गृहपृष्ठ खबर दाङमा आज मात्र पुष्टि भएका १५ जना कोरोना संक्रमित कृष्णनगर नाका हुँदै भारतबाट आएको खुलासा

दाङमा आज मात्र पुष्टि भएका १५ जना कोरोना संक्रमित कृष्णनगर नाका हुँदै भारतबाट आएको खुलासा

प्रकाशित मिति:

दाङमा बुधबार एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीको लमहीमा ८ र सदरमुकाम घोराहीमा ७ जनामा संक्रमण पुष्टि भएको हो । लमहीका ८ जनामध्ये एकजना युवती दार्जिलिङबाट बस चढेर आएकी हुन् । अन्य व्यक्तिहरु भारतको हैदरावाद, उत्तरप्रदेश, राजस्थान, पञ्जाब र दिल्लीबाट आएका हुन् । उनीहरुलाई यही जेठ ९ गते कपिलवस्तुको कृष्णनगर नाका हुँदै एम्बुलेन्समार्फत लमही ल्याइएको थियो ।

दार्जिलिङमा ल्याब टेक्निसियन पढ्न गएकी अर्की युवती भने जेठ १० गते सार्वजनिक बस चढेर आएकी थिइन् । उनी उतैबाट संक्रमित भएर आएको अनुमान छ । उनीहरु सबैलाई लमहीस्थित नेत्रलाल अभागी स्मृति प्रतिष्ठान भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । लमही क्वारेन्टाइनका प्रमुख लोकराज पौडेलले उनीहरुलाई समुदायमा घुलमिल हुन नदिइएको बताए ।

यद्यपि उनीहरुको ट्राभल हिस्ट्री खोज्न थालिएको पौडेलले बताए । वलमही नगरपालिकाले सहिद नेत्रलाल स्मृति प्रतिष्ठानमा बनाएको क्वारेन्टाइनमा ५१ जना छन्। यहाँ बसेकामध्य ८ जनामा कोरोना पुष्टि भएको हो ।

घोराहीका कोरोना संक्रमित पनि दिल्लीबाट कृष्णनगर हुँदै सीधै क्वारेन्टाइनमा राखिएकाहरु हुन् । ३ जना सिद्ध रत्ननाथ मावि नारायणपुरको क्वारेन्टाइनका, थप ३ जना गिठेपानी क्वारेन्टाइनका र १ जना बेलघारी क्वारेन्टाइनका हुन् । उनीहरु पनि समुदायमा सम्पर्कमा नरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

यसअघि दाङका तीन जनामा कोरोना संक्रमण देखिएको थियो । अब दाङ जिल्लामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । संक्रमित व्यक्तिहरुलाई आइसोलेसन वार्डमा राख्न कोरोना विशेष अस्पताल वेल्झुण्डी लैजाने तयारी भइरहेको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना संक्रमितको उपचार गर्न मिल्ने पूर्वाधार तयार पारिएको छ ।

सम्बन्धित् समाचार