नेपाली सेनाका कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कलंकीको रविभवनमा आज विहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको कलंकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको हो।
कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ। घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे बाँकी अनुसन्धान हुँदैछ। चालक जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।