गृहपृष्ठ खबर दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चारजना पक्राउ

दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चारजना पक्राउ

प्रकाशित मिति:

केन्द्रीय राजधानीको जिल्ला काठमाडौंमा एक युवतीलाई दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका(१० का श्रीमान श्रीकृष्ण बिडारी, श्रीमती राधिका बिडारी र सोही घरमा कोठा भाँडामा बस्ने श्रीमानश्रीमती जनक ढुंगाना र सन्तोषी ढुंगानालाई बुधबार पक्राउ गरिएको बालाजु प्रहरी वृत्तले जनाएको छ। घरधनी राधिका बिडारी २५ गते प्रहरी कार्यालयमा हाजिरी भएको थिइन भने श्रीमान श्रीकृष्णलाई मंगलबार पक्राउ गरिएको वृत्तका एक प्रहरी अधिकारीले टेलिफोनमा थाहाखबरलाई बताए। श्रीकृष्ण बिडारीको घरबाट आफूलाई दलित भएकै कारण निकालेको भन्दै दीपा नेपालीले जाहेरी दिएकी थिइन्। फागुन १२ गते घरबेटीले घरमा बस्ने सबै कोठा खाली गरिदिन भन्दै सूचना टाँसेका थिए।

बिडारीको घरमा दीपा भाइबहिनीसहित मंसिर १३ गतेदेखि बस्दै आएकी थिइन्। दुईवटा कोठा भाडामा लिएकी दीपाले मासिक आठ हजार रुपैयाँ भाडा तिर्थिन्। आफूहरू दलित भएको थाहा पाएपछि घरबाट निस्कन दबाब दिएको दीपाले जाहेरीमा बताएकी हुन्। कसैले जातकै आधारमा विभेद वा छुवाछुत गरे तीन वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था ऐनमा छ।

सम्बन्धित् समाचार