काठमाडौं। सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा भोलि सुनुवाइ हुने भएको छ। जिल्ला र उच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका कोइराला सर्वोच्चको फैसलापछि साउन ८ गते रिहा भएपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गरेको थियो।मुद्दाको सुनुवाइका लागि भोलि लागि पेसी तोकिएको छ।
डीआईजी रहँदा कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला ललितपुर पुनरावेदन अदालतले पनि सदर गरेको थियो। तर सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि चौतर्फी विरोध हुँदा महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।
पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुनेछ।
पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ।
संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।
- पत्नीको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला ललितपुर पुनरावेदन अदालतले पनि सदर गरेको थियो
- सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि चौतर्फी विरोध हुँदा महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो
- पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ