गृहपृष्ठ खबर लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखिने

लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखिने

सरकारले अब लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा पठाउने तयारी गरेको छ। संक्रमित संख्या २ हजार नाघ्न लागेसँगै सरकारले यस्तो तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचार कसरी गर्ने भनेर कार्यदिशा तय गरेको थियो। सो कार्यदिशामा संक्रमित संख्यालाई चार वटा समूहमा वर्गीकरण गरी कसरी उपचार गर्ने भन्ने उल्लेख छ। जसअनुसार सुरूका २ हजार संक्रमित सबैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने भन्ने उल्लेख छ।

यस्तै, संक्रमित संख्या दुई हजार नाघेपछि लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राखिने भनिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पनि अब लक्षणको आधारमा संक्रमितलाई अस्पताल भर्ना गरिने जानकारी दिए।

‘हामीले यसअघि नै संक्रमित संख्या बढे कसरी उपचार गर्ने भनेर कार्यदिशा बनाएका छौं। त्यही अनुसार संक्रमितको व्यवस्थापन हुन्छ,’ उनले भने।

अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने, ज्वरो आउने, छाती दुख्ने, शरीर थकित महशुस हुने, स्वाद र गन्ध थाहा नपाउने आदि हो। तर नेपालमा केही संक्रमितमा वान्ता गर्ने समस्या पनि देखिएको छ। अब यस्ता लक्षण नभएका र सामान्य अवस्थामा रहेका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने सरकारले तयारी गरेको हो।

संक्रमित संख्या वृद्धि भएसँगै अस्पतालहरूमा आइसोलेसन बेडको अभाव भएको छ। यसअघि पनि वीरगन्जमा आइसोलेसन बेडको अभाव हुँदा एक हप्तासम्म केही संक्रमितलाई विद्यालयको क्वारेन्टिनमै राखिएको थियो। पछि उनीहरूलाई निजी अस्पतालमा आइसोलेसन बनाएर सिफ्ट गरियो।

पछिल्लो साता दैनिक डेढ सयभन्दा बढी संक्रमित संख्या बढेसँगै सरकारलाई संक्रमितहरूको व्यवस्थापन गर्न सकस परेको छ। संक्रमितहरूलाई तत्काल अस्पतालमा भर्ना गर्न सकिएको छैन।

सोमबार मात्र एकैदिन २२६ संक्रमित थपिएसँगै संक्रमित संख्या १८ सय नाघेको छ। यही संख्यामा आज पनि संक्रमित थपिए संक्रमित संख्या २ हजार नाघ्ने छ। त्यसपछि सरकारले संक्रमित संख्या ५ हजार नपुगिन्जेल लक्षण नभएका बिरामीलाई घरमै आइसोलेसनमा राखेर निगरानी गर्ने छ।

संक्रमित संख्या ५ हजार नाघेमा सामान्य लक्षण देखिएकालाई समेत घरमै आइसोलेसनमा राख्ने सरकारको कार्ययोजना छ।

सम्बन्धित् समाचार