रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत विजय राना घुससहित पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस वापत २ लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिनुभएको छ ।
रानाले व्यापारीसँग महिना महिनामा पैसा लिने गरेको भन्ने सूचना पाएपछि अख्तियार टोलीले केही दिनदेखि उनलाई निगरानी गरिरहेको थियो । उनलाई अनुसन्धान गर्ने क्रममा बिहान साढे १० बजे अख्तियार टोलीले पक्राउ गरेको हो ।