कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला कपिलवस्तु जेसिजले सञ्चालन गरेको घरघरमा डाक्टर अभियानको चौथो दिन आज वडा न. ९ का विभिन्न बस्तीमा सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँच गर्ने कार्य भएको छ । आज वाणगंगा नगरपालिका वडा नं.९ गौढी,मतगढई र मौरीया टोलका अति विपन्न बस्तिमा घरघरमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराईएको अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिए । आज करीव १५० घरपरिवारले स्वास्थ्य सेवा लिएको समेत खत्रीले जानकारी दिए ।
कतिपय नीजि र सरकारी अस्पतालका चिकित्सक ज्वरो आएको विरामी भन्दा साथ नजिक नपर्ने गरेको चर्चाका बीच जेसिजले घरघरमा चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँच गर्ने अभियान चलाएको हो ।
जेसीजको युवा टोलीले कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी वाणगंगा उपशाखा,भलवाड उपस्वास्थ्य चौकीको विशेष सहयोग र वाणगंगा वडा न. ९ को समन्वयमा वडा नं ९ मा घरघरमा डाक्टर अभियान मार्फत घरदैलो कार्यक्रम संचालन गरेको हो । आजको अभियानमा कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द र पारामेडिक्स सन्तोष खनाल, बाणगङ्गा नगरपालिका वडा नं. ९ का अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।