६ साउन, काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।
सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेण्टहरु खोल्न दिने भएको छ । मन्त्रीपरिषदको बैठकले तोकिएको मापदण्ड पालना गर्ने गरि होटल तथा रेष्टुरेण्टहरु खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि गत चैत ११ देखि लकडाउन घोषणा गरि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।
त्यसैगरि मन्त्रीपरिषदले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन भदौ १ देखि सार्वजनिक, निजी, यात्रुवाहक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको छ । उनका अनुसार ट्रेकिङ्ग, ट्राभल कम्पनीहरु पनि भदौ १ देखि खोल्ने निर्णय भएको छ ।
विद्यार्थी भर्ना र परिक्षा सञ्चालन भदौ १ देखि गर्न दिने निर्णय भएको डा. खतिवडाको भनाई छ ।