गृहपृष्ठ खबर क्वारेन्टाइन भद्रगोल भएको भन्दै रुपन्देहीको मर्चवारमा स्थानीयले गरे विरोध प्रदर्शन

क्वारेन्टाइन भद्रगोल भएको भन्दै रुपन्देहीको मर्चवारमा स्थानीयले गरे विरोध प्रदर्शन

गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा लापरवाही भएको भन्दै मर्चवारका स्थानीयले विरोध प्रदर्शन गरेका छन् । रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिकाले वडा नंं. ६ हर्दीस्थित बोगडी माविमा बनाएको क्वारेन्टाइनमा भद्रगोल अवस्था रहेको र मापदण्ड पालना नगरिएको भन्दै शनिबार बिहान स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।

क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने १० जना कर्मचारी क्वारेन्टाइनमै बस्नुपर्नेमा नबसी दिनहुँ घरबाट आउ–जाउ गरेका, क्वारेन्टाइनमा पकाएको खाना लिएर गाउँ जाने गरेका र क्वारेन्टाइनमा बसेकाहरु समेत साँझमा बाहिर निस्केर डुल्ने गरेको स्थानीयको आरोप छ । ७२ जना बसेको क्वारेन्टाइन व्यवस्थित नहुँदा समुदायमा कोरोना संक्रमण फैलिनसक्ने भन्दै हर्दी गाउँका सात वटा टोलका करिब चारसय जनाले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् ।

क्वारेन्टाइन नजिकै करिब एक घण्टा नाराबाजी गरेका उनीहरु गाउँपालिका अध्यक्ष र प्रहरी आएपछि भने तितरबितर भएका थिए । उनीहरुले क्वारेन्टाइनका कर्मचारीलाई घर आउ जाउ गर्न नदिई क्वारेन्टाइनमै छुट्टै व्यवस्था गरेर राख्नुपर्ने, क्वारेन्टाइनबाट बाहिर फोहोर फाल्न रोक्नुपर्ने र क्वारेन्टाइनस्थलमा नियमित प्रहरी र स्वास्थ्यकर्मी खटाउनुपर्ने माग गरेको बताएका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुले खाना खाएको प्लास्टिकको थाल र गिलास बाहिर सडकमा जथाभावी फ्याँक्ने र पशु चौपायाले खाने गर्दा पनि जोखिम बढ्न सक्ने भन्दै बाहिर फोहोर नफाल्न माग गरेको स्थानीय अगुवा निशान्त पाण्डेले बताए ।

‘खाना पकाउने कर्मचारी र क्वारेन्टाइनमा बसेकाले समेत लापरबाही गर्दा कोरोना संक्रमणको त्रास बढेको छ’ पाण्डेले भने, ‘गाउँपालिका र वडाका अध्यक्षलाई भेटेर समस्या जानकारी गराउन पनि नपाएपछि गाउँलेहरु रुष्ट भएर विरोधमा उत्रिनुपरेको हो ।’

गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले आफूविरुद्ध नाराबाजी गरेकाहरुले औपचारिक रुपमा कुनै माग नराखेको बताए । क्वारेन्टाइनका कर्मचारीले सामाजिक दुरी कायम गरेर सुरक्षित तरिकाले काम गरेकाले घर आउजाउ गर्दैमा विरोध गर्न नहुने बताए ।

 

सम्बन्धित् समाचार