गृहपृष्ठ खबर नवलपरासीमा सीमामा खटिएका सशस्त्र प्रहरी र स्थानीयवासी बीच झडप, प्रहरी सहित १२ जना घाइते

नवलपरासीमा सीमामा खटिएका सशस्त्र प्रहरी र स्थानीयवासी बीच झडप, प्रहरी सहित १२ जना घाइते

प्रकाशित मिति:

नवलपरासीको दक्षिणी सीमामा खटिएका सशस्त्र प्रहरी र स्थानीय बीच आर्इतवार झडप भएको छ । झडपमा दुबैतर्फका गरि १२ जना घाइते भएका छन् । प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन ४ राउण्ड हवाइ फायर गरेको छ ।

भारतबाट मल लिएर आउदै गरेकी एक महिलालाइ सशस्त्र प्रहरीले सीमामा रोकेपछि कुटपिट गरेको भन्दै आक्रोसित बनेका स्थानीयवासीले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । सयौंको संख्यामा सीमामा पुगेका स्थानीयवासीको प्रहारले सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन् । गाउं गाउंबाट आएका स्थानीयवासीले गुलेली प्रहार गरेको सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाले बताए । उनले भने, भारतबाट मल ल्याउन नदिएपछि प्रहरीलाइ कुटिएको र चौकी समेत भत्काइएको हो ।

जिल्लाको प्रतापपुर गाउंपालिकाको वडा नं। ५ बसहियाको दक्षिणी सीमामा भएको यस घटनामा प्रहरीको आंखा र टाउकोमा चोट लागेको बताइएको छ । घाइते प्रहरीहरूलाइ उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएको बसहिया प्रहरी चौकीका इन्चार्ज प्रसनी ओम देव भट्टले बताएका छन् ।

यता सीमातर्फ गएका एक स्थानीय महिलालाइ भारतबाट मल ल्याएको भन्दै सशस्त्र प्रहरीले कुटपिट गरि मरणासन्न बनाएपछि सहयोगका लागि आफुहरू पुगेका बेला स्थानीयवासी समेतलाइ सशस्त्रले कुटपिट गरेको स्थानीयवासीले बताए । प्रहरीको कुटाइबाट ६ जना स्थानीय वासीन्दा घाइते भएका छन् । घाइते हुनेमा लक्ष्मण राजभर, विन्दा, अनुप, रमेश, राआसरे कुर्मी लगायतका रहेका वडाध्यक्ष त्रिभुवन सिंहले बताए । घाइतेको स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

सम्बन्धित् समाचार