गृहपृष्ठ खबर बुटवलमा देखियो सलहको झुण्ड

बुटवलमा देखियो सलहको झुण्ड

प्रकाशित मिति:

तराईबाट नेपाल प्रवेश गरेको सलह किरा शनिबार नै भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेको छ ।

शनिबार दिउँसो रुपन्देहीको बुटवलमा देखियो । संघीय सरकारको कृषि मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यकाअनुसार बुटवलका स्थानीय बजार, त्यहाँका रुख विरुवा र बालीनाली तथा आकाशमा सलहको झुण्ड देखिएको छ ।

बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए । त्यस क्षेत्रमा दिउँसैबाट कृषि प्राविधिक खटिए । रुपन्देहीमा देखिएका सलह किरा पाल्पा र गुल्मीतर्फ लागेका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै मध्याह्नपछि मकवानपुरको तीन वटा गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । बकैया, मकवानपुरगढी, वागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सलह देखिएको, तर क्षतिको जानकारी आइनसकेको बकैया गाउँपालिकाका कृषि प्रमुख शिवराज पौडेलले जानकारी दिए ।

बकैया(१ धियालका कृषक बिरबहादुर स्याङतानले बारी र आकाशमा धेरै संख्यामा सलह देखिएको जानकारी गाउँपालिकालाई दिएका थिए । बकैयाको १, २, ४ र ५ नम्बर वडामा किरा देखिएको छ । बकैयाका केही वडामा देखिएका सलह बागमती गाउँपालिकातर्फ गएको स्थानीयले जानकारी दिएका छन् । मकवानपुरगढी गाउँपालिकाको पालुङटार र सुकौरामा पनि सलह देखिएको छ । त्यहाँका स्थानीयले सलह भगाउन सुख्खा माटोले छर्किने र आगो बालेर धुँवाउने काम गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।

सिन्धुलीको कमलामाई नगरपालिकाको भिमान माइस्थान, करकरे, मुडेखर्क, खुर्सानी डाँडा, चियाबारी, सिमबारी, लामिस्वारा क्षेत्रमा सलहको झुण्ड देखिएका छन् । धानको ब्याडदेखि मकैको बोट र जंगलका रुख विरुवामा सलह भेटिएका छन् ।

सम्बन्धित् समाचार