अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमङ्गल प्रसादलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उनलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।
सूर्यगढी गाउँपालिका ५ नयाँपुलमा रहेको ढुङ्गा खानी सञ्चालन गर्न दिन एक लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । कार्यालय प्रमुख जयमङ्गललाई आवश्यक कारबाहीको लागि काठमाण्डौ लगिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिनुभयो ।
दुई दिनअघि स्थानीयवासीले उद्धार गरी बुझाएको घोरल कार्यालय परिसरबाटै बेपत्ता भएपछि पनि डिभिजन वन कार्यालय विवादमा तानिएको थियो । वैशाख २४ गते पञ्चकन्या गाउँपालिका ५ त्रिवेणीधाम क्षेत्रमा आएको घोरल स्थानीयवासीले समातेर वन कार्यालयमा बुझाएकोमा कार्यालयले भने त्यही राती घोरल खोर भत्काएर भागेको दाबी गरेको थियो ।