मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १२ वर्षदेखि सक्रीय हुँदै आएको संस्था के.आई.एन नेपाल कपितवस्तुले आफ्नो ३ वर्षको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार के.आई.एन नेपाल कपिलवस्तु शाखाले सीमा नाकामा सीमा निगरानी कार्यक्रम अन्तर्गत ३ वर्षको अवधिमा १२ हजार ४ सय ६७ जनालाई सीमा निगरानी, सूचना सम्प्रेषण परामर्श तथा उद्धार गरिएको हो। जसमध्ये ३सय ६१ जनालाई उद्धार पश्चात परिवारमा पुनर्मिलन गराइएको, २ सय २६ जनालाई आपतकालिन सुरक्षित आवास सेवा प्रदान गरिएको छ । ३० जनालाई उद्धार पश्चात चितवनस्थित सुरक्षित आवास गृहमा सीप विकास तालिममा सहभागि गराइएको साथै इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका ९ वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दाका १४ जनाको प्रभावितहरुले ११ जना विचौलिया विरुद्ध किटानी जाहेरी दिएका थिए । र जसमध्ये सम्माननीय जिल्ला अदालत कपिलवस्तुले ७ वटा मानव बेचबिखन तथा ओसारपसारसंग सम्वन्धित मुद्दामा अभियुक्तहरुलाई १—१० वर्ष सम्मको जेल सजायको फैसला भइसकेको जानकारी जिल्ला संयोजक केसर विश्वकर्माले दिए ।
शाखा कार्यालय मार्फत ३ वर्षको अवधीमा उद्धार गरिएका प्रभावितहरुलाई आधार मान्ने हो भने मुख्य गरी १५ –२५ वर्ष उमेर समुहका महिला तथा किशोरीहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, शिक्षाबाट बंचित, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग तथा बेचबिखनको बदलिदो स्वरुपको कारण महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको परामर्शकर्ता पवित्रा चौधरी बताउनुहुन्छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंगको प्रभावकारी समन्वय र सहकार्य मार्फत अगाडि बढ्दै आईरहेको संस्था के.आई.एन नेपाल कपिलवस्तुले समुदाय विकास कार्यक्रम अन्तर्गत समुदायमा रहेका मानव बेचबिखन तथा लैङ्गिक हिंसाका सम्भावित महिला तथा किशोरीहरुलाई सक्षम तथा आत्मनिर्भर बनाउन समुदाय स्तरमा सचेतनामुलक र आयमुलक कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ । के.आई.एन नेपालको सहयोगमा कपिलवस्तुको बुद्धभुमि न.पा. टिक्करमा महिला समुह गठन गरी बचत गर्न थालेका महिलाहरुद्धारा संचालित श्री चेली कृषि सहकारीमा हाल ४०६ जना सदस्यहरु आवद्ध रहेका छन् ।
हाल समुदायमा संचालित कानुनी साक्षरता तालिम, आयमुलक र व्यवसायमुलक तालिमहरु तथा सचेतनामुलक कार्यक्रमहरुको माध्यमद्धारा मानव बेचबिखनका घटनाहरु न्युनिकरण हुँदै आइरहेको र उक्त कार्यक्रमहरुको माध्यमबाट महिलाहरु सक्षम र आत्मनिर्भर हुदै आइरेहेको र जसले गर्दा मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्युनिकरणमा सहयोग पुगेको धारणा विश्वकर्माको रहेकोे छ । आफ्नो संस्थामा कार्यरत मिहेनती कर्मचारी स्थानीय सरकार, प्रहरी प्रशासन तथा समुदायमा रहेका व्यक्तिहरुको साथ सहयोग तथा सहकार्यको माध्यमबाट नै संस्थाले यो उपलव्धी हासिल गर्न सफल भएको हुनाले आगामी दिनहरुमा पनि सबैको साथको अपेक्षा सहित प्रभावकारी रुपमा अघि बढ्ने विश्वास जिल्ला संयोजकको रहेको छ ।