गृहपृष्ठ Featured एउटा सपना दुबईमा ढल्छ, अर्को नेपालमा !-पढ्नुस् र शेयर गर्नुस् ।

एउटा सपना दुबईमा ढल्छ, अर्को नेपालमा !-पढ्नुस् र शेयर गर्नुस् ।

प्रकाशित मिति:

वैदेशिक रोजगारीका वियोगान्त कथाहरु आजकल यत्रतत्र भेटिन्छन् । कतिले श्रीमान गुमाएका छन् भने कतिले श्रीमती । कतिले श्रीमान र श्रीमतीसँगै धनदौलत पनि गुमाएका छन् ।

अमेरिका पुगेको केही बर्षमै डिभोर्स गरेका नेपाली जोडीहरु कयौं भेटिन्छन् । अस्ट्रेलिया पुगेको श्रीमानले नेपालमा रहेकी श्रीमतीलाई छोडपत्र दिएका छन् । दुबई आइपुगेकी एउटी महिलाले नेपालमा रहेको श्रीमानलाई छोड्ने निर्णय गरिन् । क्यानाडा पुगेका श्रीमानले अर्की महिलासँग उठबस गर्न थालेको खबरले नेपालमा रहेकी श्रीमती तनावमा छिन् । कतारमा काम गर्ने श्रीमानले कमाएको घरजग्गा र लाखौं पैसासहित नेपालमा श्रीमती अर्कैसँग पोइल गइन् ।

नेपालमा सबैले डाह गर्ने जोडीहरु मध्ये कोही एक बिदेश गए पछि छुट्टिएका कथाहरु त तपाईं हाम्रो घर छरछिमेकमा कयौं सुनिन्छन् । केही वर्ष विदेश बसेर केही लाखको सम्पत्ति जोड्दै गर्दा धेरैका घरबार उजाडिएका छन् । नेपाली मिडियाहरुमा यस्ता वियोगान्तधेरै कथाहरु पढ्न पाइन्छन् ।

 
वैैदेशिक रोजगारीले ल्याएको पारिवारिक विखण्डनको हिसाब–किताब रेमिट्यान्सले पूर्ति गर्ने प्रयास यथावत् छ । यिनै र यस्तै कथाले नेपालको एक तिहाइ अर्थतन्त्र धानेको छ । र पनि विदेशको मोह घटेको छैन । बरु बढाएको छ

बैदेशिक रोजगारीले रेमिटेन्स मात्रै भित्र्याएन, बरु पारिवारिक बिखण्डनको बढोत्तरी गराएको छ । यस्ता कथाहरु यति धेरै छन् कि लेखी साध्य छैन । यिनै कथाहरु मध्ये एउटा कथालाई यहाँ लिपिवद्ध गरिएको छ ।

रुपन्देहीकी सरिता (नाम परिवर्तन) ३ बर्षदेखि दुबईमा कार्यरत छिन् । उनी पेशाले नर्स हुन् । बिबाहित सरिता बालख सन्तानलाई नेपालमै छाडेर बदेशिक रोजगारमा यूएई आएकी हुन् । दूध पिलाउँदै गरेको १ वर्षे बच्चा नेपालमा छोडेर दुबई आउनु पर्दा उनका कयौं रातहरु रोएर बिते । झपक्कै नसुती कैयौं रातहरु कटे ।

दुबईको एक अस्पतालमा कार्यरत उनी हाल उदयपुरका एक युवकसँग लिभिङ टुगेदरमा बस्छिन् । दुबई आएको केही महिनामै उनी ती युवकसँग नजिकिएकी थिइन् । दुबई आएको एक बर्षपछि देखि नै उनी ती युवकसँगै बस्न थालिन् ।

सरिताका श्रीमान नेपालमा एक प्राईभेट कम्पनीमा काम गर्छन् । १० लाख खर्च गरेर नर्स पढ्दा १० हजारभन्दा बढीको जागिर नपाएपछि सरिताले बैदेशिक रोजगारीको लागि दुबई जाने निर्णय गरिन् । सरितालाई केही बर्षका लागि दुबई पठाउन उनका पति पनि राजी भए ।

नेपाली नर्सहरुले दुबईमा सामान्यतः २५ सयदेखि ४ हजार दिरामसम्म कमाउँछन् । आईएस्सी पढेर नर्सिङ शिक्षा अध्ययन गरेकी सरिताले पनि सुरुमै ३५ सय दिरामको काम पाइन् । सालमा १२ लाख रुपैयाँ बचत हुने र ३ वर्षमा सालाखाला ३५ लाख बचत हुने हिसाब गरेर श्रीमान पनि खुशी नै थिए ।

श्रीमती दुबई आएको ६ महिनासम्म त राम्रै कमाई भयो । ६ महिनाको अवधिमा सरिताले ५ लाख रुपैयाँ पठाइन् । सरिताले जति पैसा पठाउँथिन्, त्यो पैसा पतिले घरायसी आवश्यकतामा खर्च गरेनन्, एक बर्षसम्म जम्मा गरेपछि थपथाप गरेर काठमाण्डौमा अलिकति जग्गाको टुक्रो जोड्ने योजना बनाए ।

दुबई आएको सातौं महिनादेखि सरिताको ब्यवहारमा केही परिवर्तन आएको पतिले महशुश गरे । स्नातकोत्तरसम्म अध्ययन गरेका सरिताका पतिले सकेसम्म ‘कूल’ भएर सम्झाउथे । भविश्यका कुरा गर्थे । योजनाको कुरा गर्थे । छोराछोरीको कुरा गर्थे । मायाको कुरा गर्थे । तर, पनि सरिता भने रुखो रुखो बन्दै गइन् । बोलीमा मिठास आउन छाड्यो । माया पिरतीको कुरा हुन छोड्यो । छोराछोरीसँग कुरा गरे पनि सरिताले बाबुलाई सोधीखोजी गर्न छोडिन् ।

कुनै न कुनै बाहाना बनाएर सरिता झगडा गरिरहन्थिन् । एक बर्षमा १ महिना वार्षिकमा बिदामा नेपाल जानुपर्ने उनी २ बर्ष १० महिनापछि मात्रै नेपाल फर्किइन् ।

मेघराज सापकोटा

सरिताले नेपाल आउँदै गरेको कुरा पतिलाई भनिनन् । एअरपोर्टबाट उनी सिधै कुपोण्डोलस्थित दिदीको कोठामा गइन् । भोलिपल्ट पतिलाई फोन गरेर ५ बर्षदेखिको वैवाहिक सम्बन्धलाई टुंग्याउन सम्बन्ध विच्छेदको प्रस्ताव सुनाइन् ।

यो प्रस्तावलाई पतिले स्वीकार गर्नुको विकल्प थिएन् । सरिताले छोरो आफूसँग नराख्ने, तर चाहेका बेला भेट्न पाउनुपर्ने अर्को प्रस्ताव राखिन् । पतिको पैत्रिक सम्पतिमा दाबी नगर्ने, तर दुबईबाट आफूले कमाएर पठाएको पैसाको बैंक दर अनुसारको ब्याजसहित फिर्ता गर्नुपर्ने शर्त राखिन् ।

यी सबै शर्तहरु उनका पतिका लागि अपेक्षित थिए । जब सरिताको ब्यवहारमा परिवर्तन आउन सुरु गरेको थियो, उनले आजको दिनको अनुमान उतिबेलै गरिसकेका थिए ।

उनले यसवीचमा सरिताको क्रियाकलापलाई नियाल्ने प्रयास गरेका थिए । दुबईमा रहने नजिकका केही साथीहरुलाई सरिताका बारेमा बुझ्न भनेका थिए ।

सरितासँग लिभिङ टुगेदरमा बसेका उदयपुरका युवक दुबईमा राम्रै कम्पनीमा काम गर्छन् । उनी पेशाले एकाउन्टेन्ट हुन् । कमाई पनि राम्रै हुन्छ । श्रीमती र १० बर्षीय छोरोसहित उनका बाबुआमा काठमाण्डौमै बस्छन् । उनले दुबईमै कमाएर परिवारका लागि काठमाडौंमा ३ तले घर जोडेका छन् । श्रीमती नेपालमा सरकारी जागिरे छिन् । छोरो निजी स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । पढाइमा तेज छन् ।

श्रीमती र छोराको दुबईका लागि फ्यामिली भिसा छ । फ्यामिली भिसा भएकाले ६ महिनाभन्दा बढी लगातार यूएई बाहिर बस्न पाइन्न । बसे भिसा रद्द हुन्छ । त्यसैले प्रत्येक ६ महिनामा काठमाडौंबाट उनीहरु दुबई जान्छन् । एक दुई हप्ता दुबई घुम्छन् । पारिवारिक सम्बन्धमा मिठास र मधुरता छर्छन् । श्रीमान–श्रीमतीको सम्बन्धलाई झन कसिलो बनाउँछन् । ६ महिनादेखिको अतृप्त प्यास पनि यहीबेला मेट्छन् । यस्तो दिन पाउन श्रीमतीलाई १२ बर्षको कुम्भ मेलाभन्दा धेरै कुर्नु परेको महशुस हुन्छ । हरेक पटकको भ्रमणमा अर्को ६ महिना पुग्ने गरीको माया साटेर उनी नेपाल फर्किन्छिन् ।

छोराले ६ महिनापछि बाबुको मुहार देख्छ । दाह्री सुम्सुम्याउँछ । काखमा लुट्पुटिन्छ । काँधमा चढेर बसिदिन्छ । भुल्न नसक्ने बाबुको माया सम्झेर एअरपोर्टमा रुँदैरुँदै नेपाल फर्किन्छ ।

यी उदयपुरे युवकको चाहना आफ्नो घरबार बिगार्ने छैन । उनी श्रीमतीलाई अझै पनि उत्तिकै माया गर्छन् । छोरोलाई उत्तिकै मुटुमा राख्छन् । तर, कसरी नर्स सरिता उनको सम्पर्कमा आईन् ? किन आइन् ? उनी केही भन्न सक्ने अवस्थामा छैनन् । उता सरिताले आफ्नो पतिसँगको सम्बन्ध यिनकै लागि तोडिन् । र, यिनकै लागि आफ्नो मायालु सन्तान पनि पतिलाई जिम्मा लगाइन् । तर, यी उदयपुरे युवालाई सरिताका हरेक प्रस्तावले अठ्याइदिन्छ । सरिताका हरेक सपनाले उनलाई झस्काइदिन्छ । यो जुनीको सबैभन्दा अप्ठेरो अन्तरद्वन्द्वमा उभिएका छन् उनी ।

यो एउटा कथा हो । तर, सत्य कथा । पात्रका नामहरु काल्पनिक हुन् । तर, पात्रका कथाहरु वास्तविक हुन् । आजकल दुबईमा धेरै युवा युवतीहरु भेट्न सकिन्छ । धेरै सरिताहरु देख्न सकिन्छ । दुबईमा यस्ता धेरै कथाहरु लेख्न सकिन्छ ।

नेपालमा पनि आजकल धेरै यस्ता पात्रहरु भेट्न सकिन्छ, जसले जीवनको व्यथा भोगेर बाँचेका छन् । उनीहरुको बर्षौंदेखिको बैबाहिक सम्बन्धलाई भौगोलिक दुरीले दूर गरिदिएको छ । धेरैका जीवनहरु डिप्रेसनको औषधीले धानेको छ । औषधीले नधान्नेहरु आत्महत्याको शिकार बनेका छन् ।

यहाँ कथाहरु रेडीमेड भेटिन्छन् । रोमियो र जुलियटका पात्रहरु यात्रतत्र छरिएका छन् । मायाका भोका श्रीमान–श्रीमतीहरु यौनप्यासमा साटिन्छन् । अन्ततः सपनाहरु गर्ल्याम्म ढल्छन् । एउटा सपना दुबईमा ढल्छ, अर्को सपना नेपालमा ढल्छ । ढलेका सपनाहरुको धुलिमण्डलले यहाँको वातावरण दुषित छ । सपनाहरु डङडङ्ती गन्हाउँछन् ।

बैदेशिक रोजगारीले ल्याएको पारिवारिक बिखण्डनको हिसाब–किताब रेमिटेन्सले पूर्ति गर्ने प्रयास यथावत छ । यिनै र यस्तै कथाले नेपालको एक तिहाई अर्थतन्त्र धानेको छ । रै पनि बिदेशको मोह घटेको छैन । बरु बढेकै छ ।

सम्बन्धित् समाचार