काठमाडौँ : गत मङ्गलवार लगातार लकडाउनले व्यवसाय चौपट भएको भएको भन्दै जोरपाटीका व्यापारीहरूले साङ्केतिक विरोध गरे। उनीहरूले बिहानै बजारमा पुगेर आफ्ना व्यापार व्यवसायका सटर उघारे। सडकमा खटिएका सुरक्षाकर्मी पुगेर सटर बन्द गर्न लगाए। उनीहरू प्रहरीसँग विवाद गर्न चाहँदैन थिए। किनकि प्रहरीले सरकारको निर्णयको कार्यान्वयन गराएको थियो।
त्यसपछि ‘जोरपाटी विरोधको मोडालिटी’ चारैतिर फैलियो। चितवनदेखि वीरगन्जसम्म सबै जना विरोधमा उत्रिए। त्यही दिन व्यवसायीलाई जेठ २५ गतेसम्म कर बुझाउन भनेपछि व्यापारी आक्रोशित देखिए। अहिले अघोषित बन्दको विरोध भइरहेको छ।
काठमाडौँ उपत्यकाभित्रका गल्लीका सडक पसलहरू खुलेका छन्। मुख्य सडकमा पनि तरकारी, फलफूलदेखि किराना पसल सञ्चालन भइरहेका छन्। बिहान र बेलुकाको समयमा पसल बढी खुलेका छन्। जोरपाटी क्षेत्रमा आज लकडाउनको ७३ औँ दिन फलफूल पसल, किराना स्टोर, कपडा पसल देखि हार्डवेयरसम्म खुलेको भेटिन्छ।
त्यस्तै चाबहिल क्षेत्रमा पनि करिब २० प्रतिशत पसलहरू खुलेको देखिन्छ। कपडादेखि किराना स्टोरसम्म खुलेका छन्। त्यस्तै कालोपुल, सिफल लगायतका स्थानमा पसल खुलेका छन्। नक्साल, नागपोखरीमा पनि पसल खुलेका छन्। व्यापारिक केन्द्र दरबारमार्गमा भने सुनसान छन्। गहना, लत्ताकपडा, रेष्टुरेष्ट लगायत व्यापार भएकाले पनि दरबारमार्गमा पसल खुलेका छैनन्।