गृहपृष्ठ खबर कोरोना आशंका गरिएर उपचार नपाएपछि ज्यान गुमाएका बाबुरामको शव उठ्यो

कोरोना आशंका गरिएर उपचार नपाएपछि ज्यान गुमाएका बाबुरामको शव उठ्यो

पाँचबुँदे सहमतिसँगै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ । कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको १६ गते मृत्यु भएको थियो । तर उनको मृत्यु भइसकेपछि आएको रिपोर्टमा उनलाई संक्रमण नभएको पाइयो ।

 

समयमा उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृतककी श्रीमती रिताले छानविन नभएसम्म शव नबुझ्ने अडान लिइन् ।

त्यही कारण ११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा थियो । बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएको छ । वार्तामा मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाउने सहमति भएको छ, जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ ।

साथै थप आर्थिक सहयोग जुटाइने छ । दाताहरुको सहयोगबाट बुधबार नै साढे ८ लाख रकम संकलन भइसकेको युवा उद्यमी जगत पोखरेलले बताए ।

यसैगरी मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यताअनुसार रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले बताए ।

सहमतिअनुसार लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको थापाको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।

पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भएपनि थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । चैत पहिलो साता मात्र दुबईबाट नेपाल फर्किएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । तर अस्पतालमा उपचारकै क्रममा उनको १६ गते निधन भएको थियो ।

सम्बन्धित् समाचार