गृहपृष्ठ खबर सांसदहरुलाई अब सुनको जलपसहितको नयाँ लोगो

सांसदहरुलाई अब सुनको जलपसहितको नयाँ लोगो

प्रकाशित मिति:

काठमाडौं । संघीय संसदका पदाधिकारीले मुलुकको नयाँ नक्शा अंकित लोगो पाएका छन् । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्शा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरुलाई आइतबार हस्तान्तरण गरिएको छ

संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका माननीय उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गर्नुभएको हो । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाउनुभएको छ ।

गएको जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्शा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३ दशमलव ५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिनुभएको छ । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्शा अंकित लोगो आजैदेखि उपलब्ध गराइने गौतमले बताउनुभयो ।

सम्बन्धित् समाचार