कपिलवस्तुको वाणगंगा नगरपालिकाले भोलिदेखि पहिलो चरणको राहत वितरण गर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले लकडाउन घोषणा गरेसंगै गरिव परिवारलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने नगरपालिकाले निर्णय गरेको छ । सोका लागि उपप्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा राहत वितरण समिति गठन गरिएको छ । लकडाउन भएको दुई हप्ता वित्दा सम्म पनि राहत वितरण नगरको भन्दै स्थानियको गुनासो आईरहदा भोलिदेखि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका राहत वितरण गरिव तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई राहत वितरण गर्न लागिएको बताईएको छ । नगरपालिकाले प्रत्येक वडाअध्यक्षलाई आफ्नो वडाभित्रका गरिव, विपन्न परिवार तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण संकलन गर्न आदेश दिएको थियो सोहि विवरण अनुसार राहत वितरण गरिने नगर प्रवक्ता बिष्णु पौडेलले जानकारी दिएका छन् ।
नगरपालिका भित्र पहिलो चरणमा राहत पाउने १ हजार ९ सय ३५ परिवार मध्ये ५ जना भन्दा माथिका ३ सय २६ र ५ जना भन्दा कमका १ हजार ६ सय ९ जना रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रत्येक वडालाई राहत प्रदान गर्ने र वडाले स्थानियलाई राहत प्रदान गरिने राहत वितरण समितिका संयोजक चक्रपाणि अर्यालले बताए ।
त्यस्तै नगरपालिकाले प्रदेश तथा प्रतिनिधि सभा सांसद नगर, जिल्ला, प्रदेश तथा संघीय स्तरका राजनितिक दलका प्रमुखहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । अन्तरकृयामा सम्पुर्णले यो विषम परिस्थितीमा सक्दो सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेको नगरपालिकाले जनाएको छ ।