काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । कांग्रेस सांसद अमरेशकुमार सिंहले केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताए ।
संशोधन विधेयक दर्ताका लागि सिंहलगायतका सांसदहरु संघीय संसद् सचिवालयमा पुगेका छन् । संशोधन विधेयकबारे सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं । केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’
यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।
सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न संविधान संशोधन विधेयक संसद्मा पेस भइसकेको छ ।