नियमावलीलाई अन्तिम रूप दिएर नेविसङ्घमा पठाए निर्वाचन गराउन आफू तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि नेविसङ्घको महाधिवेशन थप अनिश्चित बनेको हो ।

असन्तुष्टहरुको चेतावनी :

कात्तिक १६ गतेदेखि काठमाडौंमा हुने भनिएको १२ औं महाधिवेशन पनि पछि सरेपछि महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट पक्षले महाधिवेशनको सुनिश्चित गराउन माग गर्दै पार्टी सोमबार सभापति शेरबहादुर देउवालाई दवाव दिएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री काफ्लेले विधानसम्मत ढंगले पार्टीको महाधिवेशन गराउन माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनु परेको बताए । उनले संस्थापन पक्षले नेतृत्व कब्जा गर्न विधान विपरितका गतिविधि गरेको भन्दै त्यसलाई रोक्न पनि पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए ।

असन्तुष्ट पक्षले तत्काल महाधिवेशन सुनिश्चित हुने वातावरण नबनाए पार्टी नेतृत्वविरुद्ध नै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ । असन्तुष्ट पक्षले नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोक्ने पार्टीको निर्णयप्रति पनि आपत्ति जनाउँदै आएको छ । महामन्त्री काफ्लेले पार्टी नेतृत्वले संघको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

घेराबन्दीमा देउवा :

सरकार लगातार अलोकप्रिय हुदै गर्दा त्यसको प्रत्यक्ष फाइदा लिनु पर्ने प्रतिपक्षी दल काँग्रेस अहिले आफ्नै घेराबन्दीमा परेको छ।  नेविसंघ विवाद र मूल पार्टी भित्र नेताहरु नेतृत्वविरुद्ध एकत्रित हुदै गर्दा सभापति देउवा विस्तारै पार्टी भित्र घेराबन्दीमा पर्दै गएको देखिएको छ। पार्टीको पराजय पछि स्पष्ट कारण दिन नसकेएको साढे २ बर्षसम्मपनि पार्टीका समितिहरुले पूर्णता नपाएको, नियुक्तिहरु पनि विवादरहित हुन् नसकेको, नेविसंघको विवाद बढ्दै गएको अवस्थामा पार्टी सभापति घेराबन्दीमा परेका छन्।
निर्वाचनमा पराजयपछि देउवाले पार्टीको स्पष्ट बाटो देखाउन र निराश रहेका कार्यकर्तालाई आस्वस्त पार्न नसकेको देखिएको छ। यसको असरको रुपमा उनले पार्टीको महासमिति बैठकमा अन्य गुट एक भएर देउवाविरुद्ध जाइलाग्ने सम्भावना देखिएको छ।

सम्बन्धित् समाचार