बाँकेमा आज थपिएका ४७ जना संक्रमित क्वारेन्टाइनको अभावमा क्वारेन्टाइनमै बस्न बाध्य भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा बाँकेको नरैनापुरका ४७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो। उनीहरु अहिलेसम्म आइसोलेसनमा हुनुपर्थ्यो। तर, संक्रमित रिपोर्ट आएको ५ र ६ घण्टा भइसक्दा पनि क्वारेन्टाइनमै छन्। कारण जिल्लाको एकमात्र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ३० बेड भएको आइसोलेसन खाली छैन। बाँकेमा यसअघि नै ३४ जना संक्रमित छन्।
सोमवार पुष्टि भएका संक्रमित सबै भारतबाट आएका हुन्। भारतबाट प्रवेश गरेर नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका २६३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा १९० जनाको रिपोर्ट आएको थियो। १९० मध्ये ४७ जनामा संक्रमण देखिएको हो। बाँकी ७३ जनाको रिपोर्ट आउन बाँकी छ।
बाँकेको राप्तीपारी नरैनापुर ५ स्थित इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिले संक्रमितहरुलाई क्वारेन्टाइनमै अलग राखिएको छ।
नेपाल राष्ट्रिय कृष्ण प्रावि हुलासपुरवामा १२ जना संक्रमित छन्। यहाँ संक्रमितसहित कुल ७२ जना क्वारेन्टाइनमा छन्। जयकिसान मावि भोजपुरमा १४ जना संक्रमित छन्। यहाँ कुल ६० जना बसेका छन्। दीपेन्द्र प्रावि भगवानपुरमा १७ जना संक्रमित छन् भने कुल ३८ जना क्वारेन्टाइनमा छन्।
आदर्श मावि लक्ष्मणपुरमा जना ४ जना संक्रमित छन् भने कुल ८१ जना क्वारेन्टाइनमा बसिरहेका छन्। इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विकले आइसोलेसन निश्चित नभएकाले संक्रमितहरुलाई क्वारेन्टाइनमै अलग राखिएको बताए। उनका अनुसार लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसनका रुपमा विकास गर्ने निर्णय भएको छ।