नेपालमा कोरोना संक्रमितको संख्या २ जना हुँदा सुरु गरिएको लकडाउनको ६७ दिन हुँदासम्म संक्रमितको संख्या हजार कटेको छ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउनमा कडाइ हुनुपर्नेमा थप खुकुलो हुँदै गएको छ ।
कपिलवस्तुका मुख्य बजारहरुमा प्रहरीको उपस्तिथि केही मात्रमा रहेपनि सवारी साधनको चेकिङ भने शुन्य नै देखिएको छ । सुरक्षाकर्मी आफैं थाकेजस्ता देखिन्छन् । अहिले कपिलवस्तुका सडकलाई हेर्ने हो भने लकडाउनको अनुभूति नै छैन । सडकमा निजी सवारी साधन र मोटरसाइकल मात्रै होइनन् सरकारी र संस्थानका सवारी साधन पनि बाक्लै गुडिरहेका छन् ।
लकडाउनमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन संघिय सरकारदेखी स्थानीय सरकारले आग्रह गरे पनि सर्वसाधारणहरूको धैर्यताको बाँध टुट्न लागेको अनुभूति भईरहेको छ । लकडाउनको सुरुवाती चरणमा लकडाउन उल्लंघन गरेको भन्दै पक्राउ परेका नागरिकहरू पनि आफूसँग अन्य विकल्प नहुँदा निस्कनै परेको बाध्यता सुनाउँछन् । अन्तः अहिले प्रहरीले चेकजाच समेत गर्न छाडेको छ ।
लकडाउन कार्यान्वयनमा आएको अर्को ठूलो समस्या भनेको सवारी पासको दुरुपयोग पनि हो । जिल्ला संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जेठ २० गतेसम्म थप कडाई गर्ने उद्देश्यले निर्णय गरेता पनि त्यसको कार्यन्वयन भने शुन्य जस्तै देखिएको छ ।
लामो समयसम्म लकडाउन कायम रहँदा र सरकारले भरपर्दो अन्य विकल्पमा ध्यान नदिंदा नागरिकहरू कोरोना भन्दा अर्को ठूलो संकटमा फसेको अनुभव गर्दै छन् । त्यसले एक खाले विद्रोहको सिर्जना हुनसक्ने एकथरीको मत छ । आजभोली सामाजिक सञ्जालमा पनि यस्ता खाले बिचारहरू धेरैले व्यक्त गर्न थालेका छन् ।
सरकारले पहिलो पटक चैत ११ देखि १८ सम्म लकडाउन गरेको थियो । दोस्रो चरणमा चैत २५ सम्म थप गरियो । तेस्रो चरणमा वैशाख ३ गतेसम्म लम्ब्याइएको लकडाउनको अवधि चौथो चरणमा वैशाख १५, पाँचौ चरणमा वैशाख २५ छैटौं चरणमा जेठ ५ र सातौं चरणमा जेठ २० गतेसम्म लकडाउनको अवधि बढाइएको छ ।
एकातिर लकडाउन अनिश्चितकाल बढ्दै जानु, नागरिकसँग सिमित विकल्प रहनु,सरकारले लकडाउनको भरपर्दो विकल्प नखोज्दा कोरोना संक्रमणको त्रास भने बढ्दै गएको छ ।