गृहपृष्ठ Featured बुधबार ताप्लेजुङमा भएको एयर डाइनेष्टीको हेलिकप्टर दुघर्टनामा संस्कृति, पर्यटन तथा नगरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पनि निधन भएपछि देश शोकमा डुबेको छ ।

बुधबार ताप्लेजुङमा भएको एयर डाइनेष्टीको हेलिकप्टर दुघर्टनामा संस्कृति, पर्यटन तथा नगरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पनि निधन भएपछि देश शोकमा डुबेको छ ।

प्रकाशित मिति:

नेकपाले एकजना युवा र जुझारु नेता मात्र गुमाएन, देशले एकजना विकासप्रेमी मन्त्रीलाई समेत गुमाउनु परेको छ ।

२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस जामुनबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनुभएका रवीन्द्र अधिकारीले आफ्नो गाउँकै श्री ब्रह्मज्योति प्रावि शान्ति पँधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि (हालको उच्च मावि) बरपाण्डेथुमबाट माध्यमिक शिक्षा हासिल गर्नु भएको थियो ।

बुवा इन्द्रप्रसाद अधिकारी माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । जसका कारण पनि उहाँ सानैदेखि शैक्षिक वातावरणमा हुर्कनुभयो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियू, रेडक्रस र क्लबहरुमा संलग्न हुनुभयो ।

विद्यार्थीका लागि निःशुल्क ट्युसन कक्षा, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीति र उच्च शिक्षा

मन्त्री अधिकारी प्रवेशिका उत्तीर्ण गर्नेबित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना हुनुभयो । पनि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गर्नु भयो । उहाँ २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियू सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियू सभापति निर्वाचित हुनुभयो ।

२०५६ सालमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष बन्नुभएका अधिकारी स्ववियू काउन्सिल नेपालका संयोजक निर्वाचित हुनुभएको थियो ।

पञ्चायतकालमा विद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशतालाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि व्यबस्थासँग नै जोडिएका हुन्थे । आजको आवश्यकता : संयुक्त संघर्ष प्रजातन्त्रका लागि पञ्चायतको अन्त्य भन्ने नाराका साथ ०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्र पञ्चायतकालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताउनु भएको थियो ।

२०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उहाँले क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । ०४६ को परिवर्तनपछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नु भएको थियो ।

पार्टी राजनीतिमा

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएको थियो । २०४० मा इलाका पार्टी कमिटीमा, २०४६ र ०४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भयो । २०६० सालमामा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा पनि पुनः सचिवमा निर्वाचित हुनुभएको थियो ।

सभाषद र सांसदको रुपमा रविन्द्र अधिकारी

स्वर्गीय मन्त्री रवीन्द्र अधिकारी २०६४, २०७० र २०७४ सालगरी ३ पटक कास्कीबाट निर्वाचित हुनुभएको थियो । २०७० सालको संविधानसभा र रुपान्तरित संसदको सार्वजनिक लेखा समितिको सभापति हुनुभएका उहाँले विकास निर्माणका काममा धेरै चासो दिनुहुन्थ्यो । संसद्को विकास समितिमा र अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहनुभयो ।

पोखरा र देशको विकासमा रवीन्द्र अधिकारी

मूलधारको राजनीतिमा आएदेखि नै विकास निर्माणमा जोड दिएका अधिकारीले आफ्नो जन्मथलो कास्की मात्रै होइन, राष्ट्रिय विकासमा पनि ठूलो भूमिका खेल्नुभएको थियो । अधिकारीले पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत तालतलैयाको संरक्षण, सरसफाई, पोखराको बाटो फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने , पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायत विभिन्न विद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु, खेलकुदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नुभएको थियो ।

पोखरालाई विश्वकै उत्कृष्ट शहर बनाउने सपना बोकेका अधिकारी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाण्डौ पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाण्डौ पोखरा रेल वे, मध्यपहाड़ी राजमार्गलगायतका पूर्वाधार निर्माणको लागि पनि अधिकारी लागिरहनुभएको थियो ।

उहाँ पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजनाको अनुगमन तथा निरीक्षण र यी आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल हुनुहुन्छ ।

पर्यटनमार्फत देशको कायापलट गर्ने सपना

२०७४ सालको चैतमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा नियुक्त भएपछि मन्त्री अधिकारीको दौडधुप झनै बढेको थियो । सन् २०२० मा २० लाख पर्यटक ल्याउने विषयदेखि नेपाल वायुसेवा निगममा दर्जनभन्दा धेरै अन्तर्राष्ट्रिय उडान भर्ने ठूला विमान ल्याउने उहाँको योजना थियो ।

उहाँले सन् २०२० मा २० लाख पर्यटक ल्याउने र त्यसको लागि सबै निकायसँगको समन्वयलाई सधै नजिक राख्नुभएको थियो । पर्यटनसँग सम्बन्धित सरकारी र निजी क्षेत्र सबै उहाँको साथमा थियो ।

देशभित्रैका आन्तरिक विमानस्थलको मर्मत र विस्तारमा उहाँको जोड थियो । उहाँ आन्तरिक विमानस्थलको उद्घाटनमा व्यस्त हुनुहुुन्थ्यो । गएको हप्ता मात्रै खोटाङको थामखर्क विमानस्थलको उद्घाटन गरेका अधिकारी तेह्रथुम पनि चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनको लागि नै जानुभएको थियो ।

यस्तै त्रिभुवन विमानस्थलको विस्तारमा उहाँ लागिरहनुभएको थियो । आउँदो चैतदेखि विमानस्थलको धावनमार्गको पिच फेर्ने पनि उहाँकै सक्रियताको कारण नै थियो ।

यस्तै भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अलिकति रोकिँदाबित्तिकै विभिन्न निकाय पुगेर काम सुरु गराइहाल्नुभएको थियो । उहाँकै सक्रियताले भैरहवामा आउँदो असोजदेखि अन्तर्राष्ट्रिय उडान हुने गरी काम भैरहेको छ ।

पोखरा क्षेत्रीय विमानस्थल पनि सन् २०२२ भित्र जसरी पनि सम्पन्न हुने गरीका कामलाई तिव्रता दिनुमा स्वर्गीय मन्त्री अधिकारीकै हात रहेको छ ।

एसियाकै हब विमानस्थलको रुपमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि उहाँले धेरै प्रक्रिया अघि बढाउनुभएको थियो । रुख कटानको विवादलाई सुभबुझपूर्ण ढंगले उहाँले सुल्झाउने प्रयास गर्नुभएको थियो ।

नेपाली जहाजलाई युरोप प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउन उहाँले कुटनीतिक रुपमा पनि पहल गर्नुभएको थियो । पटक–पटक उहाँले युरोपेली युनियनका राजदूतसँग छलफल गर्नुभएको थियो ।

यस्तै लुकेर रहेका पर्यटकीय गन्तव्यलाई बाहिर ल्याउन यसै आर्थिक वर्षको बजेटमा एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेर बजेट छुट्याउने काम पनि मन्त्री अधिकारीकै पहलमा भएको थियो ।

भूकम्पले ध्वस्त बनाएका काष्ठमण्डप, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माणमा उहाँको ठूलो चासो थियो । त्यस्ता क्षेत्रमा उहाँले पटक–पटक भ्रमण गर्नुभएको थियो ।

नेपालको कुल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको ३/४ प्रतिशत मात्रै योगदान दिएको तथ्यांकमा उहाँको ठूलो आपत्ती थियो । उहाँले आउँदो एक दुई वर्षमै कुल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने भन्दै काम गरिरहनुभएको थियो ।

मन्त्री भएकोमा घमण्ड हैन, सबैका प्रिय

केही मन्त्री सर्वसाधारणसँग तर्किएर हिँड्ने स्वभावका भए पनि स्वर्गीय मन्त्री अधिकारी भने आम सर्वसाधारणसँग हात मिलाउँदै, गला मिलाउँदै हिँड्नुहुन्थ्यो । नेता, कार्यकर्ता, मन्त्रालयका कर्मचारी सबैसँग नजिक हुनहुन्थ्यो । उहाँलाई भेट्न खास गाह्रो थिएन ।

केही महिनाअघि पाेखरामा भएकाे नेपाल साहित्य महाेत्सवमा सुभेच्छुकहरुसँग तस्बिर खिचाँउदै अधिकारी
केही महिनाअघि पाेखरामा भएकाे नेपाल साहित्य महाेत्सवमा सुभेच्छुकहरुसँग तस्बिर खिचाँउदै अधिकारी

अझ पत्रकार र सञ्चारमाध्यमसँग त उहाँ निकै घुलमिल हुनुहुन्थ्यो । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानमा भएको भनिएको अनियमिततामा स्वर्गीय मन्त्री अधिकारीको पनि नाम जोडिएको थियो । तर उहाँले जुनसुकै समयमा पनि डटेर त्यसको सामना गर्नुभयो र अनियमिततामा आफू संलग्न रहेको पाइए राजनीतिबाटै सन्यास लिनेसम्मको वाचा गर्नुभएको थियो ।

सम्भावना नै सम्भावना रहेको देश नेपाललाई पर्यटनमार्फत सम्बृद्ध बनाउने मन्त्री अधिकारीको धोको अधुरै रहेको छ ।

मन्त्री अधिकारीलाई हार्दिक श्रद्धाञ्जली !

सम्बन्धित् समाचार