मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोना विरुद्धको लडाइँका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गर्नुभएको हो । उहाँले भारतसँगको खुला सिमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकहरुको स्वदेश फिर्ताकाे बढ्दाे क्रमसँगै प्रदेशमा कोरोनाको संक्रमण बढ्ने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गर्नुभएको हो ।
मुख्यमन्त्री राउतले लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकहरुलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरे पनि लकडाउन थपिँदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनौट, मानव विकास सूचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकार बाट ठोस कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
उहाँले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर मेसिन सञ्चालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षित परीक्षण गर्न नसकिएकाे बताउनुभएकाे छ । यसका लागि संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत माग गर्नुभएको छ ।
साथै वैदेशिक रोजगारीमा रहेका प्रदेश- २ का करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि समेत विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गर्नुभएको छ ।