काठमाडौं । बुधबारयता तीन दिनमा तीनवटा महत्वपूर्ण घटना–परिघटना भएका छन् । जसले मुलुकको राजनीतिमा विशेष महत्व राख्नेछन् ।
पछिल्ला विकसित यी घटनाक्रममध्ये सिके राउतको मुलधारणको राजनीतिमा प्रवेशलाई कतिपयले सकारात्मक रुपमा व्याख्या, विश्लेषण र टिप्पणी गरेका छन् भने कतिले शंकाको दृष्टिले हेर्दै आफूअनुकूल टिप्पणी र तर्कहरु गरेका पाइन्छन् ।
तीन दिनमा के–के भए ?
बुधबार– कैलालीको टीकापुर हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कैलाली १ का सांसद रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत जन्म कैदको फैसला सुनायो । न्यायाधीश परशुराम भट्टराइको इजलासले उक्त फैसला सुनाएको हो । जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको हो ।
०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो । कैलाली १ मा उम्मेदवारी दिएर जितेका चौधरीले १४ फागुन ०७४ मा आत्मसमर्पण गरेका थिए ।
बिहीबार–सर्वोच्च अदालतले सिके राउतलाई साधरण तारेखमा रिहा गर्न आदेश दियो ।
चौधरीलाई जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको भोलिपल्ट सर्वोच्चले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
राउतलाई यसअघि राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यस आदेशलाई सर्वोच्चले बदर गर्दै साधारण तारेखमा रिहा गर्न निर्णय गरेको हो ।
शुक्रबार –बुधबार र बिहिबारका यी घटनाक्रमपछि शुक्रबार एक दिनअघिमात्र तारेखमा रिहा भएका सिके राउत र सरकारबीच ११ बुँदे सहमति भयोे । यो सहमतिको घोषणा भएसँगै अलग मधेस राज्यको नारा दिएर गतिविधि गर्दै आएका सिके राउतले विखण्डनको राजनीति छाडेको बताइएको छ । राष्ट्रद्रोहको आरोपमा पक्राउ परी पाँच महिना जेल बसेर बुधबार रिहा भएका राउतले सरकारसँग बिहीबार ११ बुँदे सहमति गरेका हुन् ।
सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले रस्वतन्त्र मधेस गठवन्धनको तर्फबाट राउतले हस्ताक्षर गरेका छन् । सहमतिको पहिलो बुँदामा नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो’ भन्ने उल्लेख छ ।राउत विखण्डनको माग छाडेर शान्तिपूर्ण राजनीतिमा अवतरण भएकोमा सकारात्मक भन्दै कतिपयले ‘सरप्राइज’कै संज्ञा दिएका छन् ।
के भनेप्रधानमन्त्री र राउतले ?
राजनीतिक सहमति घोषणा सार्वजनिक कार्यक्रम नाम दिएको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी आलीले राउत शान्तिपूर्ण राजनीतिमा अवतरण भएको विषयलाई ठूलो उपलव्धि भएको बताए । त्यतिमात्रै होइन उनले राउतलाई टेक्नोक्रयाट्स र थिंकर’ को संज्ञा पनि दिए । अनि अव मुलुकमा हिंसा समाप्त भयो भनेर घोषणा नै गरे । त्यस्तै राउतले पनि ओलीको चर्चा गर्न भ्याए । उनले आफूहरु बुद्धका सन्तान भएको दाबी मात्रै गरेनन् जेल जीवनको प्रशंग निकाल्दै केपी ओलीका सामु जेल जीवनको कुरा गर्नु सूर्यका अगाडि दियो बाल्नु जस्तै भनेर व्याख्या गरे ।
त्यही कार्यक्रममा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई मुलुकमा चन्दा आतंक र हिंसाका गतिविधि त्याग्न चेतावनी दिँदै यदि त्यस्ता गतिविधि नत्यागे सरकार कडा कारवाही गर्न बाध्य हुने बताए । यतिमात्रै होइन ओलीले विप्लवलाई ‘लुटेराको पार्टी’ को संज्ञा समेत दिए ।
यता सिके राउत र सरकारबीच भएको सहमतिको मसि सुक्न नपाउदै राजधानीमै बम विष्फोट भयो । विष्फोट कसले गरायो भन्ने खुलिनसकेपनि सरकारका कारवाही विरुद्ध भन्दै विप्लव नेतृत्वको नेकपाले शुक्रबार नै फागुन ३० गते नेपाल बन्दको घोषणासहितको कार्यक्रम अघि सारेकाे छ ।
उता, राजपाले बुधबारै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेसमा असन्तुष्टि कायमै रहेको संकेत दिएको छ । पछिल्ला यी घटनाक्रमले आगामी दिनमा नेपालको राजनीति सहजै अघि बढ्छ भन्नेमा ढुक्क हुन सक्ने अवस्था देखिदैन ।