गृहपृष्ठ खबर सरकारले खरिद गर्‍यो ७ वटा ‘आरएनए’ छुट्याउने मेसिन, परीक्षण दर दोब्बर हुने

सरकारले खरिद गर्‍यो ७ वटा ‘आरएनए’ छुट्याउने मेसिन, परीक्षण दर दोब्बर हुने

प्रकाशित मिति:

सरकारले ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) मेसिन खरिद गरेको छ।योसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउने भएका छन्।स्वास्थ्य सेवा विभागका व्यवस्थापन शाखा प्रमुख रमेशप्रसाद खरेलले ७ वटा मेसिन आइपुगेको जानकारी दिए।उनले अब मेसिनको गुणस्तर जाँच गरेर यथाशिघ्र तोकिएका प्रयोगशालाहरूमा पठाइने बताए।

सात वटा मेसिन प्रत्येक प्रदेशमा एक/एक वटा पठाइने भएको छ। जसमा धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, धुलिखेल, वीरगन्ज र विराटनगरलाई वितरण गरिने छ।अब यो मेसिनबाट उक्त प्रयोगशालाहरूले आफ्नो परीक्षण संख्या दोब्बर पुर्‍याउन सक्छन्।यो मेसिनले स्वाबमा भएको ‘आरएनए’ लाई छोटो समयमै आफैं छुट्याउने गर्छ।

अहिलेसम्म प्रयोगशालाहरूमा यो काम प्राविधिकहरूले हातले नै गरिरहेका छन्। जसले गर्दा बढी समय लाग्ने र परीक्षण पनि कम भइरहेको छ।यो मेसिन अहिले देशभर रहेका प्रयोगशालाहरूमध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ।

त्यसैले प्रयोगशालाले दैनिक १ हजार बढी स्वाबको परीक्षण गर्दै आएको छ। यो मेसिन नभएका अन्य प्रयोगशालाहरूले अहिले दैनिक २ सय ५० जनाको परीक्षण गर्दै आएका छन्।अब मेसिन सुचारू भएपछि प्रयोगशालाहरूले त्यो संख्यालाई ५ सय पुर्‍याउन सक्छन्। यस्तै, परीक्षणको लागि चाहिने ‘आरएनए’ किट पनि ३ लाख थान आइपुगेको विभागले जनाएको छ।त्यसैले, तत्काल परीक्षण किटको अभाव नहुने बताइएको छ।आवश्यक अनुसार थप किट खरिद गरिने विभागले जनाएको छ।

सम्बन्धित् समाचार