गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाका चोकचोकमा प्रहरी तैनाथ, बाहिरी आवागमन ठप्प

बाणगंगा नगरपालिकाका चोकचोकमा प्रहरी तैनाथ, बाहिरी आवागमन ठप्प

मुलुकभर कोरोना संक्रमणको जोखिम बढेका घटना बाहिर आएसंगै वाणगंगा नगरपालिकामा जोखिम बढ्न सक्ने भएकाले बिहिबार बाहिरी आवागमन रोक्न चोकचोकमा प्रहरी तैनाथ भएसँगै कडाई गरिएको छ । बुधबार नगरपालिकाले बाहिरी आवागमन ठप्प पार्ने निर्णय लिएपछि आजबाट कुनै पनि नाकाबाट नगरमा प्रवेश गर्नेमाथि कडाई गरेको हो । सो निर्णय लागु भएसंगै विहिबार विहानैबाट नै नगरका सबै भित्री र बाहिरी सडकहरु सुनसान बनेका छन् ।

यसअघि लक डाउन भए पनि सवारीसाधनहरु फाट्टफुट्ट आवतजावत भइरहेका थिए । आजबाट भने प्रहरीले अत्यावश्यक काम बाहेक कोही कसैलाई पनि सडकमा हिँड्न दिएको छैन । नगरको यो निर्णयलाई कार्यान्वयन गर्न जीतपुरको ४ नंम्बर चोक, कोठी नदी, कोइली बनगाई, ओदारी लगायतका ठाउँमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयूष प्रसाद जोशीले जानकारी दिए ।

नियम उलंघन गर्दै आवतजावत गर्नेलाई सोधपुछ गरी प्रहरीले फर्काउने काम पनि गरेको छ । यस्तै नगरका भित्री सडकहरुमा पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक जोशीले यसलाई सामान्य रुपमा नलिन पनि सबैलाई अनुरोध गर्दै नियम उलंघनको छुट कसैलाई नभएको बताए ।
साथै सिमा नाकामा प्रहरीको साथसाथै जनप्रतिनिधि पनि खटिने नगरपालिकाले जनाएको छ । यस्तै नगरले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा समेत कडाई गरेको छ । प्रहरीले विहान र साँझ मानिसहरु बढी बाहिर निस्कने भएकाले अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर ननिस्कन अनुरोध गरेको छ । वाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघले खाद्यान्न, तरकारी, फलफुल, दूध र अन्य अत्यावश्यकीय सामाग्रीका पसललाई पनि विहान मात्र खुल्न दिने र दिउसो साँझ पूर्ण रुपमा बन्द गर्ने निर्णय भएका कारण बजार हिजो अस्तिको तुलनामा आज सुनसान भएको छ । यद्यपी अलपत्र भई पूर्वपश्चिम राजमार्ग हुँदै आएकाहरुलाई भने विशेष ब्यवस्था गरेर गन्तव्यमा जान दिइने बताइएको छ ।

सम्बन्धित् समाचार