गृहपृष्ठ खबर दार्चुलामा खाद्यान्न अभाव : चामल प्रतिकेजी रू २५०

दार्चुलामा खाद्यान्न अभाव : चामल प्रतिकेजी रू २५०

प्रकाशित मिति:

२९ असार, दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो ।

विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन् । अहिले गाउँमा पुरानै खाद्यान्न खाँदैछन् । गाउँमा चामल अभाव हुन थालेपछि यहाँ चामल प्रतिकिलो २५० रुपैयाँ सम्ममा खरिद बिक्री हुन थालेको छ ।

चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छाङ्गरुमा २५० रुपैयाँ प्रतिकिलो खरिद बिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आएका व्यापारी देवसिंह खातीले जानकारी दिए ।

“नेपालकै भूमि भएर कुञ्चा (बसाइँसराइ) सर्दा बाटोघाटो थिएन । अहिले यही क्षेत्रका पसलबाट खाद्यान्न खरिद गर्दा महँगो मूल्य पर्दैछ । चामल किन्न पाइँदैन । केही पसलमा मात्रै चामल पाइए पनि महँगो मूल्य हालेर खानुपर्ने बाध्यता छ”, खातीले सुनाए ।

उनका अनुसार अहिले छाङ्गरु र तिङ्करमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयवासीले गाउँमा पाइने पुरानो अन्नबाली खान थालेका छन् । अहिले यहाँका स्थानीयवासीले फापर, कोदोजस्ता पुराना अन्न अहिले आएर प्रयोग गर्दै आएका छन् ।

सरकारले सुरक्षाकर्मीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरे पनि व्यासीका लागि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीले समस्या खेप्नुपरेको छ । विगतमा ८० देखि ९० रुपैयाँ प्रतिकिलो पाइने चामलको मूल्य अहिले दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ । “घरमा पुरानो अन्न फापर उवा, नप्पल हुनेले त्यही प्रयोग गर्छन्”, स्थानीय गीता बोहराले भनिन् ।

पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था पुगिसकेको छ । समयमै चामल ढुवानी हुन नसके दुवै गाउँ र पशुपालक कृषक भोकमरीमा पर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् ।

सम्बन्धित् समाचार