विराटनगर : भारतबाट नेपाल फर्किएका झापाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पिसिआर परिक्षणमा झापा कचनकवल गाउँपालिका ६ का ती युवकमा कोरोना पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।
भारतमा रेल खुलेपछि गत जेठ २ गते नेपाल भारत सीमाना आइपुगेका ती युवा सहित ३० जनाको समूहलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालका सुरक्षाकर्मी र जनप्रतिनिधिसँगको आपसी समझदारीमा नेपाल पठाएको थियो ।
नेपाल ल्याएर उनीहरुलाई कचनकवलमा नै बनाइएको क्वारेन्टाइनमा राखी स्वाब संकलन गरी विराटनगर ल्याइएको थियो । ३० जना मध्ये १ जनामा कोरोना पुष्टि भएको रिपोर्ट आएपछि सोमबार साँझनै ती युवकलाई विराटनगर पठाइएको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।