हिजो बारा तथा सर्लाहीका केही स्थानमा देखिएको सलह कीरा प्रदेश नम्बर ५ का विभिन्न जिल्लाहरूमा समेत देखिएको थियो l
रुपन्देहीको बुटवल लगायत स्थानहरूमा ठुलै संख्यामा देखिएको सलह किरा अहिले कपिलवस्तुको बाणगंगा नगरपालिका ,शिवराज नगरपालिका साथै दक्षिण मायादेवी गाउँपालिका लगायत क्षेत्रको आकाशमा सलह उडिरहेको छ ।
हिजो प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ , प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश
सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।
‘सलह किराले पुर्याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’
सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ ।
३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।
मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्यो भने रोपाई नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’ भूमि व्यवस्थामन्त्री आरती पौडेलले भनिन्, ‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसान दाजुभाइले सावधानी अपनाउनुपर्ने हुन्छ ।’
सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।
यसअघि एक समितिले पूर्वी वायुका कारण नेपालमा अहिले सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिएको थियो । तर केही दिनदेखि पश्चिम वायु शुरु भएको कारणले यो कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान रहेको नार्कका वरिष्ठ वैज्ञानिक डा.सुनिल आर्यालले बताए ।
‘पश्चिमी वायुका कारण यो छिरेको हो, तर भारतमा जुन प्रकृतिका कीरा देखिएको थियो, त्यो किरा यतिबेला नेपाल आउनु नपर्ने हो’, वैज्ञानिक आर्यालले भने, ‘भारतको अहमदावादमा देखिएको कीरा फर्किसकेको सूचना पाएका थियौं, तर यो कसरी नेपाल आयो त्यसको बारेमा अध्ययन भइरहेको छ।
समितिले पनि वर्षात शुरु भएको र पूर्वी वायु पनि शुरु भएको कारणले नेपाल छिर्ने सम्भावना एकदम न्युन रहेको अनुमान गरिएको थियो ।
यो बसन्त ऋतुमा देखिने किरा हो तर अहिले गर्मीमा पनि नेपालमा देखियो । केही पहिले भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै उनले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने बताए ।
नेपालमा देखिएसँगै नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफल गरेका छन् । नेपालमा देखिएको सलह कीराको फोटो हेरेर पाकिस्तान र भारतका वैज्ञानिकले पनि यो सलह कीरा नै रहेको भनेका छन् तर यसको ल्याब परीक्षण नभएसम्म शतप्रतिसत सुनिश्चित गर्न नसकिने वैज्ञानिक आर्यालले बताए ।
नेपाल आएका सलह कीराले तरकारी र मकै बालीलाई नष्ट गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन जरुरी देखिएको छ ।