गृहपृष्ठ खबर एउटा गीत १२ भाषामा तयार पारेर उपाध्यायले गिनिज बुकमा लेखाए नाम

एउटा गीत १२ भाषामा तयार पारेर उपाध्यायले गिनिज बुकमा लेखाए नाम

काठमाडौं : डा. डीआर उपाध्यायले गीत लेखेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् । यसअघि विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले यसपटक ‘मायाको सागरमा’ एल्बमको एउटा गीत १२ भाषामा तयार पारेर गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो र नेपालको नाम लेखाएका हुन् ।

सामाजिक दूरी कायम गर्दै शनिबार राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गीतकार उपाध्यायलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा मन्त्री यादवले लक्ष्मी र सरस्वती दुवैको वरदान पाएका गीतकार उपाध्यायले गीत लेखेरै विश्वको चर्चित गीत अफ रेकर्डसहित १५ वटा विश्वकीर्तिमान कायम गरेको बताए । यस्तो रेकर्डले विश्वमा नेपालको नाम फैलनुका साथै नेपालीको गौरव बढाएको उनले बताए ।

गीतिसंग्रह ‘मायाको सागर’मा यो गीत संगृहीत छ । गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतलाई सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डा. डीआर उपाध्याय स्वयंले गाएका हुन् । मायाको सागर गीतलाई नेपाली, हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको हो ।

कार्यक्रममा उपाध्यायले आफूले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्दै आएको बताए । उनले कला सशक्त माध्यम भएको बताउँदै अरूभन्दा केही फरक गीत लेखेर गिनिज अफ वर्ल्ड रेकर्डसहित १५ विश्वकीर्तिमान कायम गरेर नेपाललाई विश्वमा चिनाउने काम गरेको बताए ।

सम्बन्धित् समाचार