लकडाउनको समयमा किस्ता तिर्न नसक्दा कम्पनीले गाडी नियन्त्रणमा लिएको दुई दिनपछि एक युवकले मनोहरा खोलामा हाम फालेका छन्। सिप्रदी ट्रेडिङ कम्पनीले लकडाउनको अवधिको किस्ता नतिरेको भन्दै गाडी नियन्त्रण लिएपछि तनावमा रहेका युवकले सोमबार मनोहरा खोलामा हामफालेका हुन्।
रामेछापको मन्थली–३ घर भएका ३४ वर्षीय सानुबहादुर कार्कीको शव मंगलबार बिहान सवा १० बजे भेटिएको छ। उनले दुई वर्ष अगाडि सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी गाडी खरिद गरेका थिए।
सामान्य मर्मतका लागि रामेछापबाट गाडी ल्याएर शुक्रबार नैकापस्थित कम्पनीको ग्यारेजमा गाडी राखेको र आइतबार गाडी बनेपछि कम्पनीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतको दाबी छ। लकडाउनमा गाडी चलाउन नमिलेपछि मर्मतका लागि कम्पनीमा लगेको अवस्थामा बा ५ ख २८४४ नम्बरको उनको गाडी कम्पनीले राखेको हो।
‘दुःख गरेर किनेको गाडी थोरै किस्ता बाँकी हुँदा कम्पनीले नियन्त्रणमा लिएको भन्दै उहाँ दुःखी हुनुहुन्थ्यो’, उनका गाउँले प्रदिप रोकाले भने, ‘कम्पनीले गाडी लगेपछि उहाँ मानसिक रुपमा विक्षिप्त हुनुहुन्थ्यो।’
रोकाका अनुसार कम्पनीले लकडाउन अगाडिको तीन र लकडाउन अवधिको चार गरेर एकैपटक सात किस्ता तिर्न दबाब दिएको थियो। उनले तत्काल ५० हजारको चेक दिने र विस्तारै किस्ता हाल्ने बताउँदा बताउँदै कम्पनीले गाडी नियन्त्रणमा लिएपछि उनी तनावमा भएको प्रदिपले सुनाए।