गृहपृष्ठ खबर हिजो दिनभरका मूख्य समाचार -कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ , सरकारले थप्यो कर बुझाउने म्याद

हिजो दिनभरका मूख्य समाचार -कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ , सरकारले थप्यो कर बुझाउने म्याद

प्रकाशित मिति:

सरकारले पछिल्लाे पटक लकडाउन ३२ जेठसम्म कायम गरेकाे र काेराेनाका संक्रमितकाे संख्या २ हजार ३ सय पुगिसकेकाे अवस्थामा अब पनि परीक्षणकाे दायरा फराकिलाे बनाउनुपर्ने सुझाव विज्ञहरुले दिएका हुन् ।

‘अहिले पनि भारतबाट आउनेहरु बढिरहेका छन् । याे अवस्थामा परीक्षणकाे दायरा बढाउन सुझाव दिएका छाैँ,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. कार्कीले भने, ‘अब लकडाउनकाे माेडालिटी फेर्न विधिहरु तय गर्नुपर्छ ।’ त्यसका लागि सरकारले विज्ञहरुसँग घनिभुत छलफल गरेर रणनीति तय गर्नुपर्ने उनकाे भनाइ छ ।

छलफलमा सहभागी डा. समीरमणि दीक्षितले प्रधानमन्त्री ओलीकाे अभिव्यक्तिमाथि टिप्पणी गरेका थिए ।  प्रम ओलीले यसअघिकाे एक सम्बाेधनमा भनेकाे ‘बोसीय र फ्याटीय तत्व’ भनेकाे के हाे भनेर डा. दीक्षितले प्रश्न गरेका थिए ।

प्रम ओलीले केही साताअघि प्रदेशका मुख्यमन्त्रीहरूको छलफलमा काेराेना भाइरस निर्जीव रहेकाे र याे निर्जीव तत्वमा बोसीय, बोसोजस्तो फ्याटीय तत्व हुने गरेकाे  बताएका थिए । त्यही तत्वले भाइरसलाई एउटा जीवित तत्वका रुपमा सक्रिय गराइदिने भनेर दिएकाे अभिव्यक्तिकाे कडा आलाेचना भएकाे थियाे ।

डा. दीक्षितले प्रधानमन्त्रीकाे याे अभिव्यक्तिले आममानिसमा भ्रम फैलाएकाे भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन्  ।

‘प्रधानमन्त्रीबाट यसरी भ्रममा पार्ने अभिव्यक्ति आउनु ठीक हाेइन भनेर छलफलमा भनेकाे छु,’ डा. दीक्षितले भने, ‘उहाँले बोल्नुभएको कुराले धेरैलाई प्रभाव पर्छ, त्यसकारण प्राविधिक विषयमा धारणा राख्दा सम्बन्धित विज्ञको सल्लाह लिनु उचित हुन्छ ।’

डा. दीक्षितले लोकान्तरसँग भने – ‘बोसीय होइन, प्रोटिन हुन्छ । प्रोटिनको लेयर हुन्छ । प्रधानमन्त्रीले मनन गर्नुभयो होला ।’

छलफलमा सहभागी विज्ञहरुले क्वारेन्टाइन व्यवस्थानमा जाेड दिन, परीक्षण बढाउन तथा लकडाउनकाे पालनामा जाेड दिन प्रमलाई सुझाव दिएका थिए ।

नेपालमा काेराेनाका कारण ९ जनाकाे ज्यान गइसकेकाे अवस्थामा प्रम ओलीले विज्ञहरुसँग पहिलाे पटक संयुक्त छलफल गरेका हुन् । प्रमले विज्ञहरुसँग फेरि पनि छलफल गर्ने बताएका छन् ।

छलफलमा प्रम ओलीले चाँडै नै विज्ञ समूह गठन गरिने र विज्ञ समूहकाे सुझावका आधारमा माेडालिटी तय गरिने बताएका थिए । छलफलमा उपप्रधानमन्त्री ईश्वर पाेखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको सहभागिता थियाे ।

सो छलफलमा डा भगवान कोइराला, पूर्वराजदूत महेश मास्के, प्राडा पिताम्बर शर्मा,अर्थविद् स्वर्णिम वाग्ले, डाक्टरहरु अरुणा उप्रेती, लाेचन कार्की, समीरमणि दीक्षित लगायत विज्ञहरुकाे पनि  सहभागिता थियाे ।

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २३ सय नाघेसँगै सरकारले स्वास्थ्य संकटकाल घोषणाको तयारी थालेकाे छ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेकाे हाे। स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन २०२० अन्तर्गत स्वास्थ्य संकटकाल लागू गर्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेकाे मन्त्रालय स्राेतले जनाएकाे छ।

संक्रामक रोग फैलिने देखिएमा सरकारले राेग रोकथामका लागि जनता वा कुनै व्यक्तिको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था याे ऐनमा छ।

स्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका काेराेनाका संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ।

लकडाउनकाे आगामी रणनीति तय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुलाई बालुवाटार बाेलाएका थिए।

कोभिड- १९ बाट काठमाडौंको शिक्षण अस्पतालमा एकको मृत्यु,मृतकको संख्या ९ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत रहँदा कोभिड संक्रमण पुष्टि भएपछि उनलाई शिक्षण अस्पतालको आइसोलेसनमा सारिएको थियो ।

शिक्षण अस्पतालको आईसीयूमा उपचाररत रहँदा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

लक्षण नभएका कोरोना संक्रमितलाई घरमै राख्ने निर्णय, के–के छन् मापदण्ड ?

लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका जारी गरेको छ ।

कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका जारी गर्दै सरकारले तोकिएको मापदण्ड पालना गरेर घरमै उपचार गर्न सकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिकामा अस्पतालमा भर्ना गर्नुपर्ने बिरामी र घरमै राख्नुपर्ने बिरामीका सम्बन्धमा मार्गनिर्देश गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्न सकिने विकल्प दिएको हो । लक्षण देखिएर बिरामी भएका संक्रमितलाई भने अस्पतालमा भर्ना गरेर उपचार गरिने छ ।

थप २०१ जनामा कोभिड- १९ संक्रमण,कुल संख्या २३ सय पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।

नयाँ थपिएका संक्रमितमध्ये १७९ पुरुष र २२ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कुन जिल्लामा कति थपिए ?

कपिलवस्तुका ६९

रुपन्देहीका २७

सर्लाही १५

रौतहट ११

महोत्तरीका ९

सुनसरीका ८

नवलपरासी ८

पर्साका ७

कालीकोटका ७

दैलेखका ६

दाङका ५

काठमाडौंका ३

ताप्लेजुङका ३

कैलालीका ३

सल्यानका ३

झापाका २

मोरङका २

डोटीका २

पाल्पाका २

प्युठानका २

धनकुटाका १

सप्तरीका १

धनुषा १

पाँचथरका १

दैलेखका १

तेह्रथुमका १

सिन्धुपाल्चोकका १

कुल संक्रमितमध्ये २ सय ७८ जना निको भएर डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए ।

पछिल्लोपटक देशभरमा गरी १२ जना डिस्चार्ज भएका छन् ।

चौतर्फी दबाबपछि सरकारले थप्यो कर बुझाउने म्याद

चौतर्फी विरोध र दबाबपछि सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्मका लागि थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधवार एक सूचना जारी गर्दै कर दाखिलागर्ने म्याद थप गरिएको जनाएको हो ।

‘विश्वव्यापी रूपमा फैलिएको कोभिड- १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरूले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिलागर्ने म्याद २०७७ जेठ २५ र जेठ मसान्तसम्म थप गरिएकोमा उक्त अवधि पुन: देहायबमोजिम थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिलागर्नुहुन सम्बन्धि सबैको  जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

देहायमा अधिकांश कर दाखिलाको म्याद असार ७ तोकिएको छ । यद्यपि आयकर ऐन २०५८ बमोजिम २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद भने २०७७ साल असार १५ सम्म थपिएको छ ।

सम्बन्धित् समाचार