प्युठानको झिम्रुक गाउँपालिकाले भनेको समयमा सुचना उपलब्ध नगराएको भन्दै एक स्थानिय युवाले सुचना अधिकारिलाई कारबाहीको माग गरेका छन। झिम्रुक गाउँपालिका वार्ड नं ७ निवासी कल्याण बिक्रम केसिले ०७७ श्रावण ६ गते गाउँपालिकाका सुचना अधिकारि निमप्रसाद भण्डारीलाई सम्बोधन गरि सुचना माग गरेका थिए। तर निवेदन पेश गरेको २० औं दिन बितिसक्दा पनि गाउँपालिकाले कुनै पनि सुचना उपलब्ध नगराएपछि आफुले सुचना अधिकारीलाई कारबाहीको माग गरेको केसिको भनाई छ।
नेपालको संबिधान २०७२ को धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र दफा ७ को उपदफा १ बमोजिम केसिले सुचनाको माग गर्दै ७ बुदे निवेदन पेश गरेका थिए।
निवेदनमा जनप्रतिनिधि निर्वाचित भए पश्चात् हाल सम्म लिएको पारिश्रमिक तथा भत्ताको विवरण, कोरोना भाइरस रोकथामको लागि गरिएको खर्चको विवरण, गाउँपालिकामा विभिन्न सामाग्रीहरु खरिद प्रकिया र बिल भरपाई विवरण, आर्थिक बर्ष २०७६/७७ मा बोलपत्र आव्हान गरिएको सुचनाको विवरण, फमहरुको कोटेसन विवरण र भुक्तानी रकमको प्रमाणित प्रतिलिपी, जिल्ला तथा राष्ट्रिय मिडियामा प्रसारण गरिएको सुचना, बिज्ञापन तथा कार्यक्रमको खर्च बिबरण माग गरेका थिए।
राजनीति भनेको सामाजिक सेवा भएको भन्दै गाउँपालिकाले गर्दै आएको सम्पुर्ण कामकाजहरुको चुस्त-दुरुस्त हिसाब जनता सामु पेश नभएकोले आफुले यो निवेदन दिएको बताउनु भयो। यसरी निवेदन पेश गर्दा पनि गाउँपालिका सूचना अधिकारीले बेवास्ता गरेको भन्दै कारबाहीको माग गरेका हुन। सुचना पाउनु सबै नागरिकको अधिकार भएको भन्दै यसरी सुचना लुकाउन खोज्नु गलत भएको उहाँको भनाई छ।
उता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमल भुषालले आफुहरुले सुचना लुकाउन नखोजेको बताउनु भयो। “सुचना पाउनु सबै नागरिकको अधिकार हो, हामी सुचना दिन्छौं तर केही समयभने लाग्छ।” उहाँले भन्नुभयो। कोरोना भाइरसका कारण सबै कर्मचारीहरु एकै ठाउँमा नभएको र आफू सङ्गै सुचना अधिकारिपनी बिदामा रहेका कारण सुचना प्रबाहमा ढिलाई भएको भुषालको भनाई छ।
सुचना अधिकारी निमप्रसाद भण्डारिले मागेजती सबै सुचना फोटोकपी गर्नुपर्ने र सबै वार्डमा सम्पन्न भएका आयोजनाका उपभोक्ता एवं वार्ड कार्यलयहरुबाट पनि बिल भरपाई कलेक्सन गर्नु पर्ने, गाउँपालिकाका विभिन्न फाँटमा कार्यरत कर्मचारीहरुबाट सम्बन्धित बिल भरपाई कलेक्सन गर्नु पर्ने भएकोले सुचना उपलब्ध गराउनको लागि केही समय लाग्ने बताउनुभयो।
कोरोना भाइरसका कारण सुचनाहरु उपलब्ध गराउन केही समय ढिलाई भएपनी निबेदनमा उल्लेखित सबै सुचनाहरु उपलब्ध गराउन आफू तयार रहेको भण्डारिले बताउनुभयो।