प्रदेश ५ मा साउन २३ गतेको तथ्यांकअनुसार कुल संक्रमितको संख्या ४ हजार ४ सय ९९ थियो। प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार शनिबारसम्म कुल संक्रमितको संख्या ५ हजार ४ सय ९८ रहेको छ।
१५ दिनको अन्तरमा मात्र प्रदेश ५ मा संक्रमितको संख्या झण्डै हजारले बढेको देखिएको छ। कुल संक्रमित मध्ये अहिले १ हजार १ सय १५ जना आइसोलेसनमा छन्। ४ हजार ३ सय ६२ जना उपचारपछि घर फर्केका छन्। पछिल्लो १५ दिनमा सक्रिय संक्रमित मात्र तेब्बर भन्दा बढी पुगेका छन्। गत साउन २३ गते प्रदेशमा सक्रिय संक्रमित ३ सय ३३ जना मात्र थिए।
अहिले बढेर १ हजार १ सय १२ पुगेका छन्। १५ दिनकै बीचमा थप १० जनाको मृत्यु भएर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या प्रदेश ५ मा २३ पुगेको छ। आइतबार मात्रै रुपन्देहीका २ जनाको मृत्यु भएको छ। भेन्टिलेटरमा रहेका उनीहरुको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ। सुरुवाती समयमा भारतबाट फर्केर आएका नेपालीमा मात्र संक्रमण देखिएको थियो। कोरोना संक्रमित भएका उनीहरु धेरैजना निको भएर घर फर्किसके।
तर, लकडाउन खुलेलगत्तै भएको चहलपहल र लापरबाहीले समुदायमा संक्रमण फैलियो। अहिले देखिएका अधिकांश संक्रमित समुदायकै हुन्, जो विदेशबाट आएका थिएनन्। उनीहरुमा नेपालमै असुरक्षित आनीबानी र व्यवहारका कारण संक्रमण फैलिएको हो।
समुदायमा कोरोना संक्रमण भएरनभएको बारे थाहा पाउन नमूना परीक्षण गर्दा कोरोना भाइरस देखियो। उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गर्र्दै जाँदा संक्रिय संक्रमितहरु बढेका हुन्। पछिल्लो समय लक्षण देखिएका संक्रमित पनि बढेका छन्। कतिपयलाई आइसियुमै भर्ना गर्नुपरेको छ।
बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालमा १६ बेडको आइसियु कक्ष भरिएको छ। तर थप बिरामी आएमा के गर्ने भन्नेमा अन्योल छ। अघिल्लो दिन शनिवार एक जना आइसियु चाहिने बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमै होल्ड गरेर राखिएको थियो।
कोरोना अस्पतालको आइसियुबाट एक जना बिरामी डिस्चार्ज भएपछि मात्र ल्याइएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले बताए। ‘अब बिरामी आए भने अन्त रिफर गर्नुपर्ने हुन्छ’–उनले भने । प्रदेशमा अहिलेसम्म ४ वटा कोरोना अस्पताल रहेका छन्। भैरहवाको भीम अस्पताल, दाङ बेल्झुण्डीको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पतालमा पाँच–पाँच वटा आइसियु छन्।
ती अस्पतालका आइसियु भने अझै खाली छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले आइसियु थप गर्ने तयारी भइरहेको बताए।
‘अब थपिएका बिरामीको लागि भीम अस्पतालमा व्यवस्थापन गर्छौं, प्रदेशका सबै जिल्ला अस्प्तालमा कम्तीमा दुइ वटाका दरले आइसियु थप हुन्छ’–उनले भने ‘थप्नको लागि जनशक्ति, औजारको व्यवस्थाको प्रस्ताव गरेका छौं, त्यो स्वीकृत भयो भने थप हुन्छ।’
सामान्य लक्षण देखिएका बिरामीहरु अस्पतालको आइसोलेसनमा रहेका छन्। लक्षण नदेखिएका संक्रमितहरु सामुदायिक तथा होम आइसोलेसनमा रहेका छन्।
रुपन्देहीमा १ सय ६५, कपिलवस्तुमा १ सय ६ जना, पाल्पामा २ जना होम आइसोलेसनमा रहेका छन्। यी ३ जिल्ला र अन्य जिल्लाका बाँकी संक्रमितहरु अस्पताल तथा सामुदायिक आइसोलेसनमा रहका छन्।