कपिलवस्तु : सदरमुकाम तौलिहवा क्षेत्रमा पर्ने जिल्ला समन्वय समिति, बालमन्दिर, सरकारी वकिल कार्यालयसँगैको प्रतीक्षालय, तौलेश्वर माविको भवन, रत्नराज्य लक्ष्मी माविको पर्खाल, डिभिजन सिँचाइ कार्यालयको भवनलगायतका सरकारी कार्यालयहरू डोजर लगाएर भत्काइएको छ। व्यक्तिगत घरटहरा पनि घरधनीले आफैं भत्काउन सुरु गरेका छन्। तराई मधेसको महत्वपूर्ण हुलाकी राजमार्गअन्तर्गत सदरमुकाम तौलिहवा क्षेत्रमा सडकको दाँयाबायाँ १५/१५ मिटरभित्र पर्ने घरटहरा भत्काउने काम सुरु गरिएको छ।
नगरपालिका क्षेत्रमा सडक विस्तार कार्यमा मुआब्जाको माग गर्दै केही व्यक्तिहरूले उच्च अदालत बुटवलमा रिट निवदेन दर्ता गराएका छन्। सो रिट निवेदनका आधारमा उच्च अदालत बुटवलबाट १२ गतेसम्मका लागि स्थानीय कालीपद शर्मा, सुरेश शर्मा, पशुपति शर्मा, नन्दलाल शर्मालगायतको घरटहरा नभत्काउन अल्पकालीन ‘स्टेअर्डर’ जारी गरेको छ। अदालतले साउन १२ गते छलफलका लागि बोलाएको छ। सो स्टे अर्डरका आधारमा तीबाहेक अन्यको घरटहरा भत्काइँदै छ।
कपिलवस्तु नगरपालिकाका प्रमुख करण सिंहले अतिक्रमित संरचना भत्काउनुको विकल्प नभएको बताए। ६ लेनको निर्माण हुने सो सडक खण्डको निर्माणका लागि शर्मा एन्ड शर्मा कम्पनीको नाममा ठेक्का सम्झौता भएको छ।
सडकभित्र पर्ने घरटहरा भत्काउन यसअघि कपिलवस्तु नगरपालिकाले दिएको समय सीमाभित्र नभत्काइएका डोजरको प्रयोग गरी भत्काउन सुरु गरिएको हो। नगरपालिका क्षेत्रको विद्युत् कार्यालय नजिकको कल्भर्टदेखि मोडल विद्यालय नजिकको कल्भर्टसम्मको २ हजार ३ सय ४० मिटर सडक किनारमा २ सय ७३ घरटहरा भत्काउनुपर्ने हुलाकी सडक आयोजना कार्यालय गोरुसिंगेले जनाएको छ।