कृष्णनगर, कपिलवस्तु चैत्र १२
कोरोना भाइरस संक्रमण फैलिन नदिन र जोखिम कम गर्न मुस्लिम समुदायका अगुवाहरुले रमजानको समयमा गरिने धार्मिक कार्यहरू घरमै बसेर गर्न अपिल गरेका छन् ।
रमजानको पूर्व सन्ध्यामा कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरुले हरेक शुक्रबार पढिने जुमाको नमाज दिनको पाँच पटक नमाज र रमजान महिनामा पढिने तराविह नमाज समेत घरमै पढ्न राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफीले आग्रह गर्दै देश विदेशमा रहेका नेपाली जनताहरुमा मुस्लिम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको शुभकामना समेत दिएका छन् ।
इस्लाम धर्मको १४४१ हिजरी सम्बत को ९औं महिना रमजान महिना रहेको छ। यो महिनामा पूरै एक महिना रोजा राखी अल्लाहको इबादत मा लाग्नु पर्छ। इस्लाम धर्मानुसार सूर्यास्त पछि अर्को दिन लाग्छ त्यसै कारणले आज शुक्रबार दिन सूर्यास्त पछि रमजान महिना लाग्छ रमजान महिनामा तराबिह नमाजको लागि मुस्लिम समुदाय ठूलो संख्यामा आफ्नो आफ्नो ठाउमा रहेका मस्जिदहरु मा एकत्रित भइ तराबिह नमाज अदा गर्दै आएका थिए। तर यो बर्ष विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस को त्रास र नेपाल सरकारले देश भरि लगाएको लाकडाउन को कारणले मस्जिदहरुमा ठूलो संख्यामा जम्मा भएर तराबिह नमाज हुदैन ।
यस पटक नेपाल सरकारले गरेको लकडाउनको पुर्ण रूपमा पालना गर्न अनुरोध गर्दै प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि देश विदेशमा रहनुभएको नेपाली दिदी बहिनी दाजुभाइहरुमा पवित्र रमजान महिनाको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।









