गृहपृष्ठ खबर कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित क्वारेन्टाइनबाट ११ जना भागे

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित क्वारेन्टाइनबाट ११ जना भागे

यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।

१५ दिनको क्वारेन्टाइन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरु भागेको उनले बताए । उनले भने, ‘संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ ।’ खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए। दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष उपाध्यायले बताए।

गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टिनबाट भागेका थिए । उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएको छ ।

त्यस्तै सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेटाइनबाट समेत चार जना भागेका थिए । भागेका सबैलाई पुनः क्वारेटाइनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए। क्वारेन्टाइन सञ्चालन गरिएका कतिपय स्थानमा पङ्खालगायत सुविधा र समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टिनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताए।

सम्बन्धित् समाचार