कपिलवस्तु जिल्लाको चार वटा क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिने भएको छ । जसमध्ये कपिलवस्तु नगरपालिका वडा नम्बर १ को रत्नराज्य मावि र बुद्धपद्धम माविमा निःशूल्क इन्टरनेट जडानको काम सकिएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) कपिलवस्तु र तौलिहवास्थित मार्स कम्प्युटरले सदरमुकामको तौलिहवाका दुई क्वारेन्टाइनमा आफनै लगानीमा क्वारेन्टाइनमा बस्नेहरुका लागि निःशूल्क ईन्टरनेट जडान गरिदिएको बताएको छ ।
हालसम्म दुई वटा क्वारेन्टाइनमा ईन्टरनेट जडान कार्य सम्पन्न भएको र कपिलवस्तु नगरपालिका २ को महेन्द्र आधारभुत विद्यालय तथा मायादेवी १ को छत्रपाली तिर्थादेवी माविमा पनि नेट जडान गरिने जनाइएको छ ।

जडान गरिएको ईन्टरनेट तीन एमबीपीएस क्षमताको रहेको र क्वारेन्टाइन सञ्चालन अवधीसम्म निःशूल्क ईन्टरनेट सेवा प्रवाह गरिने मार्स कम्प्युटरका सञ्चालक समेत रहेका कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) कपिलवस्तुका अध्यक्ष सन्दीप कुमार श्रीवास्तवले जानकारी दिए ।
उनले भने, “अन्य ईन्टरनेटको पँहुच नरहेका क्वारेन्टाइनमा समेत निःशूल्क ईन्टरनेट सेवा प्रवाह गर्न तत्पर छौं ।”









