विकास पत्रकारिता तालिम कपिलवस्तुको वाणगंगामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वय र वाणगंगा नगरपालिकाको आयोजना रहेको तालिम शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । असार २४ गतेदेखि सुरु भएको ३ दिने विकास पत्रकारिता तालिमले सामाजिक, राजनैतिक, आर्थिक विकासका सवालमा वकालत गरी सम्बन्धित निकायमा अभिप्रेरणा दिन महत्वपूर्ण भूमिका खेल्ने हुँदा पत्रकारहरुले यस्ता विषयवस्तुमाथि कलम चलाउँदै विकास पत्रकारिताको मार्गदर्शन गर्न आवश्यकता ठानी पालिकाले यस्तो तालिम प्रदान गरेको हो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले पत्रकारहरुले ३ दिनसम्म सिकेका हुरालाई व्यहारमा उतार्न आग्रह गर्नुभयो । पत्रकारिताका माध्यमबाट पत्रकारहरुले आफ्नो ठाउँ विकास निर्माण गर्न मद्दत पुग्ने हुनाले नगरले आयोजना गरेको बताउनुभयो ।
तालिममा वाणगंगा नगरपालिका भित्रका १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । ३ दिनसम्म आयोजना भएको तालिममा धेरै कुरा सिक्न पाएको र अझै सिक्ने कुराहरु बाँकी रहेकोले समय कम रहेको सहभागीहरुले बताएका थिए । ३ दिनसम्म तालिममा सहभागि भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता रहेको कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता र पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।