अहिले नेपालमा वैकल्पिक राजनीतिक दल निर्माणको अभियानमा देखिएका विवेकशील साझा र नयाँ शक्ति दुवैको अवस्था उस्तै देखिएको छ ।
विवेकशील साझाको फुट :
करिब १७ महिनाको सहकार्यलाई तत्कालिन विवेकशील नेपाली दलमा रहेका नेताहरुले फेरी सोहि नामको दल निर्वाचन आयोगमा दर्ता गरेर आफ्नो बाटो अलग गरे । बीबीसीमा पत्रकारिताको लामो अनुभव सम्हालेर करिअर ‘चेन्ज’ गरेर राजनीतिमा आएका रवीन्द्र मिश्र र समाजसेवी तथा अधिकारकर्मी उज्वल थापा विवेकशील साझा पार्टीका रुपमा एक भएर अगाडी आउदा नेपाली राजनीतिमा एक किसिमको तरंग पैदा भएको थियो । स्थानीय निर्वाचनमा विवेकशीलले ल्याएको मत र साझा पार्टीमा मिश्रको नेतृत्वलाई आमरुपमा नेपाली राजनीतिको विकल्पका रुपमा हेर्न थालिएको थियो । तर आम निर्वाचनमा विवेकशील साझाले पाएको मत लाई हेर्दा परम्परागत राजनीतिक दलको दबदबा अझै केहि समय चल्ने र वैकल्पिक राजनीतिको सम्भावना अझै केहि समयका लागि लम्बिएको जस्तो देखिएको थियो ।
आम निर्वाचनको पराजयलाई वैकल्पिक राजनीतिक शक्तिका लागि पहिलो झड्का मान्दा अहिले फुटलाई दोस्रो झड्काका रुपमा लिन सकिन्छ ।
राजनीतिमा एकताको ज्यादै महत्व ठुलो हुने गर्दछ । अंकगणितीय हिसाबले र मनोवैज्ञानिक हिसाब दुवैले । झन् आफ्नो सैद्धान्तिक उद्देश्य पाउन र राजनीतिक सफलता लिन समान उद्देश्य भएका व्यक्ति, समूह र पार्टीबीच एकता हुनु आवश्यक मानिन्छ । आफ्नो एजेण्डा बोक्ने आकार जति धेरै हुन्छ, त्यो राजनीतिक दलको शक्ति देखिन थाल्छ । अन्यथा छिटफुट देखिने राजनीतिक अनुहार वर्षातको खहरे साबित हुन्छ । उनीहरुलाई सधैँ मूलधारको राजनीतिक क्षेत्रभित्र अटाउन गाह्रो पर्छ ।
भर्खरै जन्मिएको बच्चाजस्तो यो दल २ वर्षको नहुँदै फुट्नुमा अहिले विश्लेषण गर्दा दुई प्रमुख कारण देखिन्छ । पहिलो यसले टेक्ने आधारहरुको पहिचान गर्न नसकेर र यसले टेकेका आधारहरु गलत भएर ।
रवीन्द्र मिश्र, मुमाराम खनाल, केशव दाहाल, सूर्यराज आचार्यलगायतका विवेकशील साझाका नेताहरु अलिक बौद्धिक जगमा हुर्किएको र उज्वल थापा, रञ्जु दर्शनाहरु भने समय र परिस्थितिगत आधारले खडा गरेका नेताहरु हुन् । देशलाई आफ्नो भिजनमा चलाउने वैकल्पिक राजनीतिक सपना बोकेको शक्ति बौद्धिक हुन जरुरी हुन्छ । तर कहिले काँही त्यहि बौद्धिकताको धरातल महँगो साबित हुन सक्ने हुन्छ ।
उज्ज्वल थापा, रञ्जु दर्शनाहरुको राजनीतिक धरातल कमजोर छ तर उनीहरुले राजनीतिक संस्कार, जवाफदेहिता र सभ्य नागरिक हुने अभ्यास गर्दै आफुलाई अगाडी ल्याए । सडकमा १०-१५ जना भेला भएर नेपाल बन्दको विरोध गर्ने, माइतीघरमा पुगेर अन्यायविरुद्ध कालोझण्डा प्रदर्शन गर्ने, सामाजिक न्याय माग्नेजस्ता उनीहरुले विगतमा गर्दै आएका सामान्य कामहरुलाई नै आफ्नो राजनीतिक धरातल बनाउन खोजे । यस अर्थमा यो परम्परागत राजनीति भन्दा अलि पृथक त थियो नै । अर्को तिर रविन्द्र मिश्र लगायत उनको टिम धरातलमा खासै काम नगरे पनि बहस र मिडियामा ठुला दललाई आरोप लगाएर राजनीतिको सुरुवात गरे । कार्यकर्ता तहमा वैचारिक स्पष्टता बनाउन भन्दा ठुला दललाई वैचारिक रुपले आक्रमण गरेर चुनाव जित्ने रणनीति त्यति बेला तत्कालिन साझा र विवेकशीलसँगको एकता पछि पनि देखियो ।
१६-१७ महिना आगाडीको अवस्थालाई हेर्ने हो भने सामाजिक संजाल र वैचारिक वर्गको दबाबमा विवेकशील र साझाका नेतृत्व दबाबमा आएर एकता गरेको अहिले आएर पुष्टि हुदै छ । यसमा कुनै वैचारिक एकता या सैदान्तिक एकता थिएन । त्यो एकता कार्यगत एकता जस्तो भयो जुन १७ महिनामा टुंगियो ।
रञ्जु दर्शनाले काठमाडौंको मेयरका लागि पाएको भोट र रवीन्द्र मिश्रले प्रकाशमानसिंह विरुद्ध पाएको भोटको पृष्ठभुमिलाई नहेरी विश्लेषण गरेर मात्र विवेकशील साझाको सफलता हो भन्नु मुर्खता हुन्छ । रञ्जुले पाएको भोट काँग्रेसका उम्मेदवारका कारण र रविन्द्र मिश्रले पाएको मत एमालेका उम्मेदवार नहुनुलाई उल्लेख नगर्दा सहि विश्लेषण हुदैन । त्यसैले दुवैले यति मत ल्यायौ भनेर फुर्किनु आवश्यक छैन । राम्रो संगठन हुन्थ्यो भने राष्ट्रिय पार्टी बन्नसक्ने मत किन आएन भन्ने प्रश्नको उत्तर अझै आएको छैन ।
अर्को पक्ष चुनावमा हारपछि दुवै अहिले अस्तप्रायः र अझ खुलाएर भन्नुपर्दा राजनीतिक ‘बेरोजगार’ जस्ता हुन पुगे । पार्टीले आशलाग्दो गरी संगठन विस्तार गर्न सकेन भने देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने आधार पुष्टि नै सकेन ।
यसविचमा नयाँ सरकार बनेर सिन्डिकेट, ३३ किलो सुनकाण्ड, विकासको सुस्त गति, सरकारका राजनीतिक नियुक्ति, वाइडबडी खरिद प्रकरण, एशिया प्यासिफिक सम्मेलन जस्ता सरकारका विवादस्पद निर्णय र काममा विवेकशील साझा प्राय: मौन अवस्थामा नै रह्यो । एउटा राजनीतिक दल जति सक्रिय र ‘रियाक्टिभ’ हुनु पर्ने हो त्यति हुन सकेन ।
शक्ति सकिएको नयाँ शक्ति :
जनयुद्ध गरेर देशको कायापलट गरेका डा. बाबुराम भट्टराईले अन्तत: पार्टी छोडेर नयाँ शक्ति नेपालको निर्माण गरे । तत्कालिन माओवादीका यही प्रभावशाली नेताहरुलाई लिएर डा. भट्टराईले पार्टी त बनाए तर उनको वैकल्पिक दल बनाउने अभियान भने उनको योजना विपरित हुन पुग्यो । प्रतिनिधि सभामा डा. भट्टराईले काँग्रेसको सहयोगमा चुनाव जित्नु बाहेक नयाँ शक्तिलाई आमरुपमा जनताले स्वीकार गर्न सक्ने बनाउन उनी असफल भए ।
पार्टी गठन गर्ने बेलाका अधिकांश उनका सहयोगी नेताहरु कति पुरानै पार्टीआमा फर्किए भने कतिले उनलाई छोडी सके । अहिले डा. भट्टराईको राजनीतिक कद नेपाली राजनीतिमा साघुरिएको छ भने उनि राष्ट्रिय राजनीतिमा भूमिका विहिन बनेका छन् । यति लामो समय राजनीति गरेका डा. भट्टराई अहिले नयाँ शक्तिलाई वैचारिक रुपमा स्थापित गराउन नै संघर्ष गरिरहेका छन् । काम गर्ने शैली र उनका अगाडी पछाडी पुरानै राजनीतिक संस्कारका नेता कार्यकर्ता भएकाले वैकल्पिक शक्तिको नारा सत्तामा जनाए भर्याङ हो भन्ने अनुमान गर्न सकिन्छ ।
समग्रमा हेर्ने हो नेपालमा वैकल्पिक राजनीति गर्ने भनेका विवेकशील साझा र नयाँ शक्तिको एउटै समस्या देखिन्छ । त्यो हो वैचारिक स्पष्टता । राजनीतिमा नेतृत्वको स्वीकार्यता या वैचारिक स्पष्टता दुई मध्ये एक हुन् अनिवार्य हुन्छ । अहिले विवेकशील साझा र नयाँ शक्ति दुवै दलमा दुवै कुराको कमि देखियो, जसका कारण उनीहरु निर्वाचनमा पराजय भए भने आमजनताले वैकल्पिक राजनीतिलाई स्वीकार गरेन । विवेकशील साझाको फुट र नयाँ शक्तिको कमजोर अवस्थाले वैकल्पिक शक्तिको स्थापना कमजोर नै देखिन्छ भने आउदा केहि निर्वाचनसम्म पनि त्यो बदलिने सम्भावना देखिदैन ।
छिमेकी मुलुक भारतमा उदाएका केजरिवालले दिल्लीमा चुनाव जितेर अहिले सरकार नै चलिरहेका छन् । उनको भ्रष्ट्राचारविरोधी आन्दोलनले तत्कालिन भारतीय काँग्रेसको सरकार नै चुनाव हार्न पुग्यो । निश्चित उद्धेश्य प्राप्तिका लागि केजरिवालको आन्दोलनलाई जनताले आमरुपमा स्वीकार गरे । तर हामी कँहा केजरिवाल बन्न त खोजियो तर उनले गरे जस्तो आन्दोलन सिर्जना गर्न वा नयाँ आन्दोलनको नेतृत्व दिन विवेकशील साझा र नयाँ शक्ति दुवै असफल भएका छन् ।
अहिलेको फुटको संदेश पनि कहिँ न कही त्यहि नै हो । आपसी असहमति, नेतृत्वको अक्षमता आदि बहाना भए पनि सहि कुरा नेतृत्वको क्षमता र वैचारिक अस्पष्टताले अहिले नेपाली राजनीतिले वैकल्पिक शक्तिको पनि विकल्प खोजेको देखिन्छ ।