गृहपृष्ठ खबर लडाकु बनाउन बालिका अपहरण : हतियारसहित विप्लव समूहका १४ जना पक्राउ

लडाकु बनाउन बालिका अपहरण : हतियारसहित विप्लव समूहका १४ जना पक्राउ

प्रकाशित मिति:

लडाकु बनाउन बालिका अपहरण गर्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका १४ जना नेता कार्यकर्तालाई प्रहरीले बिहीबार हतियारसहित उदयपुरबाट पक्राउ गरेको छ। धनुषाको गणेशमानचारनाथ नगरपालिका–५ चिसापानीका लालबहादुर मोक्तानकी १४ वर्षीया छोरी करिनालाई फागुन २८ गते गौरीखोलाबाट अपहरण गरी ल्याउनेक्रममा प्रहरीले उदयपुरको कटारी–१ खसीबासबाट पक्राउ गरेको हो।

आफ्नो समूहमा आवद्ध गराउँदै लडाकु बनाउने उद्देश्यले अपहरण गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। १ नम्बर प्रदेश र २ नम्बर प्रदेश प्रहरीको समन्वयमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मेडइन युएसए लेखेको ९ राउण्ड गोलीसहित पेस्तोल तीन नाल, सकेट वम ११ वटा, प्रेसर कुकर वम एक, डेटोनेटर तार दुई मिटर, खुकुरी दुई थान, मोवाइल दुई, पार्टीका प्रचार तथा बन्दोबस्ती सामग्रीसहित पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए।

पक्राउ परेकामा ६ जना युवती र ८ जना पुरुष छन्। प्रक्राउ पर्नेमा इलाम याकथोकका मुस्कान राई, आयुस मगर, सुनसरीका विवेक खड्का, सर्लाहीकी रिता कार्की, सोलुखुम्बुका विकास राई, ताप्लेजुङकी रन्जना राई रहेका छन्। यस्तै, उदयपुरका अभिनास तामाङ, त्रियुगा नगरपालिकाका आशिस लामा, धनकुटा पाख्रिबासकी अनिता राई, सिन्धुली ईश्वर पुनमगर, कैलालीकी अनुस्का राउत, मोरङकी सपना राई, आशिष श्रेष्ठ र भोजपुरका मनोराम राई रहेको डीआइजी कार्कीले पुष्टि गरे।

पक्राउ पर्ने अधिकांश किशोरकिशोरी छन्। बुधबार अपरहणमा परेकी बालिकालाई खोज्न २ नम्बर प्रदेशका ८२ जना सशस्त्र प्रहरी र ३४ जना नेपाल प्रहरी गरी एक सय १६ जना परिचालन गरिएको थियो। डीआइजी कार्कीले भने, ‘अपहरण गरेको २४ घण्टाभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्रियाशीलताले उद्धार गर्न सफल भयौं।’

उनले घटनापछि रातभर आफूहरू सुत्न नपाइएको बताए। ‘बालिका अपहरणमा परेपछि म र सशस्त्र प्रहरीका डीआइजी राजु अर्याल रातभर सुत्न पाएका छैनौं,’ उनले भने, ‘रातभर प्रहरीले सम्भावित ठाउँमा मोबाइल लोकेसन हेर्दै पच्छ्यायौं।’ अपहरण परेलगत्तै आफन्तले प्रहरी चौकी चिसापानीमा खोजीका लागि जाहेरी दिएका थिए।

सशस्त्र प्रहरी निरीक्षक गणेशदत्त पाण्डेको कमान्डमा १७ जना, सुरक्षा वेश नक्टाझिजको १० जना र इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक तिर्थबहादुर कार्कीको कमाण्डमा ९ जनाको टोली परिचालित भए पनि फेला पार्न सकेन। बिहीबार पूनः ठूलो संख्यामा प्रहरी परिचालन गरेर अपहरित बालिका अपहरणमुक्त गरिएको छ।

उनलाई अपहरण गरेको खास कारण पत्ता नलागे पनि लडाकु बनाउनका लागि अपहरण गरिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी स्रोतकाअनुसार विभिन्न प्रलोभनमा पारेर आफ्नो समूहमा आवद्ध गर्न अपहरण गरेर लिइएको बुझिएको छ।

पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्तालाई घटनास्थलमै राखिएको छ। वमसमेत भएकाले सेनाको डिस्पोजल टोली बोलाइएको र डिस्पोज गरेपछि मुचुल्का तयार पारी सबेलाई धनुषा प्रहरीलाई बुझाइने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। उनले घटना धनुषा जिल्लाबाट भएकाले उतै पठाउने तयारी भइरहेको बताए। पक्राउ परेकाको सबै युवायुवती चन्द समूहका छापामार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

सम्बन्धित् समाचार